म्याग्दीमा आयोजना सम्पन्न गर्न ढिलासुस्ती

Image

म्याग्दी । जिल्लामा सञ्चालित १२ ठूला आयोजनाको निर्माण अलपत्र परेको छ । सडक, सबस्टेशन, अस्पताल, खानेपानी, सेवा प्रदायक कार्यालयको भवन, मोटरेबल पुललगायत आयोजना निर्माणमा भएको ढिलासुस्तीले सर्वसाधारणलाई सास्ती भएको छ ।
स्थानीय तह, संघीय, प्रदेश सरकारमार्फत सञ्चालित आयोजनाको ठेक्का अवधि सकिए पनि निर्माण पूरा नहुँदा र निरन्तरता नपाउँदा अलपत्र बनेका हुन् । अलपत्र पर्नेमा गण्डकी प्रदेश सरकारका तीन, संघीय सरकारका पाँच र स्थानीय तहका चारओटा छन् ।
पाँचओटा सडक, चारओटा भवन, सबस्टेशन र खानेपानीसम्बन्धी एक–एकओटा आयोजना छन् । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोवार प्रवद्र्धक रहेको रू. ७ अर्ब लागत अनुमान गरिएको राहुघाट जलविद्युत् र रू. ३ अर्ब लागत अनुमान गरिएको डाँडाखेत–राहुघाट प्रसारण लाइनबाहेकका अलपत्र र अधुरा आयोजनाको लागत रू. २ अर्बभन्दा बढी छ ।
प्रशासनिक, राजनीतिक र व्यावसायिक पहुँच भएका निर्माण व्यवसायीको अटेरी, आयोजना प्रमुख तथा सरोकारवालाले चासो नदिनुका साथै पर्याप्त बजेट नआउने, निर्माण व्यवसायीले उपकरण, मजदुर परिचालन र निर्माण सामग्री जुटाउन नसक्दा आयोजना अलपत्र बनेका म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताए ।
स्थानीयस्तरको विवाद समयमै सहजीकरण र समाधान नहुनु, नदीजन्य निर्माण सामग्रीको असहजता, स्वार्थ समूहको चलखेल, अनुगमन र नियमन गर्ने पर्याप्त प्राविधिक जनशक्तिको कमी पनि आयोजना अलपत्र हुनुका कारण देखिएका छन् ।
रातोढुंगा सबस्टेशन, बेनी–जोमसोम–कोरला, लाम्पाटा–दरवाङ, मालढुंगा–बेनी सडक, दाङखोलाको मोटरेबल पुल निर्माणकार्य अलपत्र बनेका छन् । बेनी अस्पताल, ताकम अस्पताल, मंगला अस्पताल र धवलागिरि गाउँपालिकाको प्रशासकीय भवन, रत्नेचौर लिफ्ट खानेपानी र रावण पार्कलगायत आयोजना पनि अलपत्रको सूचीमा छन् ।
सम्बद्ध कार्यालयका अनुसार अलपत्र परेकामध्ये केही आयोजना तीन–चार वर्षअघि नै निर्माण सकिनुपर्ने थियो । म्याग्दी प्रदेशसभा (२) बाट निर्वाचित गण्डकी प्रदेशका पूर्वमन्त्री रेशम जुग्जालीले अलपत्र आयोजना पहिचान गरी निर्माणलाई गति दिन सम्बद्ध कार्यालय, आयोजना, प्रदेश र संघीय मन्त्रालयमा ताकेता गरिएको बताए ।
‘प्रत्येक आयोजनाको एक–एक अध्ययन र समस्या पहिचान गरी निर्माणलाई अघि बढाउन स्थानीय तह, प्रशासन, आयोजना, निर्माण व्यवसायीसँग समन्वय गरेका छौं,’ उनले भने, ‘दुई वर्षअघि हामी निर्वाचित हुँदा म्याग्दीमा रू. ४ अर्ब ५० करोड लागतका १९ ओटा ठूला आयोजना अलपत्र रहेकामध्ये नौओटा सम्पन्न भएका छन् ।’
प्रदेश सरकारमार्फत सञ्चालित बेनी–दरवाङ सडकको सिम–रणवाङ, रत्नेचौर–बेनी, पिप्ले–भगवती सडक, छ्यारछ्यारे, अर्गला र भारवाङघाटको मोटरेबल पुल निर्माणले पूर्णता पाएका हुन् ।
संघीय सरकारले सञ्चालन गरेको अधुरो अवस्थामा रहेको पोखरेबगर–चित्रे सडक, पोखरेबगरको घारखोला–मोटरेबल पुल र मल्कवाङ स्वास्थ्यचौकीको भवन निर्माणले पूर्णता पाएको छ । नागरिक, राजनीतिक, प्रशासनिक र सञ्चार क्षेत्रबाट पनि अधुरा आयोजनालाई पूर्णता दिन चौतर्फी दबाब सृजना गराउन प्रदेशसभा सदस्य जुग्जालीले आग्रह गरे । रासस
 

Tags: