एक्स्पोबाट उठेको रकम सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार्न खर्चन्छौं : अध्यक्ष अर्याल

Image
रोटरी क्लब अफ नक्साल शक्तिले भदौ २ र ३ मा ‘तीज एक्स्पो–२०७९’ आयोजना गर्दैछ । मानसरोवर पार्टी प्यालेस पुरानो बानेश्वरमा हुने एक्स्पोको उद्घाटन रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का गभर्नर जितेन्द्र बहादुर राजभण्डारीले गर्दैछन् । स्थापनाको छोटो समयमै धेरै सामाजिक काम गरेको क्लबले यो एक्स्पो मार्फत नेपाली उद्यमीलाई एक्स्पोमा सहभागी बनाएर नेपाली घरेलु उत्पादनलाई प्रवर्धन गर्ने र यसबाट जम्मा भएको फण्ड मार्फत सामुदायिक विद्यालयका आधारभुत तहमा अध्यापन गर्ने गराउने शिक्षकलाई सिटिइभिटी मार्फत तालिम उपलब्ध गराउने लक्ष्य लिएको क्लबका अध्यक्ष डा.लुना शर्मा अर्याल बताउँछिन् । हामीले अध्यक्ष अर्यालसँग एक्स्पोको तयारी, उद्धेश्य तथा भावी लक्ष्यका सन्दर्भ भित्र रहेर कुराकानी गरेका छौं । यो तीज प्रदर्शनी आयोजना गर्नुको कारण के हो ? नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको सन्दर्भ पारेर तीजको आफ्नै सास्कृतिक महत्व पनि छ, त्यसको संरक्षण पनि होस् र प्रदर्शनी मार्फत केही सिर्जनशिल काम पनि हुन सकोस् भनेर हामीले तीन प्रदर्शनीको आयोजना गरेका हौं । यसमा हामीले घरेलु उद्यमको प्रदर्शनीलाई प्राथमिकता दिएका छौं । प्रदर्शनीका कस्ता कस्ता खालका उत्पादनको प्रदर्शनी हुन्छ र कस्ता उद्यमीको सहभागिता रहन्छ ? प्रर्दशनीले विशेष गरि घरेलु र नेपाली उत्पादन र तिनका उत्पादकको उपस्थिति स्टलमा रहोस् भन्ने अपेक्षा गरेका छौं र त्यसै अनुरुप तयारी पनि गरेका छौं । यसले नेपाली उत्पादनको प्रवर्धन, विकास, विस्तार गर्ने र नेपाली उपभोक्ताको माझमा नेपाली उत्पादनलाई चिनाउनको लागि सहयोग पुगोस् भनेर नै प्रदर्शनीको आयोजना गरिएको छ । प्रदर्शनीमा आम दर्शक र उद्यमी कसरी जोडिने ? हरितालिका तीजको सन्दर्भ हुनाले हाम्रो पहिलो प्राथमिकतामा महिला दिदी बहिनीको उपस्थिति होस् भन्ने हाम्रो चाहाना हो । अर्कोतिर यो कार्यक्रम सामाजिक सेवामा सक्रिय रोटरी क्लव अफ नक्साल शक्तिले आयोजना गरिएकोले रोटरीमा जोडिनुभएका रोटरीयनहरुको उपस्थिति महत्वपूर्ण रहन्छ, यो हौसला र ऐक्यवद्धताको लागि पनि आवश्यक रहन्छ तर उद्यमीको प्रदर्शनी र त्यसमा पनि त्यसबाट बजार प्रर्वधनमा सहयोग पुगोस् भन्ने लक्ष्य राखिएकोले यसमा चासो राख्ने र नेपाली उत्पादनलाई माया गर्ने सबैको उपस्थिति होस् भन्ने पनि हो । प्रदर्शनीमा उद्यमीको लागि केही शुल्क निर्धारण गरेका छौं , जुन उहाँहरुले स्टल प्रयोग गरे वापत उपलब्ध गराउनुुहुन्छ भने अन्य दर्शकको लागि निशुल्क प्रवेशको व्यवस्था गरेका छौं । आम दर्शकले निशुल्क प्रदर्शनी स्थलमा आयोजना गरिएको साँगीतिक कार्यक्रमबाट मनोरञ्जन लिनसक्नुहुन्छ र स्टल मार्फत विभिन्न उत्पादनको बारेमा जानकारी लिन सक्नुहुन्छ । घरेलु उत्पादनको प्रवर्धनको प्रयासमा अन्य निकायको सक्रियता देखिन्छ, यो प्रदर्शनीमा समन्वय र सहकार्यको अवस्था कस्तो छ ? यसमा आयोजक हामी भएपनि यससँग जोडिएका विभिन्न उद्यमी तथा व्यवसायीसँग हाम्रो समन्वय अनिवार्य नै रहन्छ किनकी उहाँहरुको उपस्थिति र सहयोग बिना कार्यक्रमले पूर्णता पाउन सक्दैन । अर्को कुरा यस प्रदर्शनी पछाडि पनि हामीले यसबाट पाएको सिकाई तथा निष्कर्षको आधारमा पनि अन्य निकायसँग आवश्यकताका आधारमा समन्वय गरेर थप क्रियाकलाप गर्न सहयोग पुग्ने हाम्रो अपेक्षा छ । रोटरी आफै सेवामुलक काम गर्ने संस्था हो । यस प्रदर्शनीबाट कोष विस्तार (फण्ड रेइज) को अपेक्षा के छ र त्यसको परिचालनको योजना के के छन् ? यो प्रदर्शनीमा सबै खालका उद्यमी तथा व्यवसायीको संलग्नता रहने हुनाले आफैमा महत्वपूर्ण छ । त्यसमा पनि यसबाट जति फण्ड रेइज हुन्छ त्यसलाई सामाजिक काममा नै लगाउने हाम्रो उद्धेश्य छ । यसको लागि हामीले योजना बनाएका छौं । यसको लागि हामीले गण्डकी प्रदेशको स्याङ्जा जिल्लामा सामुदायिक विद्यालयका फाउण्डेसन र प्रि–मण्टेश्वरीका शिक्षकहरुको अवस्थाको बारेमा आवश्यक सर्भे गरेका थियौं । विद्यालयमा सिकाईको अवस्था कस्तो छ, उहाँहरुले कसरी सिकाई रहनु भएको छ भनेर अध्ययन गरेका थियौं । यसबाट हामीले के पत्ता लगायौं भने उहाँहरुलाई आवश्यक तालिम उपलब्ध गराइएको छैन, उहाँहरुले आफूले जस्तो जान्यो त्यही सिकाउँदै आउनु भएको छ । यसले भ्रखर विद्यालयमा प्रवेश गरेका विद्यार्थीहरुको सिकाईमा गम्भिर असर पार्ने हाम्रो निष्कर्ष रह्यो । यसै समस्यालाई मध्येनजर राखेर स्थानीय तहसँग समन्वय गरेका छौं । यस प्रदर्शनी बाट जम्मा भएको फण्डबाट हामीले सिटिइभिटी मार्फत सहजकर्ताको व्यवस्था गरेर शिक्षकहरुको लागि तीन महिने तालिम उपलब्ध गराएर सीप र ज्ञानसँग आवश्यक प्रमाणपत्र उपलब्ध गराउँछौ । यसबाट शिक्षकले आफूले जानकारी त लिनुहुन्छ नै अन्य शिक्षकलाई पनि आफूले प्राप्त गरेको ज्ञानको हस्तान्त्रण गरेर विद्यालयको शैक्षिक सिकाईमा सुधार ल्याउनुहुन्छ । गुहेश्वरीमा बाल सारथी एकेडेमी छ । जसको अध्यक्ष डा.माला खरेल हुनुहुन्छ । जुन सडक बालबालिकालाई लक्षित गरेर खोलिएको छ । जहाँ करिव सय जना बच्चालाई निशुल्क शिक्षादिक्षाको व्यवस्था गरिएको छ । उहाँ रोटरी क्लव अफ नक्साल शक्तिमा पनि हुनुहुन्छ । हाम्रो क्लवले उक्त संस्थासँग पनि जोडिएर काम गर्ने लक्ष्य राखेको छ । रोटरी क्लव अफ नक्साल शक्ति कहिले स्थापना भएको हो र के के काम गर्दै आएको छ ? हाम्रो क्लवको स्थापना सन् २०२२ मार्च २५ मा स्थापना भएको हो । हामी १७ जना सदस्य छौं । दर्ता भए पश्चात हामीले सुदूरपश्चिमको बाजुरामा गण्डकी मेडिकल कलेजसँगको सहकार्यमा तीन दिने स्वास्थ्य शिविरको आयोजना गर्यौं । जहाँ २५ सय जनाको स्वास्थ्य जाँच भएको थियो । त्यस्तै भोजपुरमा पनि हामीले स्वास्थ्य शिविरको आयोजना गरेका थियौं । यही अवधीमा हामीले नागार्जुनमा वृक्षारोपण पनि सम्पन्न गरिसकेका छौं । क्लवले हाम्रो डिस्ट्रिकमा मात्र होइन अन्तराष्ट्रिय रुपमा पनि क्लवलाई सक्रिय बनाउनु पर्छ भन्ने उद्धेश्यका साथ रोटरी क्लव अफ खवाङ थाइल्याण्डबीचमा सिस्टर क्वल बनाएर सहकार्य गर्ने भनेर सम्झौता पनि सम्पन्न गरेका छौं । क्लव भ्रखरै स्थापना भएको रहेछ, यहाँहरुलाई क्लव स्थापना गर्नको लागि केले प्रभाव पार्यो ? म आफू सन् २०१४ देखि रोटरी क्लव अफ त्रिपुरेश्वरसँग जोडिएर विभिन्न जिम्मेवारीमा काम गर्दै आएको थिएँ । त्रिपुरेश्वरमा काम गर्दाको प्रेरणा र अनुभवले म आफै चार्टड गरेर अर्को क्लव किन नबनाउने भन्ने लाग्यो र त्यसको लागि मैले लामो गृहकार्य पनि गरें र केही सेवाभाव भएका साथीहरुसँग मिलेर यो क्लव बनायौं । रोटरी क्लब भनेको टिम वर्क पनि हो । क्लवलाई दीगो बनाउनको लागि हामीले सक्रियता बढाएका छौं । अहिले पनि एक्स्पोमा कार्यक्रम संयोजक रोटरीयन रजनी श्रेष्ठ, आरटीएफ कमिटी चियर सरु अर्याल प्रधान, उपाध्यक्ष डा.माला खरेल लगायतका साथीहरुको साथ महत्वपूर्ण छ ।
Tags: