असल मान्छे मरेपछि भगवान् कहलिन्छ !
हामीले विगतलाई कोट्याएर मात्र बस्यौं भने त्यसबाट कुनै लाभ हुँदैन । भूतकाल भनेको इतिहास हो । इतिहासबाट सिक्न सक्छौं तर त्यसलाई सच्याउन सकिँदैन । वर्तमान यथार्थ हो, अहिले जे गर्छौं त्यसको परिणाम हाम्रो भविष्य बन्ने गर्दछ । धर्म ,संस्कृति, राजनीति ,व्यापार ,साहित्य खेलकुद सबै ठाउँमा लागू हुने सत्य नै यही हो, हुँदै आएको त्यही हो ।
धर्ममा विश्वास छ भन्दैमा रामायणका राम, महाभारतका कृष्ण र बुद्धलाई भगवान् पुजेर मात्र धर्मको बचाउ हुँदैन । हाम्रो जीवनको मुक्तिको मार्ग आफैले खोज्नुपर्छ । तन, मन र बुद्धि सत्कर्ममा लागेर हामी असल जीवन पाउन सक्छौं। जिन्दगीको आरोह अवरोह अबको बुढेसकालको जीवन भक्ति मार्ग हो । हामीले हाम्रो जीवनलाई परिवर्तन होइन परिमार्जन गर्न सकौँ ।
राजनीतिक अराजकताले देश चौपट भएको छ । आर्थिक मन्दी, व्यापार व्यवसाय हरेक क्षेत्रमा निराशापन छ । यो देशमा काम गरी खाने वातावरण छैन भन्दै बेरोजगार युवाहरू मात्र नभएर पैसा कै लागि जो सुकै नेपाली विदेसिन तयार छ । यस्तो अवस्थामा मनमा शान्ति ल्याउने कसरी ? जन्मँदै हामीले के लिएर आएका थियौं र मरेर साथमा केही लिएर जान पाउने पनि होइन तर मानिस लोभी पापी किन हुन्छन् ? हाम्रो देशका राजनीतिक, उच्च वर्ग, सबै क्षेत्रका व्यक्तिलाई अथाह सम्पत्तिको मोह किन ? कानुनको डर नभएको, हरेक क्षेत्रमा भ्रष्ट्राचार अनियमितता गर्दै शीर्ष व्यक्तित्वहरू नै अकुत सम्पत्ति कमाउनमा लिप्त छन् । मर्ने बेलामा पनि आफूले लुकाएर राखेको सम्पत्तिको मोहले घिटीघिटी परेर श्वास छोड्ने नसक्ने हुन्छ । जीवन विज्ञानका संस्थापक भानु गुरुदेव भन्नु हुन्छ, ‘जीवनको सबै भन्दा महत्वपूर्ण पक्ष ध्यान हो । जीवनको अन्तिम पलमा हामी लोभ मोहबाट मुक्त भएर ध्यानमा रहेर मर्न सकौँ, ध्यानमा बसेर नै यो शरीर त्याग्न सकौँ । यही नै जीवनको सबैभन्दा ठूलो उपलब्धि हुनेछ ।’
यो संसारमा धनी, गरिब, शिक्षित, अशिक्षित, नारी, पुरुष, साइकल चढ्ने देखि प्लेन चढ्नेसम्म, माग्ने मान्छेदेखि प्रधानमन्त्री, राष्ट्रपतिसम्म, नेपालदेखि अमेरिकासम्मकालाई पनि आ–आफ्नै पिर, चिन्ता छ । पहिले पेटभर खान नपाउनेमा चिन्ता थियो अनि शरीर ढाक्ने वस्त्रको खाँचो थियो । पछि बस्नको लागि घर चाहियो। आज महलमा रहेर आलिसान बिस्तारामा निदाउन सकेका छैनन् । दुःख परेको हैन चिन्ताबाट मुक्त हुन नसकेको मात्र हो । हिजो खुट्टामा चप्पल नहुँदा पनि जाडो थियो आज जुत्ता मोजा कस्सिएर पनि जाडो भए कै छ । हामी अनेकौँ समस्याबाट पिरोली रहेको अवस्थामा सहजतामा ल्याउने कसरी ? आत्म सन्तुष्टि ल्याउने कसरी ?
बुद्ध जन्मिएको देशमा प्रेमको श्रोत नै ध्यान हुन सक्छ । जीवन विज्ञानले लुम्बिनीमा एक साथ ५ हजारको संख्यामा ध्यान गरेको सफलतापछि पुनः यही फागुुण ८ गते देखि पोखरामा १० हजारको संंख्यामा एक साथ ध्यान गर्ने भएको छ । रमेश गुरुदेवको प्रकाश दिवसको अवसरमा भानु गुरुदेवले मुक्तिको मार्ग भने कै ध्यान हो भनेर बताउनुभयो । ध्यानबाट नै हरेक व्यक्तिमा परिवर्तन ल्याउन सकिन्छ । नियम र कानुन संविधान र अदालत सबै छन् ।
मानिसमा चेतना र सदबुद्दी आएन भने शिक्षाको पनि केही अर्थ रहँदैन । गल्ती गर्ने अपराधीलाई जेलमा राखेर मात्र समस्या समाधान हुँदैन । जेलबाट छुटेर पुनः अपराध गर्न सक्छ । विचारमा परिवर्तन ध्यान विधि अपनाउन सक्यौ भने कोही पनि व्यक्तिपछि फेरि अपराधी बन्न सक्दैन । चिन्ताबाट मुक्ति होइन , चिन्तन ! ध्यान गर्ने बानी बसालौँ । हरेक व्यक्ति आफै बदल्न सक्छ । त्यसको लागि सदगुरु र सदमार्ग पहिल्याउनु पर्छ ।
हामीले धर्म कर्म गरेर देवता पूजा गरेर मात्र जिन्दगी बदल्ने होइन । हामीले सत्कर्म गरेर जीवन बदल्न सक्छौं । राम, कृष्ण, बुद्धले पनि आफूलाई देवता, भगवान् भनेका थिएनन् । समयकाल परिस्थितिमा हरेक समयमा सद् पुरुषहरू जन्मन सक्छ । तिनीहरूमा ईश्वरीय भाव हुन सक्छ । जसले आफ्नो जीवनमा ईश्वरीयत्व ज्ञान, दैवी शक्ति प्राप्त गरेर अरूको समस्या पार लगाउन सक्छ । तिनीहरू भगवान्, ईश्वर ,अल्लाह कहलिन्छ ।
रमेश गुरुदेवको प्रकाश दिवस ! गुरुलाई आत्म शक्ति बढेको दिन, आफू भित्र पनि केही छ । आफैले आफैलाई चिनेको दिन ,जिम्मेवारी र कर्तव्य बोध भएको दिन तिनै गुरुदेवको ज्ञानलाई हामीले प्रकाश दिवस भनेका छौ । गुरुबाट गुरुत्व प्राप्त गर्नु भएकोले गुरुदेवले मानव हितको लागि आफ्नो जीवन अर्पन गर्नु भएको छ त्यसैले यस्तो व्यक्ति गुरुबाट हामीले ईश्वरीय भाव प्राप्त गर्न सक्छौ । ईश्वर प्राप्तिको अनुभूति हुन सक्छ ।
रमेश नेपाल र भानु शर्माको अथक प्रयास समर्पणबाट जीवन विज्ञानको स्थापना भएको थियो । विशुद्ध नेपालीपनको यस जीवन विज्ञानले नेपाल देखि अन्य ७० देशहरूमा योग ध्यान व्यायामका नियमित कार्यक्रमहरू नियमित सञ्चालन भइरहेको छ । यो सानो कुरा होइन । कसैले यो देशलाई युद्ध भूमि बनाए । राजनीति गर्ने थलो बनाए । देश र जनतालाई गरिब बनाए । अब गुरुदेवहरूको अठोट यो देशलाई शान्ति भूमि ,योग ध्यानको तपोभुमी , बनाउनु पर्छ भनेर लागि पर्नु भएको छ । जीवन विज्ञानले विश्वलाई योगमय बनाउन सक्छ , विश्व कीर्तिमानको इतिहास कायम गर्न सक्छ ।
भानु गुरुदेवले प्रकाश दिवसको कार्यक्रममा उदघोष गर्नुभयो, ‘संसार भरका मानिसहरूले योग ध्यानको बारेमा बुझ्ने छ । योग ध्यानको लाभ पाउने छ तब आफू खुसी हुनेछु । तपाईहरूले हामीलाई माला खादा नलगाई दिनु होला, पाउ स्पर्श नगरी दिनुहोला । खुट्टामा नढोगी दिन सबैमा अनुरोध गरेका थिए । जुन दिन आफ्नो कर्ममा सफल हुनेछु । त्यो बेलमा तपाईँहरूको सबै सम्मान ग्रहण गर्नेछौँ । गुरुहरू प्रति हार्दिक आभार व्यक्त गर्दछु ।’
मान्छे बाँचुन्जेल मानिस नै भएर बाँच्छन् ।
असल मान्छे मरे पछि भगवान् कहलिन्छ ।