वैदेशिक अध्ययनमा जान विद्यार्थी नेपालका पर्यटन दूत हुन : अध्यक्ष भट्टराई
काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)का अध्यक्ष शेषराज भट्टराईले शैक्षिक परामर्श व्यवसायको दिगो विकासका लागि सरकार र संघको साझा प्रयासको महत्वलाई जोड दिए। उनले भने, “शैक्षिक परामर्श व्यवसायले नेपालका विद्यार्थीहरूको अन्तर्राष्ट्रिय शिक्षा अवसरमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ र यसको व्यवस्थित विकासका लागि राज्यको सहयोग अत्यन्त आवश्यक छ। सरकारले यस क्षेत्रको संरचनात्मक सुधार र नीतिगत मार्गदर्शन प्रदान गरेर यसलाई दिगो र व्यावसायिक रूपमा सञ्चालन गर्न योगदान दिनुपर्नेछ।’
शनिवार काठमाडौंमा सम्पन्न इक्यानको १९औं वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष भट्टराईले थपे, ‘विद्यार्थीहरू अहिले नेपालको पर्यटन दूतका रूपमा कार्य गर्दैछन्। उनीहरूको अन्तर्राष्ट्रिय शैक्षिक यात्रा केवल व्यक्तिगत विकासको एक मार्ग होइन, त्यो नेपालका लागि एक ठूलो अवसर पनि हो जसले हाम्रो देशको प्रतिष्ठा र अन्तर्राष्ट्रिय सम्बन्धलाई थप सुदृढ बनाउँछ।’ यस्ता विद्यार्थीहरू बाहिर रहेका बेला तिनीहरू नेपालको संस्कृतिको, इतिहासको र शैक्षिक क्षेत्रमा हाम्रो समृद्धिको प्रतिनिधित्व गर्ने उनको भनाइ थियो।
‘शैक्षिक परामर्श व्यवसायको महत्त्वलाई हामी सबैले बुझ्नुपर्छ र यसलाई अझ प्रभावकारी बनाउनका लागि निरन्तर सुधार र पहल गर्दै जानुपर्छ,’ उनले भने, ‘शैक्षिक परामर्श व्यवसाय केवल एउटा व्यापार होइन, यो देशको भविष्य निर्माणका लागि ठूलो योगदान पु¥याउने एक आधार हो। यसले युवा पुस्तालाई नयाँ अवसर र चुनौतीहरूको सामना गर्न सक्षम बनाउँछ। हामी सबैको जिम्मेवारी हो यस क्षेत्रलाई व्यवस्थित र गुणस्तरीय बनाउने, ताकी विद्यार्थीलाई सही मार्गदर्शन मिलोस् र उनीहरूको भविष्य उज्ज्वल होस्।’
साझा प्रयासले मात्रै यस क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सक्ने उनको भनाइ थियो । इक्यानले आगामी दिनमा शैक्षिक परामर्श क्षेत्रको गुणस्तर र प्रभावकारितामा सुधार ल्याउने लक्ष्य राखेर काम गर्दै जाने बताए । ‘ हामीले अझै धेरै चुनौतीहरूको सामना गर्नु पर्छ, तर हामी सबैको मिलिजुली प्रयासले नै यस व्यवसायलाई नयाँ उचाइमा पुर्याउन मद्दत पु¥याउने छ,’ अध्यक्ष भट्टराईले भने।