संसदमा भूमिहिनका आवाज उठाउने पूर्व कमलरी, माननीय आस्मा

Image

काठमाडौं – आस्माकुमारी चौधरी नेकपा एमालेबाट समानुपातिक तर्फबाट सांंसदमा चुनिएकी हुन् । २०४६ साल अगाडिदेखि नै भूमिगत राजनीति गरेकी आश्मा त्यो समयमै वर्गीय संगठनलाई संगठित गरेर अगाडि बढिन्। उनले एमाले समर्थित अनेमसंघको इलाका, जिल्ला हुँदै केन्द्रीय सदस्यसमेत बनिन्। सँगै उनले पार्टी राजनीतिलाई पनि अगाडि बढाइन्।

उनी आफूलाई समानुपातिकको सूचीमा परेको त थाहा थियो तर पार्टीले निर्वाचित नै गर्छ भन्ने लागेको थिएन, अन्तत उनी महिला तर्फ सिफारिस भइन्। उनलाई पार्टीले सांसदमा सिफारिस गरेपछि उनी उत्साहित भइन् । ‘म सांसद बनेपछि अब गाउँ समाजको लागि आफ्नो समुदायको लागि अब केही गर्छु भनेर हौसला मिल्यो, म एकदमै हर्षित पनि भएँ । पार्टीले मेरो योगदान गर्यो भन्ने कुराको पनि महसूस भयो । पहिलो पटक यति ठूलो अवसर पाउँदा म संसदमा कसरी प्रस्तुत हुने होला भन्ने पनि लाग्यो । विस्तारै अभ्यस्त हुन्दै गएँ।’

 

उनले सपथ ग्रहणका क्रममा आफ्नै थारु वेषभुषामै आफूलाई प्रस्तुत गरेकी थिइन् । ‘म थारु समुदायको प्रतिनिधित्व गर्ने भएपछि थारु पहिरनमै किन नजाने भन्ने भयो, शुरुमै थारु पहिरनमा सपथ लिन गएँ, त्यो बेला आफूलाई गर्विलो अनुभव पनि भएको थियो,’ उनले भनिन्। सपथपछि उनी त्यही पहिरनमा पहिलो पटक पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटिन्। उनले त्यो क्षणलाई स्मरण गरिन्, ‘साँच्चै त्यो बेला म अब धेरै काम गर्छु जस्तो लाग्यो, मेरो काँधमा जिल्लाका समस्या, समुदायका समस्या, देशकै समस्या छ, जस्तो पनि लाग्यो तर त्यस्तो केही रहेनछ।’

सांसद भएपछि उनीसँग केही योजना थिए। आफ्ना पार्टीका आदर्शलाई व्यवहारमार्फत उजागर गर्ने उनको चाहाना थियो । संसदमा आफ्ना विचारमार्फत ती योजना सार्वजनिक गर्छु भन्ने कुरा पहिलेदेखि नै लागेको हो तर सोचेजस्तो रहेनछ संसद । ‘चाहेरै पनि बोल्न सकिने पाउने अवस्था नहुँदो रहेछ, संसद भित्रका प्रावधान, बोल्ने पालो, पार्टीका निर्देशन देखि संसदको नियमितताले समेत हाम्रा चाहनामा तगारो बनेर आउँदो रहेछ,’ उनले अनुभव साटिन्।

तर पनि उनले संसदका नबोलिकी होइनन्, जति बोलिन् जनजीविकाका सवालमा बोलिन्। ‘संसदमा बोल्दा मैले सुकुम्बासीका सवाललाई उठाएको छु, म पूर्व कमलरी पनि हो, मैले सुुकुम्बासी, पूर्व कमलरीका समस्यालाई भोगेको, बुझेको छ, त्यसैले पनि मलाई संसदमा यी सवाललाई उठाउनुपर्छ जस्तो लाग्यो,’ उनले भनिन् । उनी अहिलेको संसदमा भूमिहिनका विषयमा सबैभन्दा बढी आफूले बोलेको दाबी गर्छिन । उनले भूमिहिनका विषयमा ३ पटक समय मागेर बोलेको स्मरण गर्छिन्।

उनको घरमा एमालेका तत्कालिन नेता बामदेव गौतम लगायत जान्थे, त्यही क्रममा श्रीमानको साथ पाएर पार्टीमा संगठित भइन् । ‘मलाई थारु समुदायलाई माथि उठाउनुपर्छ भन्ने मनमा थियो, म एकातिर कमलरीको अवस्थामा थिएँ, सँगसँगै राजनीति पनि अगाडि बढाएँ,’ उनले थपिन्।

उनलाई संसद पटक पटक अवरोध भएको देख्दा मन खिन्न भएको छ । उनी संसदमा प्रतिनिधित्व गर्ने सांसद जनताका प्रतिनिधि भएको कारण संसद अवरोध हुँदा जनताका आवाज दवित हुने उनको बुझाइ छ ।

 

Tags: