कृषि विकास बैंकको ‘इन्स्ट्यान्ट फोन लोन’, एडीबीएल स्मार्टबाट तत्कालै कर्जा प्राप्त गर्न सकिने

Image

काठमाडौं– बढ्दो डिजिटल प्रविधिको माग तथा प्रयोगलाई आत्मसाथ गर्दै वित्तीय पहुँच तथा समावेशीकरण तर्फको पहल अन्तर्गत, कृषि विकास बैंक लिमिटेडले ‘एडीबीएल स्मार्ट प्लस एप’मा कर्जाको नयाँ सुविधा शुरु गरेको छ। यस सुविधा मार्फत, योग्य ग्राहकले रु.२ लाख सम्म प्रत्यक्ष रुपमा आफ्नै मोबाइल बैंकिङ एपबाट विना कुनै धितो, कुनै कागजी कार्य वा बैंक भ्रमण नगरी तुरुन्तै कर्जा प्राप्त गर्न सक्ने बताइएको छ ।

कृषि विकास बैंकमा तलबी प्रकारका खाता भएका योग्य ग्राहकले बैंकले तोकेको सीमा अनुसार आफ्नो मोबाइल बैंकिङ्ग एपबाटनै कर्जा लिन, उक्त कर्जाको भुक्तानी अवधि ईएमआई आधारमा ३, ६, ९, १२ महिना तय गर्न सक्नेछन भने यसमा पूर्व भुक्तान को विकल्प पनि रहने छ ।

‘एडीबीएल इन्स्ट्यान्ट लोन’ योग्य ग्राहकले ‘बाइ नाव, पे लेटर’ सुविधा पनि प्राप्त गर्न सक्ने छन् । बीएनपीएल सुविधाको प्रयोग कुनै पनि फोन पे मर्चेन्टमा क्यूआर पेमेन्टको समयमा क्रेडिट भुक्तानी गर्न प्रयोग गर्न सकिने बताइएको छ । यसबाट ग्राहकले आफुलाई चाहिएको सामानको खरिद गर्न अनुमति दिन्छ र यसलाई निर्धारित समय भित्र मासिक किस्तामा भुक्तानी गर्नुपर्ने हुन्छ । त्यसैगरी ग्राहकहरुले ‘कन्भर्ट टु ईएमआई’ सुविधा पनि प्राप्त गर्न सक्नेछन् जस अन्तर्गत योग्य ग्राहकहरुले आफ्नो अघिल्लो ठूलो कारोबार रकमलाई कर्जामा रुपान्तरण गरी सममासिक किस्तामा भुक्तानी गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

यस सेवा प्रयोग गर्न ग्राहकहरुले आफ्नो मोवाइल बैंकिङ्ग एप मार्फत प्रमाणित इमेल ठेगाना उपलब्ध गराएर सजिलैसँग ‘एडीबीएल इन्स्ट्यान्ट फोन लोन’ मा रजिस्टर गर्न सकिने बताइएको छ । कर्जाको योग्यता बैंकद्वारा विभिन्न मापदण्डहरु जस्तैः बैंकमा तलबी खाता हुनुपर्ने, बैंक खाताबाट नियमित कारोवार भएको हुनुपर्ने, बैंकसँग भाखा नाघेको कर्जा नभएको आदि जस्ता आधारमा सफ्टवेयरमार्फत तय गरिने बताइएको छ । योग्य ग्राहकहरुको आफ्नो मोबाइल बैंकिङ्ग एप भित्र फोन लोन व्यानर र रजिस्ट्रर बटन देखा पर्नेछ । ग्राहकहरुले एक पटक दर्ता र इमेल प्रमाणित गरेपछि इन्स्ट्यान्ट फोन लोनका सबै सेवाहरु प्राप्त गर्न सकिने बताइएको छ ।

कृषि विकास बैंक लि. ले देशका ७७ जिल्लाका २८० भन्दा वढी कार्यालय, १२९ एटीएममार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले विशेषगरी कृषि क्षेत्रको अग्रणी बैंक भै कार्य गर्नुका साथै व्यक्तिगत कर्जा, मार्जिन लेण्डिङ्क लगायत अन्य सबै क्षेत्रमा कर्जा प्रबाह गर्दै आईरहेको छ । बैंकले डिजिटल बैंकिङ्ग तर्फ समेत सबै प्रकारका सेवा सुविधा उपलब्ध गराउदै आएको छ ।

 

Tags: