कानूनी अज्ञानता : अक्षम्य

Image

दृष्टान्त– १
प्युठानका (परिवर्तित नाम) श्यामकुमारको काठमाडौंमा पासपोर्ट बनाउन आउँदा नागरिकता हरायो। उनले नागरिकता हरायो भनी जिल्ला प्रशासन कार्यालय प्युठानमा निवेदन दिए र प्रतिलिपि लिए। उनले सोचे, ‘मेरो नागरिकता अरुले भेट्याएर के नै पो गर्ला र, काम लाग्दैन, च्यात्छ फालिदिन्छ।’ तर अवस्था उनले सपनामा पनि नसोचेको भयो। उनको नागरिकता भेट्ने (परिवतर्तित नाम) हरिले उक्त नागरिकतामा रहेको फोटो च्यात्यो अनि आफ्नो फोटो टाँस्यो अनि सोही नागरिकताका आधारमा उसले बैंकमा खाता खोल्यो र सोही चेकको आधारमा लेनदेन कारोबार गर्यो।

सो हराएको नागरिकता दुरुपयोग भएको भन्ने कुरा श्याम कुमारलाई त्यतिबेला मात्र थाहा भयो जब उनको नाममा अदालतबाट लाखौं रुपैयाँ तिर्नुपर्ने व्यहोरासहितको लेनदेन मुद्दाको म्याद तामेल भयो।

दृष्टान्त –२
(परिवतर्तित नाम) कृष्णकुमार विदेशमा दुःख गरेर केही समयका लागि विदामा घर आएका थिए। सो समयमा गाउँकै साथीले अब धेरै विदेशमा काम गर्न भन्दा बचतको रकम वातावरणमैत्री विद्युतीय गाडि खरीद विक्रीसहितको कम्पनीमा लगानी गर्न भनी आग्रह गरे। शुरुमा कृष्णकुमारले यो कुरा पत्याएका थिएनन् तर साथीले विदेशबाट फर्केपछि विद्युतीय गाडि आफैले हाक्ने सपनासहित लगानी गर्नमा मन्जुर भए। उ

साथीले बोर्ड मेम्बर राख्छु भन्दै लगानीकर्ताको नामावलीसहित पर्पोजल पेश गरेपछि भविश्यका दिन सुनौलो बनाउने सपनाका साथ कम्पनीको विभिन्न कागजातमा हस्ताक्षर गरे । वैैदेशिक रोजगारीको ६ वर्षे कार्यकाल सकाई नेपालमै खोलेको कम्पनीमा केही गर्ने जोस जागरका साथ फर्केका उनी साथीको जालमा परे । सम्पर्क गर्दा साथी सम्पर्कमा थिएनन् तर उनलाई बैंकबाट बारम्बार रकम भुक्तानीका लागि भनी पत्र काटेको कुरा श्रीमतीबाट जानकारी पाए। उनी त्यतिबेला छाँगाबाट खसे जस्तो भए जब साथीले उनलाई कम्पनीको पैसा निकासको लागि जमानीपत्रमा हस्ताक्षर बनाएको रहेछ । अन्य लगानीकर्ता त झुटा कागजात मात्र रहेछन्।

दृष्टान्त–३
 काठमाडौंमा डेरा गरेर कलेज पढ्दै गरेकी करीब २०–२१ वर्षकी (परिवर्तित नाम) कमला रोकाया कामको खोजीमा थिइन्। व्यवस्थापन पढ्दै गरेकी उनले एकदिन अनलाइन विज्ञापनमा एउटा सहकारीले लेखापाल पदका लागि विज्ञापन गरेको देखिन्। जागिरको खोजीमा भौतारिरहेकी कमलाले तुरुन्तै अनलाइन विज्ञापनमा रहेको मोबाइलमा फोन गरिन् र सोही बमोजिम संस्थामा पुगिन्। नागरिकता जमानी राखेपछि मात्र जागिर पक्का हुने भएपछि मख्ख पर्दै तुरुन्तै आफ्नो नागरिकता जमानी राखी सो जागिरको सुरुआत गरिन्। लेखापालको जागिरमा मख्ख उनी सहकारीका बोर्ड मेम्बरले जे भन्थे सोही बमोजिम काम गर्न थालिन्। तलबभन्दा बढी कमाई हुन थालेपछि रहर बढाउँदै लगिन् अनि उनीहरूले जे भन्यो त्यही कागजमा हस्ताक्षर गर्दै गइन्।। उनलाई कहाँ र के कारण हस्ताक्षर गरें भन्ने पनि थाहा थिएन। एकदिन अफिस जाँदा उनले मानिसको भीड देखेपछि पत्तो पाइन् उनले काम गर्ने सहकारीका बोर्ड मेम्बरहरू बेपत्ता भइसकेका रहेछन् भने सहकारीको आधा दायित्वमा उनको सहमतिसहितको हस्ताक्षर भेटियो। उनको उक्त सहकारी नोक्सानी मा करीब ५० प्रतिशत दायित्व देखियो।

हेर्दा सामान्य लाग्ने यी घटनाक्रमको तथ्यमा फरक भएतापनि यी तिनैजना कही कतै अन्जानका कारण दोषी बनेका छन्, कसूरदार ठहरिएका छन्। जसबाट उनिहरू आर्थिक क्षती सँगसँगै शारीरिक र मानसिक पीडामा प्रताडित समेत भएका छन्।

माथि घटेका वारदातअनुसार कानूनी व्यवस्था सहित तीनओटै घटनाक्रम नियाल्दा ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्टर्सन) सम्बन्धी कसूरसँग सम्बन्धित देखिन्छ।

मुलुकी अपराध संहिता, २०७४ को भाग २ को परिच्छेद २१ मा ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्टर्सन) सम्बन्धी विभिन्न कसूरजन्य कार्यलाई आपराधिक गरी कसूर गर्ने व्यक्तिलाई सजायको व्यवस्था गरिएको छ। उक्त परिच्छेदमा उल्लिखित कसूरहरु मध्ये दफा २४९ र २५२ को उपदफा (३) को खण्ड (क) दफा २५३ को उपदफा (३) को खण्ड (क) (ख) मा उल्लिखित कसूर गर्ने कसूरदारलाई न्यायिक स्वविवेकमा सजाय निर्धारण गर्नुपर्ने गरी सजायको माथिल्लो हदको व्यवस्था गरिएको छ।

सोही परिच्छेदको दफा २५१ र २५२ को उपदफा (३) को खण्ड (छ) र दफा २५३ को उपदफा (३) को खण्ड (ग) मा उल्लिखित कसूर गर्ने कसूरदारलाई ३ वर्षसम्म कैद तथा ३० हजारसम्म जरीवाना हुने व्यवस्था गरिएको छ। साथै ठगी आपराधिक विश्वासघात लाभ (एक्टर्सन) सम्बन्धी कसूर गर्ने कसूरदारलाई अपराध संहिताको परिच्छेद २१ मा तथा प्रचलित कानून बमोजिम थप सजाय हुने व्यवस्था समेत गरेको छ।

विधिशास्त्रिय एउटा नियम छ, ‘कानूनको अज्ञानता क्षम्य हुँदैन’ 'Ignorance of law is no excuse' आफूले कानून जानेको छैन भनी आफ्नो दायित्वबाट व्यक्तिले मुक्ति पाउँदैन भन्ने विधिशास्त्रीय नियम हो। साक्षर रहेका हामी राज्यको संविधान तथा सामान्य कानूनको जानकार थिएनौं भनी न्यायिक निकायमा वयान दिएतापनि आफ्नो वयानलाई समर्थन गर्ने अन्य वस्तुनिष्ठ प्रमाणको अभाव रहेको अवस्थामा र आफूलाई निर्दोष सावित गर्न नसकेको अवस्थामा आफूले गरेको कार्यको दायित्व कसूरदारमा रहनु तथा कसूरदार ठहरिनु कानूनको सामान्य नियम नै हो।

यसरी कानूनी व्यवस्था समेतलाई हेर्दा, ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी आफूले जान अन्जानमा अरुलाई गरेको पनि देखिन्छ भने आफू अरुबाट यस अपराधबाट पीडित भएकोले अरुले आफूलाई ठग्नुभन्दा पहिलो आफू सो कसूर सम्बन्धमा जानकार रहेमा यस्ता प्रकृतिका कसुरबाट बच्न सकिन्छ ।

तसर्थ, कानूनको साधारण ज्ञान सबै नागरिकमा हुनु जरूरी एकातर्फ छ भने अर्को तर्फ दैनिक आफूले गरेका कार्य वैधानिक तथा अवैधानिक वा कानून सम्मत र गैरकानूनी छन् या छैनन् भन्ने कुरामा प्रत्येक नागरिक सचेत र सजग हुन अपरिहार्य बनेको छ।

लेनदेन गर्दा लिखित रूपमा गर्ने, गरेको लिखत स्थानीय तहमा प्रमाणित गराउने, कुनै पनि बैंकको चेक वा अन्य आफ्ना कुनैपनि महत्वपूर्ण कागजात हराएमा नजिकैको प्रहरी प्रशासनमा जानकारी गराउनुपर्ने तथा सामाजिक संजाल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी जस्ता सामान्य कार्यमा हामी सचेत र सजग रहन सकेमा भवितब्यबाट सिर्जित विभिन्न व्यवधानबाट बच्न सकिन्छ।

हामी नेपालीहरू आफूपनि विश्वासिलो रहेकोमा गर्व गर्ने तथा अन्य मानिसलाई पनि तुरुन्तै विश्वास गरी लगानीगर्दा सो लगानी कहाँ र कस्तो कानूनी वा गैरकानूनी के छ सो सम्बन्धमा राम्रोसँग बुझेर मात्र लगानी गर्नुपर्दछ। त्यस्तै गरी विशेष गरी कसैले आफूलाई के र कुन कारणले काम लगाउँदैछ र उसको आफूमाथिको स्वार्थ बुझ्न अत्यावश्यक देखिन्छ। सजग रहौं सचेत नागरिक बन्ने कोसिस गरौं।
–लेखक, उच्च अदालत पाटनमा इजलास अधिकृत छिन्

 

 

Tags: