कृषि विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

Image

धनगढी ।  कृषि विकास बैंक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीको आयोजनामा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धनगढी उपमहानगरपालिकालाई भाद्र ९ गते एक कार्यक्रमको आयोजना गरी रू. पाँच लाख बराबरको आर्थिक सहयोग रकमको चेक हस्तान्तरण गरिएको छ । 

सो आर्थिक सहयोगबाट धनगढी उपमहानगरपालिका अन्तर्गतका विभिन्न सरकारी विद्यालयहरुमा अध्ययनरत झण्डै एक सय जति विपन्न बालबालिकाहरुलाई स्कुल ब्याग लगायतका विविध शैक्षिक सामग्री खरिद गरिनेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सो सहयोग रकमको चेक धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई हस्तान्तरण गरेका थिए । आर्थिक सहयोग रकम हस्तान्तरण कार्यक्रममा बैंकका उपमहाप्रबन्धकद्वय यज्ञप्रकाश न्यौपाने र प्रेमकुमार श्रेष्ठ, वित्त तथा योजना विभागका विभागीय प्रमुख नारायणप्रसाद आचार्य, सुदूरपश्चिम प्रदेश कार्यालयकातर्फबाट निर्देशक प्रदिपराज जोशी एवम् शाखा प्रमुख दीर्घ बहादुर शाह, धनगढी शाखाका प्रबन्धक मुकेश केसी लगायतका अन्य विशिष्ट व्यक्तित्वको उपस्थिति थियो । 

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गुरुङले व्यावसायिक गतिविधि सँगसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा संस्कृतिक संरक्षणसम्बन्धी परोपकारी कार्य गर्दै आइरहेको र आगामी दिनमा सम्पूर्ण बैंकिङ सुविधासहितको घर आँगनको बैंकको रुपमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै साझा सम्वृद्धिका लागि सबैको रोजाईको बैंक बन्ने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रममा मेयर गोपाल हमालले कृषि विकास बैंकलाई यस सामाजिक सहयोगको निम्ति धन्यवाद व्यक्त गरे ।
 

Tags: