पलेशालाई गण्डकी सरकार र पोखरा महानगरको सम्मान
नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक पदक दिलाएकी पलेशा गोवर्धनले तेक्वान्दोको ५७ केजीभन्दा कम तौलको प्रतिस्पर्धामा सर्वियाली खेलाडीलाई पराजित गरी कास्य पदक जितेकी थिइन् ।
कास्की । ‘पारा ओलम्पिक २०२४’ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई आइतवार पोखरामा सम्मान गरिएको छ । नेपाल तेक्वान्दो संघले पोखरा सभागृहमा आयोजना गरेको सम्मान कार्यक्रममा गण्डकी प्रदेश सरकारले पलेसलाई रू. १ लाख ५० हजार, पोखरा महानगरपालिकाले रू. २ लाख २२ हजार २२२ तथा नेपाल तेक्वान्दो संघ कास्कीले रू. ५० हजार ५०० र सम्मानपत्रबाट सम्मान गरेका हुन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकासमन्त्री विन्दुकुमार थापा र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सो सम्मान प्रदान गरेका हुन् । नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक पदक दिलाएकी गोवर्धनले तेक्वान्दोको ५७ केजीभन्दा कम तौलको प्रतिस्पर्धामा सर्वियाली खेलाडीलाई पराजित गरी कास्य पदक जितेकी थिइन् । पलेसा ओलम्पिक प्रतिस्पर्धामा पदक जित्ने पहिलो नेपाली खेलाडी समेत हुन् । सन् २०२१ को एसिया युथ पारा गेम्समा स्वर्ण जितेकी पलेसा सन् २०१० देखि तेक्वान्दो खेल्न शुरू गरेकी हुन् । कार्यक्रममा मुख्यमन्त्री पाण्डेले पलेशालाई गण्डकी प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने घोषणा गरे । उनले भने, ‘प्रदेश सरकारले गण्डकी प्रदेशका ओलम्पियनहरूलाई गतवर्षबाट मासिक भत्तासहित सम्मानको कार्यक्रमलाई अघि बढाएको छ । पलेशा नेपाली खेलकुदमा इतिहास रच्ने खेलाडी भएको नाताले गण्डकी प्रदेशको खेलाडी नभए पनि उनलाई मासिक भत्ता उपलव्ध गराउने घोषणा गर्दछु ।’
गण्डकी प्रदेश सरकारका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री थापाले पलेशाको ऐतिहासिक उपलब्धिले खेल क्षेत्रमा नयाँ सञ्चार गरेको बताए । पोखरा महानगरका प्रमुख आचार्यले महानगर राष्ट्रको गहनाका रूपमा रहेका खेलाडीको साथमा रहेको बताए ।
उनले भने, ‘नेपालले लामो समयदेखि ओलम्पिक गेम्समा सहभागिता जनाउँदै आएको छ तर अहिलेसम्म पदक तालिकामा नेपालको नाम चढेको थिएन, पलेसाले त्यसको अभावलाई सम्बोधन गर्ने स्थानमा पु¥याउनु भएको छ, यो सिंगो मुलुकका लागि गर्वको विषय हो । पलेसालगायत खेलाडीहरूको प्रोत्साहन र हौसलाका लागि महानगर सधै साथमा छ ।’
प्रमुख आचार्यले भविष्यमा हुने कुनै पनि राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा नेपालका खेलाडीको प्रेरणाको स्रोतको रूपमा पलेशाको सफलता महŒवपूर्ण हुने बताए । रासस