पञ्चैबाजा बजाउँदै बागलुङका बालबालिका

Image

बलेवा (बागलुङ) । यहाँका सार्वजनिक समारोहमा आजभोलि पञ्चैबाजा बोकेका स–साना बालबालिका भेटिन्छन् । दमाहा, मादल, सनाही, झ्यालीलगायत बोकेर उनीहरु भीडमा पुग्छन् । जब उनीहरू सार्वजनिक मञ्चमा उक्लिएर बाजा बजाउन थाल्छन् । उपस्थित दर्शक चकित पर्छन् । बागलुङ नगरपालिका–१३ बलेवास्थित त्रिभुवन माध्यमिक विद्यालयले यो सबै तारतम्य मिलाएको हो । यहाँ पढ्ने बालबालिकाले पञ्चैबजा र नौमती बजाएर सबैलाई चकित पार्ने गरेका हुन् ।  

कक्षा ४ मा अध्ययनरत विवेक परियारले ढोलकी बजाउँदा शिक्षक, अभिभावक अचम्मित हुन्छन् । उनीहरूले नौमती बजाउँदा मेला महोत्सव र सार्वजनिक कार्यक्रमको रौनक थपिने गरेको छ । बाजा बजाउन सिक्न थालेको उनीहरूले एक वर्ष भयो । विद्यालयले पाठ्यक्रमका अतिरिक्त रैथाने शीप सिकाइरहेको छ । त्यसअघि एक दुई जनाले घरमा अभिभावकसँग पनि सिकेका थिए । विद्यालयले समूहमा राखेर सिकाएपछि सबैजना बाजा बजाउन जान्ने भएका हुन् । सिकाइकै लागि उनीहरू मेला महोत्सव, धार्मिक र साँस्कृतिक कार्यक्रममा बाजा बजाउँछन् । पारिश्रमिक लिएर भने उनीहरूले हालसम्म बाजा बजाएका छैनन् ।   

गत वर्षदेखि विद्यालयले बालबालिकालाई नौमती बाजा सिकाउन थालेको प्रधानाध्यापक तिलक आचार्यले बताए । विद्यालयकै शिक्षक थमबहादुर परियारलाई सबै बाजाको ज्ञान भएकाले उनले इच्छुक विद्यार्थीलाई प्रशिक्षण दिइरहेका छन् । शुरूमा गाउँमा बाजा बजाउन सिकाएपछि हौसिएका बालबालिकालाई विद्यालयले रू. तीन लाख खर्चेर नौमती बाजाको ‘सेट’ नै ल्याइदिएपछि अहिले नियमित सिकिरहेका छन् ।  

नौमती सिक्नेमा परियारबाहेक अन्य जातका पनि छन् । सबै मिलेर नौमती बजाउन जान्ने भएपछि बालबालिकालाई हरेक शुक्रवारको अतिरिक्त क्रियाकलापमा बाजा बजाउने प्रतियोगितासमेत गराउन थालिएको प्रधानाध्यापक आचार्यले जानकारी दिए ।  

विद्यालयले विज्ञान प्रयोगशाला जस्तै बाजा सिक्ने कक्षलाई पनि व्यवस्थित बनाउने तयारी गरेको छ । ‘यहाँ धेरैले चासो राखेपछि एकजोर नौमती बाजाले नपुग्ने भयो । अभिभावक र विदेशमा बस्ने युवाबाट सहयोग जुटाएर कम्तीमा दुई जोर बाजा पु¥याउने लक्ष्य छ,’ प्रअ आचार्यले भने । रासस

 

Tags: