तरकारी खेतीमा मख्ख डडुवाका किसान

Image
म्याग्दी– एक दशकसम्म बहराइनमा काम गर्दा खासै कमाई गर्न नसकेपछि फर्किएका बेनी नगरपालिका–५ डडुवाका ५२ वर्षीय मोहन भण्डारी अहिले व्यावसायिक तरकारी खेतीमा व्यस्त छन्। उनी तरकारी खेती गरेर वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्न सफल भएकाछन्। भण्डारीले तरकारीसँगै फलफूल खेती समेत गरेकाछन्। गोडमेल, मलजल र फलफूल रेखदेखनै उनको दैनिकी बनेको छ । भण्डारी मात्रै होइन डडुवाका भरत भण्डारी, अर्जुन भण्डारी, डेकबहादुर पाइजा, भीमबहादुर पाइजा, वीरबहादुर भण्डारीलगायत व्यक्ति गाउँमै व्यावसायिक तरकारी खेती र पशुपालनमा लागि परेकाछन्। उजाड र उराठलाग्दो डडुवा हराभरा भएको छ । तरकारी खेती र पशुपालन गरेर उनीहरुले विदेशमा भन्दा बढी कमाई गर्दै आएकाछन्। विदेशमा रहँदा तरकारी र पशुपालनको क्षेत्रमा गरेको कामको अनुभवलाई लिएर स्वदेश फर्किएपछि भण्डारीले आफूले जानेको सीपलाई कृषि पेसामा लगाएका हुन् । भण्डारीले दुई आधुनिक टनेल, तीन सामान्य टनेल र दुई हाइटेक प्रविधिको टनेलभित्र गोलभेँडा खेती गरेकाछन्। वार्षिक सरदर रु एक लाख ५० हजारको लगानी गरी उहाँले टनेलमा गोलभेँडा, सिमला खुर्सानी, बारीमा काँक्रो, भन्टा, खुर्सानी, साग लगायतका तरकारी लगाएकाछन् । “गोलभेँडा बिक्रीबाट बर्सेनी रु चार लाख आम्दानी हुन्छ”, उनले भने । बन्दा, काउली, खुर्सानी, भन्टालगायत बिक्री गरी मासिक रु एक लाखभन्दा बढी आम्दानी हुने गरेको भण्डारी बताउँछन् । अहिले डडुवाका प्रायःले तरकारी खेती सुरु गरेका छन् । गाउँमा तरकारी र पशुपालनको लहर नै चलेको छ । उनीहरु आर्थिक रुपमा सबल बन्दै गएका स्थानीय शिक्षक प्रेम नेपालीले बताए। “डडुवामा अहिले जताततै टनेल छन्, टनेलभित्र तरकारी खेती फष्टाएको छ”, उनले भने । सिँचाइ गर्न स्थानीयले गाउँमा नै पक्की ट्याङ्कीसमेत निर्माण गरेका छन् । बर्खाको पानी जम्मा गर्नका लागि बनाइएका ती ट्याङ्कीको पानी हिउँदमा समेत सिँचाइ गर्न प्रयोग गर्ने गरिएको कृषक पदम भण्डारीले बताए। अर्का कृषक भीम पाइजा खुर्सानी बेचेर वार्षिक रु डेढ लाख आम्दानी गर्दै आएकाछन्। यस्तै डेकबहादुर पाइजाले तरकारी खेतीका साथै बङ्गुरपालनसमेत गरेकाछन् । आम्दानी बचतसमेत गर्ने गरेको कृषक भण्डारी बताउँछन् । “तरकारी, फलफूल र पशुपालन गर्नसके पैसा कमाउन विदेश जानु पर्दैन”, उनले भने । तरकारी र फलफूल बिक्री गर्न बजारको समस्या छैन । गाउँमा सडकको पहुँच छ । सङ्घ, प्रदेश र स्थानीय सरकारले कृषक लक्षित विभिन्न नीति तथा कार्यक्रम ल्याएको छ । तर त्यसबाट कृषक लाभान्वित हुन सकेका छैनन् । रासस
Tags: