फोहोर व्यवस्थापनमा गगनको अपिल, ‘सम्झौता कार्यान्वयनमा कहाँ कमजोरी भए खोजौं, तर अवरोध नगर्नुस्’

Image
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध नगर्न अपिल गरेकाछन् । बुधबार सार्वजनिक विज्ञप्ति जारी गर्दै महामन्त्री थापाले काठमाडौँ फोहोरले अस्तव्यस्त भएको र यही अवस्था अझ केही दिन रहेमा महामारी फैलन सक्ने सम्भावना रहेको भन्दै चिन्ता व्यक्त गरेकाछन् । उनले भनेकाछन्, ‘सिसडोल र बन्चरेडांडा ल्याण्डफिल्ड साइटमा अवरोध गरिरहनु भएकाहरूलाई काठमाडौँको सांसद र एउटा नागरिकको रूपमा विनीत भएर अपिल गर्न चाहन्छु– कृपया अवरोध नगरिदिनुहोस् आउनुहोस् सबै बसौँ, संवाद र समीक्षा गरौँ, समाधान निकालौँ।’ उनले प्रभावित क्षेत्रका बासिन्दाको मनमा यस अघि भएको सम्झौता कार्यान्वयन कहिले हुन्छ ? भन्ने आक्रोस र प्रश्न रहने भन्दै भनेकाछन्, ‘केही सम्झौता कामनपाले गरेको छ, महानगर प्रमुख लागिरहनुभएको छ, सिङ्गो टिम लागेको छ। सबैले साथ दिऊँ, केही समय लाग्ला तर यो पटक पहिलाको गल्ती दोहोरिन्न भनेर मेयर लागिपर्नु भएको छ, त्यसैले यस पटक कामनपाले आफ्नो प्रतिबद्धता पूरा गर्नेछ।विश्वास गरौँ।’ कतिपय विषय महानगरपालिकाको एकल क्षेत्राधिकार भन्दा बाहिरका विषय भएको र सङ्घीय सरकारको क्षेत्राधिकार भित्र रहेको विषयमा सहरी विकास मन्त्रालयले सम्झौता गरेको उनले उल्लेख गरेकाछन् । ‘ यो सम्झौता पुरा गर्ने जिम्मा सरकारको हो र सरकारलाई दबाब दिने जिम्मेवारी हाम्रो हो। प्रधानमन्त्रीलाई भेटेर भनेका छौँ, साथै सहरी विकास मन्त्री उपत्यका बाहिर रहनुभएकाले उहाँ आउनासाथ एक छिन नछोडी काम गर्छौँ। केही समय लाग्ला तर सङ्घीय सरकारले तपाईँहरूसँग गरेको सम्झौता पुरा गराएर छाड्नेछौँ, प्रतिबद्धता पूरा गर्नेछौँ, गराउनेछौँ।हामी यस पटक तपाईँलाई निराश बनाउने छैनौँ। ’ उनले भनेकाछन् । नेपाली कांग्रेस पार्टीको तर्फबाट स्थानीय तहको नेतृत्वलाई कोही पनि साथी अवरोधमा संलग्न नहुन निर्देशन दिएको भन्दै उनले अवरोध नगर्न अपिल गरेकाछन् । ‘पार्टीको जिम्मेवार पदाधिकारीको नाताले पार्टीको कुनै पनि तहको कोही पनि साथी अवरोधमा संलग्न नहुनुहोस्, समाधानका लागि सक्रिय हुनुहोस्। अन्य राजनीतिक दलका स्थानीय नेता र कार्यकर्तालाई पनि आग्रह छ–’अवरोध होइन यो विषयमा हल खोज्न मद्दत गर्नुहोस्।’ उनले थपेकाछन्, ‘सम्झौता कार्यान्वयनमा कहाँ कहाँ समस्या भए, कहाँ कमजोरी भए समीक्षा गरौँ, सँगै मिलेर कार्यान्वयनका लागि दबाब दिऔँ, सबैले सहयोग गरौँ, समाधान निकालौँ।’
Tags: