इजलास कक्षबाट न्यायिक समितिको काम सुरु

Image
काठमाडौं– काठमाडौँ महानगरको न्यायिक समितिले इजलासबाट न्याय निरुपणका काम थालनी गरेको छ । इजलास मर्मत भइरहेकोले यस अघि महानगरको सभा कक्षबाट काम हआएको थियो । एक बर्ष कैद हुन सक्ने फौजदारी मुद्दा, मेलमिलाप हुन सक्ने देवानी मुद्दा, २५ लाख रुपैयाँसम्म बिगो भएको घर बहाल र घर बहाल सुबिधा भएको मुद्दा न्यायिक समितिको जिम्मेवारीमा पर्छन् । समितिले गर्ने कामका विषयमा समितिकी संयोजक एवं महानगरकी उपप्रमुख सुनिता डंगोल भन्छिन्, ‘वडाहरुमा मेलमिलाप कक्ष बनाएर विवादहरुलाई वडा तहमै समाधान गर्ने प्रयास हुनेछ । समितिमा आएका उजुरीहरुलाई छिटो र दुवै पक्षको जीत हुने विधिबाट समाधान गर्ने प्रयास गरिनेछ ।’ महानगरका न्याय प्रशासक रामप्रसाद पौडेलकाअनुसार समितिमा आएका उजुरीहरुलाई मेलमिलाप गराउनु नै पहिलो प्रयास हुनेछ । दुवै पक्षको कुरा सुन्नु पर्ने, विवादका विषयमा तथ्य र प्रमाण जुटाउनु पर्ने र मेलमिलापका दुवै पक्षलाई चित्त बुझाउनु पर्ने भएकोले कहिलेकाहीँ कुनै उजुरी फस्र्यौट हुन समय लाग्न पनि सक्छ । कतिपय उजुरीहरु न्यायिक समितिमा विचाराधीन भएकै बेला सोही प्रकृतिका विषयसँग जोडिने प्रकृतिका उजुरी लिएर अन्य न्यायिक निकायमा समेत जान सक्ने कारणले कुनै मुद्दाको फैसला ढिलो हुन सक्छ । अहिले न्यायिक समितिमा २४२ उजुरी छन् । यीमध्ये १४४ वटा मुद्दा सरेर आएका हुन् । नेपालको संबिधानको धारा २१७ मा न्यायिक समिति सम्बन्धि व्यवस्था गरिएको छ । समितिको कार्य सम्बन्धि व्यवस्था, कर्तव्य र क्षेत्राधिकार स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ८ मा व्यवस्था छ । समितिले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ अनुसार न्यायिक समितिको क्षेत्राधिकार, दफा ४८ अनुसार अधिकार क्षेत्रको प्रयोग, दफा ४९ अनुसार न्याय सम्पादनका प्रक्रिया सञ्चालन गर्छ । त्यस्तै न्याय सम्पादन गर्दा कानूनका सर्वमान्य सिद्धान्त, नजिरको सिद्धान्त साथै प्रचलित ऐन कानूनको मुल्य मान्यताबमोजिम न्याय सम्पादन गर्छ । न्यायिक समितिका अतिरिक्त भवन निर्माणको मापदण्डका बिषय प्रमुखको इजलासबाट हेरिन्छ भने भवन निर्माण इजाजत सम्बन्धि विषय प्रमुख प्रशासकीय अधिकृतको इजलासबाट हेरिन्छ । न्यायिक समितिको सदस्यमा कुश ढकाल र आशा श्रेष्ठ रौनियार भन्छिन् ।
Tags: