रवीन्द्रका केही मुक्तक
(१)
के हुन्छ होला ? कलम चलाउनेले लेख्न छाडेपछि
भ्रष्टचार,अन्याय अत्याचार विरुद्ध बोल्न छाडेपछि ।
यहाँ मानवता,ममता अनि आत्मीयता रहन्छ कहाँ ?
जब आफ्नै आमालाई सन्तानले चिन्न छाडेपछि ।।
(२)
खै बुझ्नै सकिएन के के हुन् यी मेरा रहरहरू
छिनमै आउँछन्, जान्छन् अनगिन्ती मनका लहरहरू ।
मनको अल्झाईमा अल्झिन्न भन्दा भन्दै पनि
कता कता बेहोसी मै बितिरहेछन् प्रत्येक प्रहरहरू ।।
(३)
बलवान ढुङ्गा पुजेर भक्ति देखाउँछ मान्छे
कोमल फूल कुल्चेर शक्ति देखाउँछ मान्छे ।
जीवनभर छुट्नै नसक्ने बन्धनमा बाँधेर
कति सजिलै मुखले मुक्ति देखाउँछ मान्छे ।।
(४)
अलि अलि प्रेम बोकेर आउँछौ किन तिमी
फेरिफेरि म हिँड्ने गल्ली धाउँछौ किन तिमी
हेर जीवन भरि साथ दिन त सक्दिन भन्छ्यौ
आखिर दुई दिने पिरती लाउँछौ किन तिमी ।