विपन्न नागरिकलाई न्यानो सिरक
मुगु – धार्मिक अगुवा चेतना मल्ल शाहीले जिल्लाका विपन्न वर्गलाई न्यानो कपडा र नारायण सेवा भोजन उपलब्ध गराएकी छिन्। हिमाली जिल्ला मुगुमा चिसो बढ्दै गएपछि विपन्न वर्गका नागरिकको स्वास्थ्य सुरक्षाका लागि जिल्लाको ओमसत्य साइराम भजन केन्द्र मुगुको सहजीकरणमा न्यानो सिरक र नारायण सेवा भोजन सहयोग सामग्री उपलब्ध गराइएको हो। ओम सत्य साइराम काठमाडौंको सहयोगमा जिल्लाका १ सय ५ जना विपन्न परिवारका सदस्यलाई न्यानो सिरक र नारायण सेवा भोजन उपलब्ध गराइएको हो ।
विश्व हिन्दु महासंघ, सनातन हिन्दु महासंघकी केन्द्रीय सदस्य र ओम सत्य साइरामकी जिल्ला अध्यक्ष समेत रहेकी शाहीका अनुसार जिल्लामा अत्याधिक चिसो बढेकोले यहाँका विपन्न वर्गलाई चिसो छल्नलाई न्यानो सिरक र नारायण सेवा भोजन वितरण गरिएको हो। उनले भनिन्, ‘चिसो समयमा न्यानो सिरक वितरण गर्दा एकल महिला र जेष्ठ नागरिक र बालबालिकालाई राहत पुगेको छ ।’
आर्थिक अवस्थामा पछि परेका स्थानीयवासी र एकल महिला तथा ६० वर्षमाथि पुगेका ज्येष्ठ नागरिकलाई न्यानो सिरक वितरण गरेको धार्मिक तथा समाजसेवी मल्ल शाहीले बताइन्।
छायाँनाथ रारा नगरपालिका वडा नं ६ की कन्देवी बोहराका अनुसार जाडो समयमा जिल्लाको ओम सत्य साईरामले गरेको बितरण कार्यक्रम निकै राम्रो भएकोले जिल्लाका अरु धार्मिक संस्थाले पनि त्यस्तै कार्यक्रम ल्याउन जरुरी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो हामी जस्ता आर्थिक अवस्थामा कमजोर भएका नागरिककालागी यो कार्यक्रमले केही राहत मिलेको महसुस भएको छ।
चिसो छल्नका लागी दिइएको न्यानो सिरक र नारायण सेवा भोजले यहाँका नागरिकलाई राहत पुगेको छ । जिल्लाका विपन्न वर्गका सदस्यमा खुसी छाएको सेवाग्राही रामदेवी बुढाले बताउनुभयो ।