गैंडाकोट रोटरीबाट शैक्षिक सामग्री वितरण तथा वृक्षरोपण कार्यक्रम सम्पन्न

Image

काठमाडौं – ‘आफूभन्दा माथि सेवा’ मूल नाराका साथ मानवीय सेवामा समर्पित रोटरी क्लब अफ गैडाकोटबाट साउन २९ गतेका दिन गैडाकोट नगरपालिका वडा नं १ मा अवस्थित नवदुर्गा आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीकालागि शैक्षिक सामग्री वितरण गरिएको छ ।

रोटरी क्लब इन्टरनेशनल डिष्ट्रिक ३२९२ का गर्भनर राजेन्द्रमान शेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम रोटरी क्लब अफ गैंडाकोटका अध्यक्ष अधिवक्ता रमेश काफ्लेको अध्यक्षतामा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुर सापकोटा तथा रोटरीका पदाधिकारी र विद्यालयका शिक्षक अभिभावक र विद्यार्थीको उपस्थितिमा सम्पन्न भएको थियो ।

आर्थिक रूपमा विपन्न दलित तथा जनजाती समुदायका अधिक विद्यार्थी रहेको उक्त विद्यालयका ७५ जना विद्यार्थीलाई उक्त अवसरमा शैक्षिक सामग्री हस्तान्त्रण गरिएको थियो भने शैक्षिक सामग्री हस्तान्त्रणमा एसिष्टेन्ट गर्भनर अशोककुमार बस्नेतको मुख्य योगदान रहेको थियो । रोटरी क्लब अफ गैंडाकोटको शैक्षिक उन्नयन कार्यक्रमअन्तर्गत सो अवसरमा गैंडाकोट इंगलिश स्कुलका प्रिन्सिपल हिरालाल अर्याल तथा हरि चालिसे यम सप्लायर्सका सञ्चालक निवाश पौडेल तथा क्लब अध्यक्ष रमेश काफ्लेबाट एकएक जनाका दरमा चार जना विद्यार्थीको शैक्षिक अभिभावकत्व ग्रहण गरी एक शैक्षिक सत्रकालागि आवश्यक शैक्षिक सामग्री हस्तान्त्रण गरिएको थियो । विद्यालयका प्रधानाध्यापकले स्वागत भाषण गर्नुको साथै व्यवस्थापन समिति अध्यक्ष ठाकुर सापकोटाले विद्यालयको अवस्थाको बारेमा जानकारी गराएका थिए।

सोही अवसरमा विद्यालय परिसरमा रोटरियनहरुबाट बिभिन्न फलफूलहरुको १०० बिरुवा रोपी वृक्षरोपण कार्यक्रम समेत सम्पन्न भएको छ । क्लब २०१७ मा स्थापना भइ हालसम्मका कार्यक्रमको समीक्षा तथा आगामी कार्यक्रमको योजना निर्माणकालागि भुजेल गाउँ जगन्नाथ गाउँ लगायतका स्थानमा गई समुदायसँग भेटघाट छलफल अन्तरक्रिया र खानेपानी शौचालय निर्माण जस्ता सम्पन्न परियोजनाको स्थलगत अनुगमन समेत गरिएको थियो ।

 

Tags: