व्यवसायिक बाख्रापालनमा रमाउँदै महिला

Image
-फाइल तस्विर रञ्जिता अधिकारी देउखुरी – दाङको लमही नगरपालिका–९ हर्दवाकी कृष्णीकुमारी बुढा पाँच वर्षअघि लमही बजारमा बस्थिन् । कमाइ केही थिएन, श्रीमान् पदमबहादुर विसी कमाइको लागि मलेसियाम थिए  । त्यही मेलोमा उनले सिलाइकटाइ तालिम लिइन् र कपडा सिलाउन थालिन् तर त्यसबाट भनेजति कमाइ हुन सकेन । विकल्प खोज्न उनी हर्दवामा रहेको माइती घरमा गइन् र त्यहीँ बाख्रापालन थालिन्  । त्यतिबेला चार बाख्राबाट सुरु गरेको व्यवसाय बढ्दै गएपछि भने उनी त्यसमै रमाउन थालेकी छिन् । अहिले उनको फार्ममा ८० बाख्रा छन् । गत वर्षको दशैंमा उनले दुई लाख रुपैयाँका खसीबोका बिक्री गरिन्  । ऋहिले बाख्राबाटै सालाखाला वार्षिक चार लाख रुपैयाँ भन्दा बढी कमाइ हुने गरेको छ । यही कमाइबाटै उनले ६ कट्ठा जग्गा किनिसकेकी छिन् । “सुरुमा माइतीले दिएको एक कट्ठामा बाख्रा पाल्न सुरु गरेकी थिएँ, अहिले कमाएर जग्गा थपेँ”, कृष्णीकुमारीले भनिन्, “बाख्राबाट राम्रो कमाइ हुन थालेपछि श्रीमान् पनि यही फर्कनुभएको छ, दुवैजना मिलेर बाख्रापालन गरेका छौँ  ।” अर्काको भूमिमा पसिना बगाउनुको साटो आफ्नै गाउँ घरमै प्रशस्त कमाइ भएपछि श्रीमान् श्रीमती मिलेर काम गरेको उनले बताइन् । लमही–९ रिहारकी हुमा वलीले २०७२ सालबाट व्यावसायिक रुपमा बाख्रा पालन गरेकी छिन् । रिहारस्थित कर्मठ महिला सामाजिक उद्यमी सहकारी संस्था लिमिटेडले दिएका तीन बाख्राबाट व्यवसाय सुरु गरेकामा अहिले उनीसँग ५० बाख्रा छन् । उनका श्रीमान् मानसिंह वली वैदेशिक रोजगारीका लागि साउदी गएका थिए । गाउँमा बाख्रा पालनबाट राम्रो आम्दानी हुन थालेपछि हुमाले श्रीमान्लाई घरमै बाख्रा पालन गरौँला भनेर बोलाइन् । अहिले उनीहरुसँग १५ खसी, १३ माउ र साना पाठापाठी २३ छन् । गत दसैँमा दुई लाख ९१ हजार रुपैयाँका खसी बिक्री भएका थिए । यसपाली पनि १२ खसी दसँैमा बिक्री गर्ने भनेर पालेको उनले बताइन् । घरमा पालेका खसी बढीमा ४० किलोसम्मका बिक्री गर्न उनी सफल भएकी छिन् । गत वर्षका उनका ३० खसी रोगै पत्ता नलागेर मरे तर पनि हरेस नखाएर काममा लागेको उनको भनाइ छ । अहिले बाख्रा पालनमा पाँच जनाको परिवारै खटेको छ । “सबैले मिलेर घरको काम गर्ने गरेका छौँ”, उनले भनिन्, “घरको छेउमा सुपरनेपियर, किमु, जिगट र मकैचरी घाँस रोपेका छौं, बाख्रालाई खुवाउन सजिलो भएको छ ।” बाख्रामा खासै लगानी गरिएको छैन तर आम्दानी भने नसोँचेको भएको उनको भनाइ छ । उनका अनुसार सहकारीको सहयोगमा व्यावसायिक हुन पाइएको छ । लमही–९ हर्दवाकी गङ्गा घर्र्तीले पनि व्यावसायिक रुपमा बाख्रा पालेकी छिन् । अरु समयमा पनि बाख्रा बिक्री हुन्छ, तर गत वर्षको दसैँमा मात्रै खसीबोका बेचेरै उनले तीन लाख रुपैयाँ कमाएकी थिइन् । अहिले उनीसँग ५५ बाख्रा छन् । उनी वर्षमा चार लाख ५० हजार रुपैयाँ भन्दा बढी आम्दानी गर्ने गरेको बताउँछिन् । “अहिले त जुनी नै फेरिएजस्तो भएको छ, पहिले भैँसी पालेर खान मात्र ठिक्क हुन्थ्यो”, उनले भनिन्, “अहिले कमाइ छ, अरुलाई सापट दिनसक्ने भएकी छु ।” नौ वर्षअघि ग्रामीण महिला उत्थान केन्द्रबाट उपहार पाएका दुई बाख्राबाट उनले व्यवसाय सुरु गरेकी थिइन् । उनी भन्छिन्, “अझै बढाउने योजना छ ।” महिला सहकारीबाट बिना धितो ऋण, बाख्रा उपहार र तालिम, डालेघाँसको बीउ, प्राविधिक सेवा दिन थालेपछि हौसला बढेको घर्तीले बताइन् । राम्रो आम्दानी भएपछि महिलाहरू बाख्रापालन व्यवसायमा आकर्षित भइरहेको लमही–९ रिहारस्थित कर्मठ महिला सामाजिक उद्यमी सहकारी संस्था लिमिटेडका अध्यक्ष देवीमाया थापाले बताउँछिन्  । “सहकारीबाट व्यवसाय गर्न चाहने महिलालाई ऋण दिने, तालिम दिने, सरकारी अनुदानमा सहयोग गर्नेजस्ता काम गर्दै आएका छौँ”, उनले भनिन्, “धेरै महिलाको बैंकमा धितो राख्ने दर्ता जग्गा छैन, त्यस्तो बेला सहकारी नै जमानी बसेर बैंकबाट महिलालाई ऋण निकालिदिएका छौँ ।” सहकारीका एक हजार २ सय सदस्यमध्ये ५० बढीले बाख्रापालन गर्दै आएको उनको भनाई छ  । सहकारी संस्थाले संस्थामा आवद्ध सदस्यलाई तीन देखि चार बाख्रा दिएर सहयोग गर्ने गरेको अध्यक्ष थापाले बताए । आफूले उत्पादन गरेको बस्तु बिक्री गर्न सजिलो होस् भनेर सहकारीले खसीबोका खरिद गर्ने गरेको छ । गत दसैँमा सहकारीले जिउँदो २० देखि २६ किलोसम्मको खसीको प्रतिकिलो चार सय २० रुपैयाँ निर्धारण गरिएको थियो । त्यस्तै सहकारीले गत दसैँमा २७ देखि ३५ किलोसम्मका खसीलाई प्रतिकिलो चार सय ९० रुपैयाँ र ३५ किलोभन्दा माथिका जिउँदो खसीलाई प्रतिकिलो पाँच सय रुपैयाँ मूल्य निर्धारण गरेर किसानसँग खरिद गरेको थियो । त्यस्तै बोका २५ किलोभन्दा कम तौल भएकालाई प्रतिकिलो जिउँदो चार सय ३० रुपैयाँ र सोभन्दा माथिकालाई प्रतिकिलो चार सय ५० रुपैयाँ मूल्य निर्धारण गरेर खरिद गरेको अध्यक्ष थापाले बताए । संस्थाको सहयोगमा महिला बाख्रापालनमा लमही–९ रिहारमा रहेको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडमा एक हजार तीन सय ३५ सदस्य रहेका छन् । यो संस्था २०७० सालमा स्थापना भएको हो । यसको कार्यक्षेत्र लमही–८ र ९ राजपुर गाउँपालिकाको ६ र ७ नम्बर वडामा रहेको छ । संस्थाले बचत तथा ऋण कारोबार, रासायनिक मल खरिद बिक्री, खसीबोका तथा माउ बाख्रा सङ्कलन गरी बिक्री, बाख्राको दानाको बजारीकरण, पशु बीमा गर्नेलगायत काम गर्ने गरेको सहकारीका व्यवस्थापक हरिनारायण चौधरीले जानकारी दिए । सहकारी संस्थामा आवद्ध २३ महिलाले फर्म नै दर्ता गरेर व्यवसायिक रुपमा बाख्रा पाल्दै आएकाछन् । सहकारीले संस्थामा आबद्ध सदस्यलाई तीनदेखि चार माउ बाख्रा वितरण गरेर सहयोग गर्ने गरेको छ । समूहमा आवद्ध महिलाले पालेका खसीबोका सहकारीले खरिद गरेर बिक्री गर्ने गरेको छ । यसरी खरिद गरिएका खसीबाख्रा तुलसीपुर, बुटवल, काठमाडाँैका खसी व्यापारीले खरिद गर्ने गरेको उनको भनाइ छ । दसैँमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई प्रत्यक वर्ष खसीबाख्रा बिक्री गर्ने गरिएको छ । सहकारीले आर्थिक वर्ष २०७८÷७९मा दुई हजार ५० खसीबोका बिक्री गरेको हो ।
Tags: