बराहक्षेत्र मन्दिर गूठीको करीब डेढ करोड आय, मन्दिरमा श्रद्धालुको छुटेको सुनको बाला, रकम फिर्ता गरिने

Image

सुनसरी( बराहक्षेत्र ) –बराहक्षेत्र मन्दिर गूठी  व्यवस्थापन समितिले बैसाख महिनामा लागेको एक महिने  पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा बराहक्षेत्र मन्दिरमा आएका श्रद्धालुबाट उठेको करीब १ करोड ४० लाख रुपैयाँको आम्दानी तथा खर्चको विवरण सार्वजनिक गरेको छ ।

चैत महिनाको २७ गते देखि बैसाखको २८ गते सम्म संचालन गरिएको मेला सकिएको महिना दिन नबित्दै   समितिले बराहक्षेत्र मन्दिर परिसरमा जेठ २० गत महाकुम्भ मेलाको समीक्षा कार्यक्रम गरी १ करोड ३९ लाख ८५ हजार ५ सय ५६ रुपैयाँ को आयव्यय  सार्वजनिक गरेको हो ।

कार्यक्रममा  आयव्यय प्रतिवेदन प्रस्तुत गर्दै गुठी समितिका कोषाध्यक्ष रवि कुमार श्रेष्ठले रसिद कटाई, गुप्त दान, पुराण मण्डप भेटी, चामल विक्री र बराहकुण्डमा चढाइएका सिक्का र नोटबाट उक्त आम्दानी भएको बताए ।

यसैगरी गेट निर्माण,आवास,खानेपानी, यातायात, स्वास्थ्य, सिसि क्यामेरा जडान, भोजन तथा भण्डारा  लगायत २३ शिर्षकमा गरी ४४ लाख ६६ हजार ५ सय ७ रुपैया खर्चको विवरण प्रस्तुत गरिएको थियो ।

गुठीले श्रद्धालुहरुको  बराहक्षेत्र मन्दिरमा छुटेका सुन को बाला, दस थान लेडिज पर्स र त्यस भित्र रहेको रकम समेत सार्वजनिक गरेको थियो । प्रस्तुत गरिएको सामाग्रीमा सुनको ब्रासलेट थान १, चकलेटी रंगको पर्समा रहेको ७ हजार रुपैयाँ , हल्का गुलावी पर्समा २ हजार ५ सय ८० रुपैयाँ, डार्क  ब्राउन पर्समा रहेको ३ हजार २ सय ९५ रुपैयाँ रहेका छन् ।

यसैगरी मखमली पर्समा २ सय ६५, रातो रंगको पर्समा ३ हजार ५०, सानो झोलामा रहेको पर्समा २ हजार ४ सय २०, र सेतो लेडिज पर्समा ७० रुपैयाँ  सार्वजनिक गरिएको थियो । गुठीले प्रस्तुत गरेको अन्य सामाग्रीमा फोन नं ०२१५४१८१९ भएको सोमनाथ गौतमको बिजुलीको बिल, सम्पर्क नंबर ९८४२२९८४४४र ९८४२१३८६८० रहेको बिमला र नारायण अधिकारी तथा देव कुमारी पोखरेलको मतदाता परिचय पत्र रहेको  छ ।

मन्दिरमा भेटाइएका रकम तथा सामग्रीको धनीले ६ महिनासम्म गूठी व्यवस्थापन समितिलाई सम्पर्क गरी लिन सकिने बराहक्षेत्र मन्दिर गूठी व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर श्रेष्ठले बताए ।

  समीक्षा कार्यक्रममा मेला अवधी भरि सेवा दिएका बराहक्षेत्र प्रहरी चौकिका इन्चार्ज प्रहरी सहायक निरीक्षक देवनारायण यादव, प्रहरी हवल्दार  रुद्र बहादुर राई, प्रहरी जवानहरू हेमराज र चन्द्रप्रसाद राई तथा टिकाराम थापा मगरलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा गुप्त बराह इटहरी प्रतिनिधिद्वय माधव र शालिग्राम काफ्ले र वराह प्रवचनालयका कोषाध्यक्ष सिद्धि प्रधान सम्मानित भएका थिए । उनिहरूलाई कार्यक्रमका प्रमुख अतिथि युवा कथावाचक, गुप्तवराह जिर्णोद्वार संकल्पकर्ता पंडित  योगेश बराहक्षेत्रले सम्मानपत्रले सम्मानित गरेका थिए ।

महाकुम्भको  समीक्षामा बोल्दै प्रमुख अतिथी पंडित योगेशले, धरतीको पहिलो तिर्थस्थल धार्मिक पर्यटकिय बराहक्षेत्रको विकासको लागि गुठी व्यवस्थापनको सक्रियताको प्रशंसा गरे  । बराहक्षेत्रमा गौशाला निर्माण र मन्दिरको पुजारीको  ड्रेस कोड भएको पोशाक को व्यवस्था गरिनुपर्ने र पूजा सामाग्रीमा तुलसीपत्रलाई अनिवार्य गरिनुपर्ने बताए ।

बराह भगवानको मन्दिर जाने बाटो नजिकै ओझेलमा रहेको गुप्त बराहको जिर्णोद्वार को लागि आर्थिक तथा भौतिक सहयोग गर्ने चन्दादातालाई आभार तथा धन्यवाद व्यक्त गरे । कार्यक्रममा बराहक्षेत्र मन्दिरका मुख्य पुजारी किरण भण्डारी, वरिष्ठ पत्रकार तथा कवि र साहित्यकार कृष्णविनोद लम्साल लगायतको उपस्थिति थियो । कार्यक्रमको संचालन श्याम पौडेलले गरेका थिए ।
कुम्भ मेला सकिएको एक महिना बित्न नपाउदै गूठी व्यवस्थापन समितिले आम्दानी तथा खर्चको हिसाब सार्वजनिक गरेको छ, तर मेलाको मुल आयोजक समितिले भने अहिलेसम्म आय व्यय देखाउन  सकेको छैन ।

 

Tags: