योग साधना अभ्यासमा रहेका पत्रकार कोइरालाले भने, ‘यसका विषयमा बोल्ने शब्द छैन’

Image

काठमाडौं – वरिष्ठ पत्रकार तीर्थ कोइराला आजकल नियमित साधनामा छन् । पत्रकार कोइराला साधनालाई व्याख्या नै गर्न नसक्ने बताउँछन् । ओशोधारा नेपालद्वारा साउन २५ देखि २७ गतेसम्म आयोजना गरेको पाचौं तहको समाधि साधना कार्यक्रमको अन्तिम सत्र अर्थात् पृष्ठपोषणको सत्रमा उनले साधनाको विषयमा बोल्ने कुनै शब्द नभएको बताए ।

‘पहिलो तहको ध्यान साधना कार्यक्रम गर्दा ध्यान के हो ? ध्यानको अभ्यासले के हुन्छ जानेको र सुनेको अनि आफ्नो अनुभूतिलाई धेरै मिलाएर बोल्न जान्ने र बोल्न सक्ने ठानेको थिएँ, ’ उनले भने, ‘अध्यात्म यस्तो यात्रा रहेछ कि बाहिर जानेका र सुनेका कुरालाई बोलेर होइन भित्रको अनुभूतिमा बोधगम्य हुँदोरहेछ।’  साधनाको तह जति गहिरिदै गयो संसारी तह त्यति नै माथि माथि लाग्ने उनको अनुभव छ । ‘संसारमा पो बोलेर जित्नुछ, बोलेर प्रमाणित गर्नुछ, बोलेरै अगाडि आउनु छ, अध्यात्म आत्मिक साधना भएकोले म निशब्द छु, जे अनुभूति गरेको साधनाबाट त्यसलाई गहिराईसम्म पुग्न दिनेछु,’ उनले भने।
 
वर्षौंदेखि हाम्रा ऋषिमुनिले गर्दै आएको साधना विधिलाई सुमिरन योग, तथाता योग र शब्द योगको माध्यमबाट जीवनशैली रूपान्तरणको आयाम समेटिएको ओशोधारा नेपालले काठमाडौँ साधना केन्द्रमा आयोजना गरेको कार्यक्रमबाट सहभागीहरूले शब्द साधनाको माध्यमबाट शब्द गुरूको निर्देशनलाई आत्मसात गर्ने अवसर पाएको बताए।  कार्यक्रममा बैंकर, शिक्षक, विद्यार्थी, गृहिणी, सेवा निवृत्त कर्मचारी, व्यापारी लगायतले कार्यक्रममा सहभागी भएर लाभ लिएका थिए।

पृष्ठपोषणको क्रममा सबै साधकले आफ्नो अनुभूतिलाई शब्दमा व्यक्त गर्न नसकिने तर त्यसको आनन्दमा डुब्न सकेको बताएका थिए। कार्यक्रममा आचार्य डा. नम्रता पाण्डे, आचार्य डा. प्रद्युम्नराज पाण्डे, आचार्य पूजारी र आचार्य ई. अनन्त विष्टले विभिन्न साधना पद्धतिको माध्यमबाट साधकहरूलाई सहजीकरण गराएका थिए। चेतना जागरण, स्वध्याय र जीवनशैली रूपान्तरणका लागि ओशोधारा नेपालले महिनैपिच्छे विभिन्न कार्यक्रम र प्रत्येक विहान जुमको माध्यमबाट कार्यक्रम संचालन गर्दै आइरहेको छ।
कार्यक्रममा केहि झलकहरू–

 

Tags: