बंगलादेशमा भइरहेको अमानवीय गतिविधिको विरोधमा विश्व हिन्दु महासंघको ज्ञापनपत्र

Image

काठमाडौं – विश्व हिन्दु महासंघ केन्द्रीय समितिले बंगलादेशमा भइरहेको पछिल्लो राजनीतिक उतारचढावका कारण उत्पन्न भएका अराजनीतिक र अमानवीय गतिविधिहरुप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आज नेपालस्थित बंगलादेशको राजदूतावासमा एक ज्ञापनपत्र बुझाएको छ।

महासंघका महासचिव शम्भुहरि बास्तोलाको नेतृत्वमा राजदूतावास पुगेको टोलीले बंगलादेशमा भएका घटनाहरूले शान्तिप्रेमी सनातन हिन्दु धर्मावलम्बीहरूको भावनामा गहिरो चोट पु¥याएको भन्दै त्यस्ता अमानवीय गतिविधिहरु तुरुन्त बन्द गर्न जोडदार माग गरेको छ। महासंघले बंगलादेशमा भइरहेको धार्मिक अल्पसंख्यकहरूमाथिको हिंसा र दमनको विरोध गर्दै तिनको पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेको छ।

ज्ञापनपत्रमार्फत विश्व हिन्दु महासंघले बंगलादेशमा यथाशीघ्र शान्ति पुनःस्थापना गर्न र धार्मिक सहिष्णुताको वातावरण निर्माण गर्न अपिल गरेको छ। महासंघले घटनाहरूलाई गम्भीरतापूर्वक लिएर उचित कदम चाल्न बंगलादेश सरकारसँग आग्रह गर्दै ॐ शान्ति मन्त्रद्वारा आफ्नो शान्तिप्रति प्रतिबद्धता पनि व्यक्त गरेको छ।

 

Tags: