ओडारमा बस्दै आएकी जलुदेवीलाई खप्तड छेडेदहले हेर्ने

Image
बाजुरा – पाँच वर्षदेखि ओडार बासको जीवन बिताइरहेकी जुलदेवी बुढाको पालन पोषणको जिम्मा खप्तड छेडेदह गाउँपालिकाले लिने भएको छ । ५ वर्षको छोरासँगै ओडारमा बस्दै आएकी जलुदेवीको पालन पोषणको जिम्मा खप्तड छेडेदह गाउँपालिकाले लिएको पालिका अध्यक्ष दिलबहादुर रावतले बताए। जलुदेवीले घरबास नहुँदा ओडारमा बस्दै आएका उनीहरुलाई प्रहरीले उद्दार गरेको थियो । खप्तड छेडेदह गाउँपालिका १ काँडाकी जलुदेवी श्रीमान र जेठी सौतासँग मिलेर बस्ने अवस्था नभएपछि ओडारमा बसेर गुजारा गरिरहेकी थिईन् । आमा छोराको पालन पोषण, छोराको शिक्षा र स्वास्थ्य उपचार सबै जिम्मा पालिकाले नै लिने गरि संरक्षण गरिएको अध्यक्ष रावतको भनाई छ । ५५ वर्षीय जालुदेवी गाउँ नजिककै जंगलको ओडारमा बस्न बाध्य थिइन् । आमा र छोरा ओडारमा बस्दै आएको जानकारी पाएपछि काँडा प्रहरी चौकीले गत शुक्रबार उद्दार गरेको थियो । उद्दार गरिएका आमा छोरा दुबै जना कुपोषणबाट ग्रसित छन् । जलुदेवीका श्रीमान भाने बुढाले जेठी श्रीमतीबाट छोरा नजन्मिएपछि दोस्रो विहे गरेका थिए । बझाङ्ग माइतीघर भएकी जलुदेवीका तीन छोरा छन् । जेठा छोरा १८ बर्षका चक्र बुढा भारतमा बस्छन् । १२ बर्षका छोरा कुशल बुढा बुवासँग गाउँकै घरमा बस्छन् । ५ वर्षका कान्छा छोरा मीन भने जलुदेवीसँग ओडारमा बस्ने गरेका थिए । घरमा बस्न खाने अवस्था नभएपछि जलुदेवी ओडारमा बस्न बाध्य भएकी हुन् । श्रीमानले कान्छी भनेर हेला गर्ने, राम्रो व्यवाहार नगर्ने र खान बस्न र लगाउन लुगा कपडा नदिने भएपछि ओडारको विकल्प रोजेको स्थानीयको भनाई छ । जलुदेवीका आमा छोराले ओडारमा पानी घट्टबाट संकलन गरेर ल्याएको पिठोको खोले पकाएर खाने गरेका थिए । पुरा पेट कहिल्यै हुदैन थ्यो, छोरालाई सकेसम्म अघाउने प्रयास गथ्र्ये, तर पनि विहान साँझ एकै प्रकारको पीठोको खोले खानै मन नलाग्ने हुँदा कति दिन भोकै बस्ने गरेको दुखेसो जलुदेवीको छ । श्रीमानले केही कुरा नमिलेपनि सुरक्षित बासका लागि घरमा लिन प्रयास गरेका थिए, तर जलुदेवीले नै नमान्ने गरेको स्थानीय बताउँछन् । घरभन्दा ओडार करिव ४०–५० मिटर मात्रै टाढा छ । जेठी श्रीमतीसँग मिलन नभएको र आफूसँग कहिलेकाँही झगडा पर्ने हुँदा उनी घर नगएको श्रीमान भाने बुढाको भनाई छ । मसँग कहिले कहिँ झगडा हुने गथ्र्यो, जेठी श्रीमति र कान्छी बीच पनि झगडा भइरहने हुँदा एक्लै बस्ने भन्दै ओडारमा बस्न थालेका हुन्, भानु बुढाले भने । दुइटी श्रीमति मिल्ने अवस्था नआएपछि भाने बुढाले कान्छी श्रीमती जलुदेवीका लागि अलग्गै घर समेत बनाइ दिएका थिए । तर, उनी त्यो घरमा आगो लगाएर ओडारमै बस्ने जिद्दी गरेको पाइएको छ । गाउँपालिकाले पालिका भित्रका अनाथ र बेसाहारहरुका लागि अर्को वर्ष भित्र आश्रम निर्माण गरेर संरक्षणको जिम्मा संस्थागत रुपमै लिने योजना अघि सारेको छ ।
Tags: