विश्व वातावरण दिवसको अवसरमा भरतपुरमा बृहत सरसफाई तथा वृक्षरोपण

Image

चितवन – विश्व वातावरण दिवसको अवसरमा भरतपुरको बाईपास सडकखण्डमा बृहत सरसफाई  तथा वृक्षरोपण गरिएको छ । हाम्रो भूमि, हाम्रो भविष्य भन्ने नारासहित बुधबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।भरतपुरमा दिवसको एक कार्यक्रमका बीच भरतपुर महागनरपालिका प्रमुख रेनु दाहालले सडकको डिभाइडरमा वृक्षरोपण गरेर उद्घाटन गरेकी थिइन्।

कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख रेनु दाहालले भरतपुरलाई हरियाली र सुन्दर सहर निर्माण गर्न सबै पक्ष जुट्न जरुरी रहेको बताइन् । ‘हरियाली महागनर’ बनाउने अभियानमा भरतपुर महानगर विगतदेखि अगाडि बढेको प्रमुख दाहाललको भनाइ थियो ।

भरतपुरका मुख्य सडकलाई हरियाली नमुना सडक निर्माण गर्नेतर्फ महानगर निरन्तर रूपमा काम गरिरहेको उनले बताइन्। विगतमा महानगरले वातावरणको क्षेत्रमा ठुलो बजेट विनियोजन गरिसकेको र आगामी आर्थिक वर्षमा पनि हरियाली विषेश बजेट विनियोजन हुने प्रमुख दाहालले प्रष्ट पारिन्।

‘भरतपुर प्रकृतिको धनी सहर हो, ’ उनले भनिन्, ‘दुई वटा ठुला नदी र चारैतिर हरियाली जंगल छ । अब यसलाई व्यवस्थित र आर्कषक बनाउनेतर्फ सबै जुट्न जरूरी छ । नेपालमै हरियाली सहरको परिचय स्थापित गर्ने गरी भरतपुरले काम गर्दैछ।’

कार्यक्रममा बोल्दै उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन सरसफाई कार्यक्रम महत्वपूर्ण हुने उल्लेख गरे। दिवसको अवसरमा बुधबवार विहान बासपार्कचोकदेखि आँपटारीसम्म दुई समूहमा सरसफाई गरिएको हो । यस्तै स्काउट, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्कुलका विद्यार्थीहरूको पनि सहभागिता रहेको थियो ।
 

Tags: