पत्रकार एवं लेखक गोविन्द मरासिनीलाई ‘गण्डकी प्रदेश युवा प्रतिभा पुरस्कार’

Image

काठमाडौं – पत्रकार एवं लेखक गोविन्द मरासिनी ‘गण्डकी प्रदेश युवा प्रतिभा पुरस्कार’बाट सम्मानित भएका छन् । पत्रकारितामार्फत गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याएको भन्दै गण्डकी प्रदेश, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले नगद ५० हजारसहित प्रथम पुरस्कार प्रदान गरेको हो ।

विगत १३ वर्षदेखि पत्रकारितामा क्रियाशिल पुतलीबजार न.पा. ३, स्याङ्जा निवासी मरासिनीले विशेषगरी युवा, पर्यटन, राजनीति र समसामयिक विषयमा राष्टियस्तरका विभिन्न सञ्चारमाध्यममा स्वतन्त्र रूपमा कलम चलाउँदै आएका छन् ।

उनले नेपालका प्रमुख पर्यटकीय गन्तव्य, साहसिक खेल, धार्मिक पर्यटन र ग्रामीण पर्यटन लगायतका विविध पर्यटन प्रवद्र्वनका लागि पत्रकारिताको माध्यमबाट काम गर्दै आएका छन् ।

अनलाइन पत्रकार संघका सचिव समेत रहेका मरासिनीले विभिन्न समसामयिक बिषयमा अनुसन्धानात्मक लेख समेत लेख्ने गरेका छन् । यसअघि पनि उनी सार्क युथ लिडर अवार्ड, संकटमा सक्रिय पत्रकारिता पुरस्कार लगायतका विभिन्न पुरस्कारबाट सम्मानित भइसकेका छन् ।  

गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री विन्दुकुमार थापा र सचिव प्रकाश पौडेल लगायतले मरासिनी सहित पुरस्कृत सबै व्यक्तिलाई पुरस्कार दिएका थिए ।

पर्यटन प्रर्वद्धन विद्यामै पर्वतका लक्ष्मण कुमार सुनारले द्वितीय पुरस्कार प्राप्त गरे । प्रतिभा पुरस्कारका लागि मन्त्रालयले गत फागुन २४ गते आव्हान गरेको थियो । यसरी आव्हान गरिएको सुचनाअनुसार जाँचबुझ र मूल्याङकबाट विभिन्न ८ विद्यामा उत्कृष्ट १३ जनालाई युवा प्रतिभा पुरस्कारबाट सम्मानित गरिएको हो ।

 

Tags: