शेयर लगानीकर्ता अग्रवालको आरोप, ‘सिप्ला सेक्युरिटिजले ठग्यो’
काठमाडौं – तीन दशकदेखि शेयर बजारमा लगानी गरिरहेका दिपेन्द्र अग्रवालले सिप्ला सेक्युरिटिज ब्रोकरबाट रकम फिर्ता नपाएको गम्भीर आरोप लगाएका छन्। उनका अनुसार, विगत पाँच वर्षदेखि सिप्ला सेक्युरिटिज ब्रोकरबाट शेयर कारोबार गर्दै आइरहेका थिए, तर पछिल्लो तीन वर्षदेखि आफ्नो हिसाब मिलान गर्न ढिलाइ हुँदै आएको उनले बताएका छन्।
अग्रवालले सिप्ला सेक्युरिटिजबाट पाउनुपर्ने कुल रकम ४८ करोड ३३ लाख ९८ हजार ७ सय ७ रुपैयाँ ४१ पैसा रहेको दाबी गरेका छन्। उनले विभिन्न आफन्त र कम्पनीहरुको हिसाब समेत मिलाउँदा ७ करोड ८८ लाख १९ हजार ६ सय ६६ रुपैयाँ ८६ पैसा पाउनुपर्ने देखिएको र यसमा १५ करोड ब्याज समेत जोडिने बताए।
उनका अनुसार, सिप्ला सेक्युरिटिजले केही सानो रकम मात्रै भुक्तानी गरेको र बाँकी रकम भुक्तानी गर्न विभिन्न बहाना गर्दै पन्छिएको छ। उनले यस सम्बन्धमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, र ब्रोकर एसोसिएसनमा उजुरी दिए पनि कुनै ठोस कदम नचालिएको बताएका छन्।
यसबाहेक, सिप्ला सेक्युरिटिजले दिएको चेकसमेत नगद हुन नसक्ने भन्दै अग्रवाललाई थप मानसिक यातना दिएको छ। उनले सबै सम्बन्धित निकायलाई ब्रोकर कम्पनीहरुमाथि उचित कारबाही गर्न आग्रह गरेका छन्।