तीन कार्यालयको एकैसाथ बजेट तथा कार्यक्रम सार्वजनिक, दुर्घटना बीमा गर्न सुझाव
रामेछाप – कृषि विकास कार्यालय रामेछाप, पशु सेवा कार्यालय सिन्धुली रामेछाप सेवा केन्द्र मन्थली र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ रामेछापले संयुक्त रूपमा कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन्।
ती कार्यालयले शनिवार जिल्ला समन्वय कार्यालय रामेछाप मन्थलीको हलमा आर्थिक वर्ष २०८१÷८२ को कार्यक्रम र बजेट सार्वजनिक गरेका हुन् । जिल्ला समन्वय प्रमुख चिना खड्का कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका उद्योग, पर्यटन तथा वन वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा रामेछापका ८ ओटै पालिका प्रमुख र उप प्रमुखको उपस्थिति थियो । जिल्लामा पहिलोपटक कृषि र पशु सेवाको कार्यक्रम सार्वजनिक एकैपटक भएको पहिलो कार्यक्रम भएको बताइएको छ। कार्यक्रममा रामेछाप पत्रकार महासंघ, रामेछाप उद्योग वाणिज्य संघ, गैर सरकारी संस्था महासंघ, कोष तथा लेखा नियन्त्रण कार्यालय उद्योग वाणिज्य कार्यालय रामेछापको पनि सहभागिता थियो।
कृषिसँग चासो राख्ने वडा अध्यक्षहरू, जिल्ला कृषि सहकारी संघ रामेछाप, अगुवा किसान समेत गरी ७० जनाको उपस्थिति थियो। कार्यक्रम कृषि विकास कार्यालयका तर्फबाट कार्यालय प्रमुख मीनबहादुर पुन, परियोजनाको तर्फबाट कार्यलय प्रमुख थिरलाल गैरे र पशु सेवा कार्यालय प्रमुख नवराज थापाले आ–आफ्नो कार्यालयले आगामी वर्ष कुन शिर्षकमा कति बजेट राखेको र पहिलो त्रैमासिकमा हुने कार्यक्रम सूचना सरोकारवाला कार्यालयको सूचनापाटीमा,स्थानीय पत्रिकामा, रेडियो र कार्यालयको फेसबुक पेजमा समेत प्रकाशित गरी सरोकारवालालाई जानकारी दिएको कुरा बताए। स्थानीय पालिकालाई सूचना इमेलमार्फत जानकारी दिइएको कार्यालय प्रमुख पुनले जानकारी दिए।
कार्यक्रममा उपस्थिति सरोकारवाला सो कार्यक्रम र कार्यक्रमको बजेटिङ प्रक्रिया बारेमा चासो व्यक्त गरी छलफल गरिएको थियो । छलफलमा सम्बन्धित कार्यालयले चित्त बुझ्दो जवाफ दिएको थियो । प्रमुख अतिथि आनन्दकुमार श्रेष्ठले देश कृषि प्रधान भए पनि वैदेशिक ऋण गरेर कृषि क्षत्रमा लगानी गरेको कारणले सबै कार्यक्रम किसानमैत्री नभएर केही अनावश्यक कार्यक्रम दबाबमा राख्नुपर्ने बाध्यता रहेको स्विकार गरे ।
जिल्ला समन्वय प्रमुख कार्कीले कृषि र पशु सम्बन्धित काम हरेक किसानलाई थाहा पाउने र लाभ लिने गरी गर्न सुझाव दिइन् । कृषि तथा पशु कार्यालयले वितरण गर्ने मेशिनरी कार्यक्रममा मेसिन लाने फर्म , समूह र सहकारीले किसानको दुर्घटना बीमा अनिवार्य गर्न सुझाइन्। वार्षिक रू. २०० मा १ लाखको दुर्घटना बीमा गर्दा मेशिनको कारणले चोटपटक लाग्दा १ लाख बराबरको औषधि उपचार, पुर्ण रूपमा किसान अङ्गभङ्ग वा मृत्युु भएमा १ लाख रुपैयाँ बराबरको सुविधा बीमा कम्पनीबाट प्राप्त हुने हुँदा दुर्घटना बीमा कार्यक्रमलाई समावेश गर्न उनले अनुरोध गरिन्।