हयात् रिजेन्सी लुम्बिनी खुल्दै, २०२८ सम्ममा सञ्चालनमा आउने

Image

काठमाडौं – हयात् होटल्स कर्पोरेशनले देशको आगामी चौथो हयात् ब्रान्डेड सम्पत्ति हयात् रिजेन्सी लुम्बिनी विस्तार गर्ने योजनाको घोषणा गरेको छ। सन् २०२८ सम्ममा सञ्चालनमा आउने नयाँ होटलको सुपरिवेक्षणका लागि गोल्यान ग्रुप लिमिटेडको एक हिस्सा वेद हस्पिटालिटी प्राइभेट लिमिटेडसँग व्यवस्थापन सम्झौता भएको छ।

भगवान बुद्धको जन्मस्थलको रूपमा प्रख्यात युनेस्को विश्व सम्पदा स्थल, लुम्बिनी मायादेवी मन्दिर र अशोक स्तम्भ लगायतका ऐतिहासिक र आध्यात्मिक स्थल लुम्बिनीमा हरेक वर्ष धेरै आगन्तुक आउने गर्छन्। नयाँ होटल रणनीतिक रूपमा दानो नदीको किनारमा अवस्थित हुनेछ, जसले स्थानीय आकर्षण र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म सहज पहुँच प्रदान गर्ने बताइएको छ।

हयात्को विस्तारले यसको दक्षिण पश्चिम एसियाको विकास रणनीतिमा नेपाली बजारको बढ्दो महत्वलाई झल्काउने बताइएको छ। ‘हामी लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको आतिथ्यता ल्याउने लक्ष्य राख्छौं,’ भारत र दक्षिण पश्चिम एशियाका विकासका उपाध्यक्ष ध्रुव राठौरले भने।

हयात् रिजेन्सी लुम्बिनीले नेपालको आतिथ्य क्षेत्रलाई बढावा दिन, अन्तर्राष्ट्रिय पर्यटक र स्थानीय यात्रीहरू दुवैलाई सेवा प्रदान गर्दै देशको पर्यटन उद्योगमा योगदान पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

 

Tags: