भेडेटारको कोसेली हरियो सागसब्जी

Image

धरान (सुनसरी) । धनकुटाको भेडेटारका प्रत्येक पसलहरूमा हरियो सागसब्जी र फलफूल विक्रीका लागि राखिएका छन् , जहाँ धनकुटा राजारानी, नाम्जे, थुम्की, मुलघाट, डाँडाबजारलगायतका पहाडी भेगमा उत्पादन हुने ‘अग्र्यानिक’ उत्पादन पाइन्छ ।    

अहिले दशैं मनाउन आउने र फर्कनेको भीड छ । यहाँ आइपुग्ने यात्रुहरुले कोसेलीका रूपमा भेडेटारको हरियो सागसब्जी किन्ने गरेका छन् । ग्राहकको भीड नै लागेपछि व्यापारीलाई विक्री गर्न भ्याइनभ्याइ छ ।   धनकुटाका मनिसा कुँवर भेडेटारमा सागसब्जी किन्दै गर्दा भेटिइन् । उनी धनकुटाबाट इटहरी टीका लगाउन जाँदै रहिछन् । उनको हातभरि हरियो साग, सिमी र किबी थियो । ‘इटहरी माइत टीका लगाउन हिँडेको ताजा सब्जी, फलफूल देखेपछि किन्न मन लाग्यो । पहाडी भेगको अग्र्यानिक सागसब्जी मधेसमा लाँदा त चीज हुन्छ, दशैंको बेला त कोसेली पो हुन्छ,’ मुसुक्क हाँस्दै उनले भनिन् ।    

दशैं तिहारमा मात्र भेडेटारमा हरियो र अग्र्यानिक सागसब्जी विक्री हुने भने हैन । पहाडी भेगबाट सिजनअनुसार सागसब्जी र फलफूल विक्रीका लागि यहाँ आइरहने व्यापारी कोपिला राई बताइन् । उनले भनिन्, ‘यहाँ भ्रमणमा आएका अधिकांशले फर्कने समयमा सागसब्जी कोसेलीका रूपमा लैजाने गर्नुहुन्छ । दशैंमा चाहीँ अन्य बेला भन्दा कोसेलीका लागि किन्नेको भीड अलि धेरै हुन्छ ।’     
     
व्यापारी विक्रम मगर अघिपछि भन्दा दशैं लागेपछि ग्राहकको भीड बढेको बताउँछन् । उनले भने, ‘अघिपछि सागसब्जी खरीद गर्छन् लैजान्छन्, कहाँको हो कसैले सोधपुछ गर्दैनन्, यहाँ सबै पहाडी भेगबाट सागसब्जी अग्र्यानिक र ताजा आउने गरेकाले दशैंको बेला पनि सागसब्जी किन्नेको भीड लागेको छ ।’ दशैं शुरू भएयता रू. दुई लाख बढीको सागसब्जी र किबी विक्री गरेको मगरले बताए ।    

मगरकाअनुसार यहाँ धनकुटा, नाम्जे, राजारानी मूलघाट, भोजपुरलगायतका ठाउँबाट हरियो सागसब्जी, अकबरे खोर्सानी, किबी टमाटर र आलु ल्याइने गरिन्छ । पहाडी भेगमा उत्पादित सागसब्जी स्वादिष्ट हुने भएकाले महँगो भए पनि खरीद गरेर लैजाने गरेका स्थानीय सुरज राई बताउँछन् ।  रासस   

 

Tags: