‘मिसिका फाउन्डेसन’द्वारा न्यानो कपडा वितरण

Image

चितवन–मनकामना ग्रुप अफ कम्पनीअन्तर्गत सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले स्थापना भएको संस्था ‘मिसिका फाउन्डेसन’ले मङ्सिर ६ गते इच्छाकामना–६ कालीखोला, चितवनस्थित देवी भन्ज्याङ राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ ।

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि स्व. मिसिका अर्यालको १०औं स्मृति दिवस पारी जाडोमा न्यानो कपडा तथा स्टेसनरीका सामाग्री वितरण गरिएको बताइएको छ । विशेष गरी विपन्न समुदायअन्तर्गत चेपाङ समुदायका बालबालिकाले अध्ययन गर्ने उक्त विद्यालय चितवनको सदरमुकाम भरतपुर तथा मुग्लिन बजार एवं हाईवेबाट नजिकै भएता पनि वत्ति मुनिको अध्यारो जस्तै दुर्गम मानिएको छ ।

कार्यक्रम मिसिका फाउन्डेसन, इनर ह्विल अफ नारायणी, लायन्स क्लव अफ चितवन सिटि र लायन्स क्लब अफ चितवन मर्सीको संयुक्त रूपमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै मनकामना ग्रुप अफ कम्पनि तथा मिसिका फाउन्डेसनका डिरेक्टर मधुसुदन अर्यालले कार्यक्रमले विपन्न समुदायका बालबालिकाको लागी साहाराको स्रोतमा रूपान्तरण गर्ने सानो प्रयास भएको बताए।

उनले एउटा मिसिका गुमाउनु परेता पनि  यस विद्यालयबाट सयौं मिसिकाको माया प्राप्त गरिरहेको बताए। कार्यक्रममा बोल्दै विद्यालयको प्रधानाध्यापक ज्ञानु पाण्डेले मिसिका फाउन्डेसनले गर्दै आएको यस कार्यक्रमले विद्यार्थीमा पनि विद्यालय जानुपर्छ र पढ्नुपर्छ भन्ने भावनामा विकास भएको बताए। उनले मिसिका फाउन्डेसनले गर्दै आइरहेको यस कार्य निकै सराहानीय रहेको समेत बताए।

फाउन्डेसनमार्फत जाडोमा न्यानो कपडा प्राप्त हुँदा विद्यार्थी तथा अभिभावकहरु हर्षित भएका थिए । फाउन्डेसनमार्फत  न्यानो कपडा तथा स्टेसनरीका समान आफूहरूले पाउँदा निकै खुशी लागेको कक्षा ६ मा अध्यानरत छात्रा संगीता चेपाङ बताउँछिन् । फाउन्डेसनले आगामी दिनमा पनि यस्तै कार्यहरुलाई निरन्तरता दिने बताएको छ ।

 

Tags: