चतराधाममा महाकुम्भ मेला, बराहक्षेत्रलाई धार्मिक पर्यटन क्षेत्र घोषणा गर !

Image

सनातनी हिन्दुहरूको पवित्र चार  तीर्थस्थल मध्य एक पूर्वी नेपालको धार्मिक पर्यटकीय नगरी बराहक्षेत्रमा अहिले एकमहिने बाह्रवर्षे पूर्ण पिण्डेश्वर महाकुम्भ मेला लागिरहेको छ । धार्मिक, आध्यात्मिक र पवित्रताको संगम मेलाको मुख्य आकर्षक नदीमा गरिने पावन स्नानले व्यक्तिले मोक्ष प्राप्त गर्ने, पाप कर्म नष्ट हुने, सत्कर्म गर्ने प्रेरणा मिल्ने एवं आत्मोन्नति हुने जनविश्वास छ ।

प्रत्येक ६ वर्षमा अर्ध र बाह्र वर्षमा लाग्ने पूर्ण मेलामा व्यक्तिगत र सामूहिक पूजा स्नान, होम यज्ञ मा प्रयोग गरिने विभिन्न औषधिजन्य समिधा (लकडी ) र पूजा सामग्रीले गर्दा प्राकृतिक वातावरणीय शुद्धीकरणमा समेत सहयोग गर्छ। अर्को तर्फ यसले विश्व वन्धुत्लाई एक सुत्रमा बाध्ने वैदिक ‘वसुधैव कुटुम्बकम’ अर्थात सम्पूर्ण विश्व एक परिवारको हिन्दु मान्यतालाई आत्मसात गरी संसारमा आपसी भाइचारा र सद्भावको पवित्र सन्देशलाई प्रवाह गर्छ ।

मेलाले स्थान विशेषको पर्यटनलाई बढावा दिनुका साथै आर्थिक विकास समेत महत्त्वपूर्ण योगदान दिने गर्दछ। बाह्रै महिना श्रद्धालुहरूको आगमन भइरहने प्रसिद्ध  तीर्थस्थल बराहक्षेत्रमा रहेको नेपालको पहिलो कुम्भ स्थलमा आयोजना हुने धार्मिक महासंगम महोत्सवले यस क्षेत्रको धार्मिक पर्यटनलाई थप उचाईमा पु¥याएको छ ।

यस्ता धार्मिक आयोजनाले व्यक्तिको आध्यात्मिक विकासदेखि समाज र देश हुँदै विश्वमा सकारात्मक भावनाको प्रवाह गर्छ, भने नैतिक सदाचारी समृद्ध जीवनको सम्पूर्णतालाई व्यापकता प्रदान गर्दछ । यस अर्थमा लाखौं देश विदेशका दर्शनार्थी भेला हुने चतराधामको प्रयास, बराहक्षेत्रको धार्मिक र सांस्कृतिक महत्ता र आध्यात्मिक उत्थानको योगदानलाई रचनात्मक रूपमा लिइनुपर्छ ।

उजाड बगरलाई धार्मिक गन्तव्य बनाउने जगतगुरु

झापाको बुधवारेको हँडियामा २०३३ मंसिर २७ गते जन्मेका जगद्गुरुले २५ वर्षको कलिलो उमेरमै सुनसरीको बराहक्षेत्रस्थित चतराधामलाई प्राचीन हरिद्वार भएको कुरा सिद्ध गर्दै उक्त ठाँउमा नेपालमा पहिलो पटक र विश्वको पाँचौं कुम्भमेलाको सफल आयोजना गराए । भारतको काशी लगायत विश्वका विशिष्ट धर्माचार्य एवं आधिकारिक वैदिक सतसम्प्रदायका जगदगुरुहरूका बीचमा शास्त्रार्थ गराई उक्त कुम्भलाई अनुमोदनका साथै स्थापित गराउन सफल गराए ।

वैदिक सनातन धर्मका सयौं विशिष्ट विद्वानहरूको १४० वर्ष पुरानो आधिकारिक संस्था “काशी पण्डित सभा” को विसं २०६७ वैशाख १ गते (सन् २०१० अप्रिल १४)को दिन औपचारिक निर्णयबाट ३३ वर्षको उमेरमा उनी जगद्गुरुको उपाधिद्वारा विभूषित भएका हुन् । पिता डिल्लीराम र माता तुलसादेवी भट्टराईका ५ दाजुभाई र २ दिदिबहिनी मध्ये चौथो पुत्रको रूपमा जन्मेका महेन्द्रप्रसाद भट्टराई नौ वर्षको कलिलो उमेरमा भागवत पुराण सुनेपछि अध्यात्मिक यात्रातर्फ आकर्षित भएका थिए ।

वृन्दावनबाट आएका पर्शुराम देवाचार्य महाराजको प्रेरणाले औपचारिक पढाईलाई बीचमै छाडेर सनातनी वैदिक धर्म, ज्ञान संस्कार तथा संस्कृति र दर्शनको तिर्खा मेट्न भारतको वृन्दावन गएका उनको लगन र सेवाबाट प्रभावित भएका गुरुहरूबाट ‘मोहनशरण’ गुरु नाम पाएर निम्बार्क सम्प्रदाय बाट दिक्षित भए ।

केही समयपछि  ‘बालसन्त’ उपाधीले समेत सम्मानित भएपछि उनी नेपालको धार्मिक क्षेत्रको अध्ययन अनुसन्धान र अन्वेषणमा निरन्तर लागि रहे । मेचीदेखि महाकालीसम्म लुप्त अवस्थामा रहेका धार्मिक, पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक एवम् पर्यटकीय क्षेत्रको अवलोकन र पहिचान गरी सो कुरा सम्पूर्ण नेपालीलाई बोध गराएर राष्ट्र र राष्ट्रियताप्रति गौरवान्वित बनाउने अभियानमा लागेका उनले नेपाल भित्र प्राप्त भएका भगवान शिवका १२ ज्योतिर्लिङ्गहरूको उत्खनन गरी पुनस्र्थापना र प्रवद्र्धन गर्ने कार्यलाई अगाडि बढाए ।

कञ्चनपुरको भम्केनीधाममा ७५ फिटको नेपाल आमा को अष्ठधातुको मुर्ति बनाउन लागेका उनले चतराधाममा नेपालकै पहिलो कुम्भ मेलाको सफल आयोजना गराउने जगद्गुरु नेपाली पहिलो कुम्भका सर्जक हुन् । २०५९ सालमा लागेको पहिलो कुम्भदेखि अहिलेसम्म २ पूर्ण र २ अर्ध कुम्भ मेला लागिसकेको छ ।

चतराधाममा अहिले पाँचांै संस्करण तथा तेस्रो पूर्ण कुम्भमेला लागेको छ । मेला चैत २७ गतेदेखि लागेको एक महिना लामो मेलाको समापन वैशाख २७ गते हुनेछ । गोपाल महायज्ञबाट शुरु भएर नेपालको प्रथम कुम्भमेला स्थलको रूपमा स्थापित बनेको चतराधाम अहिलेपनि सरकारी औपचारिक पहिचानको लागि संघर्ष गरिरहेको छ । धार्मिक पर्यटकीय बराहक्षेत्रमा लाग्ने कुम्भमेला अन्य मेला जस्तो सामान्य होइन, यो धार्मिक र आध्यात्मिक आत्मोनन्ति संगमको जमघट हो ।

मेलामा महिना दिनभरी नै विभिन्न सन्त महन्त र गुरुहरूले प्रवचन, धर्म चर्चा परिचर्चा लगायत विविध धार्मिक कार्य अनुष्ठान गर्ने गर्दछन् । सोही अवसरमा आएका दर्शानार्थी भक्तहरूले आफ्नो सन्तानको केश मुन्डन, व्रतबन्ध, उपनयन कार्य समेत गर्दछन् । यस प्रकारको मेला आयोजना गर्न ठूलो बजेट, पर्याप्त समय र जनशक्ति, योजनावद्ध तयारी र सशक्त चुस्त व्यवस्थापनको आवश्यक हुन्छ । यसको अभावमा श्रद्धापूर्वक देश विदेशबाट आउने लाखौं दर्शनार्थीमा यसको लोकप्रियता तथा आस्थामा कमी आउन सक्छ ।

बराहक्षेत्रको विकास भर्सेस राजनीतिक पर्यटन

बराहक्षेत्र नगरपालिका को वडा नंबर १ स्थित कुनै समय सप्तकोशीको उजाड र निर्जन नदी किनारको बगर अहिले सम्मानजनक चतराधाममा रुपान्तरण भएको छ । गोपाल महायज्ञबाट शुरु भएको चतराधाम लाग्ने गरेको कुम्भ अहिले २१ वर्षको युवा भएको छ । बराहक्षेत्र महोत्सवमा प्रधानमन्त्री, राष्ट्रपतिदेखि लिएर दर्जनौं संघीय सरकार पूर्व तथा निवर्तमान मन्त्री, सांसद नेताहरू प्रमुख अतिथीको रूपमा आइसकेका छन् ।

पूर्वप्रधानमन्त्रीहरूमा गिरिजाप्रसाद कोइरालााट शुरु भएको चतराधामको भ्रमण पाँचौं महाकुम्भमा आइपुग्दा पूर्वप्रधानमन्त्री  सुशील कोइराला, शेरबहादुर देउवा,  झलनाथ खनाल, माधवकुमार नेपाल, केपी शर्मा ओली र हालका प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत समेत आएका छन् । पूर्व राष्ट्रपतिहरू रामवरण यादव, विद्यादेवी भण्डारी चतराधाम आइसकेका छन्। वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले यसपालीको महाकुम्भ मेलाको उद्घाटन गरेका थिए ।

नेपाल सरकारका अन्य मन्त्री, सांसद, उच्च पदस्थ अधिकारी, सुरक्षा निकायत सहित आउनेको फेहरिस्त लामो छ । धार्मिक पर्यटकीय बराहक्षेत्रमा हुने धार्मिक आयोजनामा संघ मात्र होइन, कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री शेरधन राई,र सिटिङ सिएम केदार कार्की लगायत आएका छन् ।

यस अगाडि चतरामा लागेको योग दिवस कार्यक्रममा प्रदेश सरकारको जम्बो टोली नै आइसकेको छ ।

यस्तै यस अगाडीको कुम्भमा मेलामा नेपाल लगायत छिमेकी भारत, अमेरिका, अस्ट्रेलिया, नर्वे जस्ता युरोपेली मुलुकबाट आएका लाखौं सनातनी भक्तालु र साधुसन्त को सहभागिता रहेको थियो । अघिल्लो कुम्भ जस्तै यस पटक पनि त्यो निरंतरता दोहोरिएको छ । पूर्ण पिण्डेश्वर कुम्भ मेलाको प्रत्येक दिन हाईप्रोफाइल कुनै न कुनै मन्त्री, सांसद  गेष्टको अनिवार्य आतिथ्यता रहेको छ ।

छिमेकी भारतको अयोध्या हरियाणा, पश्चिम वंगाल, झारखन्ड, सिक्किम अमेरिका, अस्ट्रेलिया र नर्वे  हजारौं साधु सन्त र दर्शनार्थी आएका छन् । कुम्भसँगै रामानन्दाचार्य सेवापिठ लगाएको संकटमोहन हनुमद महायज्ञमा भारतको बागेश्वर धाम सरकार प्रमुख युवा धिरेन्द्र कृष्ण शास्त्रीले समेत ५ दिनको प्रवचन गरेका छन् । हिन्दु धर्मावलम्बीको चारक्षेत्र मध्य एक धार्मिक, प्राकृतिक, सांस्कृतिक, साहसिक खेल, कृषि र जल पर्यटनले समृद्ध चतराधामको महाकुम्भ मेलाले देश विदेश मा जनस्वीकार्यता पाएको छ । भने लोकप्रियता दिनानुदिन बढ्दो छ ।

तर बराहक्षेत्रको धार्मिक पर्यटनको विकासमा यसको प्रचारप्रसार र प्रवर्द्धनमा यहाँ आउने नेपाल सरकार का प्रधानमन्त्री र रास्ट्रपति देखि लिएर नेताहरूले यस क्षेत्रलाई राजनीतिक भ्रमण भन्दा बढी महत्त्व दिएको देखिँदैन । आएका उनीहरू बराहक्षेत्रको विकासमा नाममा बाँढेका आश्वासनभन्दा बढी केही छैन । समर्गमा विकास र प्रचार प्रसारमा न केन्द्रको नत प्रदेश सरकारको नै योजना,पहल र नितिगत स्पष्टता देखिन सकेको छ । यस कुराको पुष्टि महाकुम्भको उद्धाटन कुम्भका संरक्षक जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजले गरेको करुण निवेदनले स्पष्ट हुन्छ ।

उनले भनेका छन्, ‘राष्ट्रपति ज्यू म गरीब छु, सधैभरि कुम्भ लगाउन सक्दिन, नेपालको सम्पत्तीलाई सरकारले जिम्मा लियोस ।’जगद्गुरुले चतराधाम आएका सबै राजनितिक दलका नेतादेखि लिएर संघ र प्रदेशका सरकारसँगको कार्यक्रम अथवा प्रत्क्षय भेटमा चतराधामको विकास लागि अनुरोध गरिरहेका हुन्छन् ।

कुम्भको उद्घाटनमा आएका रास्ट्रपति रामचन्द्र पौडेलले कुम्भ नेपालको गौरव भन्दै यसको विकासमा तीन तहको सरकारले नै पहल गर्नुपर्ने बताए । तर म प्रयास गर्छु अथवा मेरो पहल हुनेछ, भन्नेमा कन्जुस्याइँ गरे । उनले पनि यस अघि आएका नेताको जस्तै बराहक्षेत्रको महिमा अति विशिष्ट भएको र यसको विकास यसरी गर्नुपर्छ भन्ने मै सीमित रह्यो ।

विदेशले समेत स्वीकार गरिसकेको नेपाली कुम्भ, यसको महत्व, विकास, योजना र प्रचार प्रसार चुकेको केन्द्रीय सरकारले प्रसिद्ध बराहक्षेत्र चतराधाममा गर्ने नियमित राजनीतिक पर्यटन वाहेक केही गर्न सकेको छैनन् । प्रदेश सरकारको पनि लाचारी पनि संघीय सरकार जस्तै छ ।

काठमाडौको पशुपति क्षेत्र  विकास कोषको जस्तै गरी बराहक्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको घोषणा गरिनुपर्छ। पशुपतिको जस्तै बराहक्षेत्रको गरिमा र प्रतिष्ठालाई सुव्यवस्थित र विकसित गर्न भंग नहुने उत्तराधिकारवाला स्वायत्त संस्थाको रूपमा विकास गर्नुपर्छ ।

यसको लागि कोशी प्रदेश सरकारले तत्काल पहल गरिनुपर्छ । विशेषगरी  बराहक्षेत्रको नगरपालिका, राजनीतिक दल, संघसंस्था, नेता सकारात्मक हातेमालो गर्नुपर्ने हुन्छ । हिन्दुहरूको पावन चार क्षेत्र मध्य एक बराहक्षेत्र, सुर्यकुन्ड, आदिवराह, गुप्तवराह, भवानी थान, प्राचीन हरिद्वार चतराधाम, रामानन्दाचार्य सेवापिठ, औलिया वावा, भुवराह रामानुज, बुद्ध विहार लगायत दर्जनौं मठ मन्दिरहरू करीब २ सय २३ किलोमिटरको बृहत्तर बराहक्षेत्र भित्र रहेका छन्। नगरको सबै तिर्थस्थललाई समेटेर वैश्विक लोकप्रियता कमाएको कुम्भको माध्यमबाट  बराहक्षेत्रको धार्मिक पर्यटन फडको मार्ने प्रचुर  सम्भावना रहेको छ   ।

महाकुम्भ मेलामा संघीय सरकारको उदासिनता

कुम्भमेला लागेको महिना बित्नै लाग्दा समेत केन्द्र र प्रदेश सरकारले कुम्भको लागि आर्थिक सहयोग नपाउंदा आयोजकले प्रेस विज्ञप्तिजारी नै गर्नुपरेको थियो । प्रधानमन्त्रीको सचिव अर्जुन पोखरेलको संयोजकत्वमा महाकुम्भ मेला आयोजना गरिने बताइएको थियो । कुम्भको बजेट लगायत यसको आयोजना र व्यवस्थापन केन्द्रीय सरकारले गर्ने भनिएको थियो । तर  मेला शुरु हुनु पूर्व नेपाल सरकारमा सत्तासिन नेपाली कांग्रेस र नेकपा माओवादी केद्रको  गठवन्धन टुटेसँगै नयाँ बनेको समीकरणको मार कुम्भ मेलालाई प्रत्यक्ष्य असरपर्ने देखिएको छ  । कुम्भ  मेला सकिनै लाग्दासमेत सहयोग आउने छाँटकाट देखिएको छैन ।
चतराधाममा आउने संघीय र प्रदेश सरकारको अतिथीहरूको लिष्ट लामो छ । उनिहरूको मनमोहक  भ्रमण र आश्वासन माथी भरोसा गर्ने हो भने नेपालको धार्मिक मानचित्रमा प्रमुखकता राख्ने  तथा वैश्विक पहिचान बनाएको यस क्षेत्रको भौतिक विकास र पर्यटनको घोडा दौडिरहेको हुन्थ्यो  । तर अहिले सम्म त्यसो हुन सकेको छैन । चतरा आउने सरकार प्रमुख र महामहिमले मंचको शोभा बढाउने  बाहेक चतराले पाएको ठोस उपलब्धि अथवा धार्मिक पर्यटकिय बराहक्षेत्रको विकासको लागि दीर्घकालीन कक्रिट ब्लुप्रिन्ट बन्न सकेको छैन ।

अनुभवी  आयोजक र फितलो  मेला व्यवस्थापन

मेलाको व्यवस्थापनमा कमि कमजोरी भएका छन् । मेला आयोजकमा एक हजार बढी आयोजक सदस्य, दुई दर्जन बढी विभिन्न समितिहरू बनाइएका छन । तर मेलाको कमि कमजोरी हटाउन चासो दिएको देखिएन । सोध्यो भने मलाई थाहा भएन भन्ने र एकले अर्कालाई दोष लगाउने बढी भेटिए ।

अर्कोतिर आयोजक  समितिमा ठूलो पद नै चाहिने  गरिएको हानथाप, गुटवाजी र  सिफारिसको राजनीतिले गर्दा मेलाको व्यवस्थापन फितलो देखियो ।

जगद्गुरु पिठ नजिकै रहेको  कोशी नदीमा स्नान गर्न जाने दुई बाटो भए पनि एक स्थानमा मात्र नुहाउन जाने वाटोमा दिशानिर्देश बताउने सूचना राखिएको थियो । नजिकै  अर्को स्नान घाट रहेको भएपनी जानकारी नहुँदा कतिपयले नदि सम्झेर चतरा नहरमा नुहाएका थिए । ठाउँ ठाउँमा सुचना केन्द्र, माइकिङ अथवा हेल्फ डेस्क नहुँदा जल चढाउन जानेले मुख्य मन्दिर कुन हो,  जाने बाटो कुन हो, कुरामा श्रद्धालुहरूले अन्योलमा परेका थिए ।

कुम्भमेला प्रवेश गर्ने बयरबन बजारको गौरिपुलदेखि तोरीबारी खानेपानी उपभोक्ता समितिको कार्यालयसम्म कुनै सडक बत्ती राखिएको छैन । रातको समयमा पैदलयात्री र सवारीसाधन जोखिम मोलेर हिडेको देखिन्थ्यो । सप्तकौशीकी महाआरती स्नानघाट रहेको महिलाले कपडा फेरने कोठाहरू भित्र पस्न नसकिने गरि फोहोर र दुर्गन्धित रहेका छन् ।

मुख्य मन्दिर कुन हो, स्नान गर्न कहाँ जाने, कसरी गर्ने हो, पूजा गर्ने, संकल्प गराउने पडितजी को हो ? जस्ता कुम्भ नुहाउन आएकाहरू अन्योलमा परेका थिए । चतरा बजारको सोमबारे हटिया लगायत स्थान नजिक धुलो उडिरहेको ठाउँमा होटलमा खाद्य सामग्री निर्वाध बेचबिखन भइरहेको थियो ।

केही स्टलमा लगाइएको विद्युत् लाइन दुई दिन अगाडि नै खोलिएका थिए । । सम्बन्धित उपसमितिलाई जानकारी गराउँदा समेत केही नगरिएको पसल थापेको बताए ।

मुख्य मेला लाग्ने स्थानमा सवारी दर्ता नम्बर लेखिएको  सवारीसाधन मात्र जान दिने नियम लागू गरिएको भएपनी सवारी पास नभएको मोटरसाइकल र स्टिकर टाँस नगरिएको चारपांग्रे गाडी बिना रोकटोक ओहोरदोहोर गरेको देखिन्थ्यो  । चतराको स्थायी बसपार्कमा धुलो उडिरहेको देखिन्थ्यो भने  सामाजिक सञ्जालमा पार्किङ शुल्क मनपरी लिइरहेको गुनासो समेत आइरहेको थियो ।

मेलाको १८ औं दिन उर्लेको भिडले गर्दा चतरा नहरमा समेत मानिसले स्नान गरेका थिए, त्यहाँ  समेत व्यवस्थापन देखिएन । उता हनुमद महायज्ञ सकिने बित्तिकै हमुमान मन्दिर नजिक पसल गरेकालाई रामानन्दाचार्य सेवापिठमा रहेको शौचालयमा जाँदा गेट पास मागेको र प्रयोग गर्न नदिएको व्यापारीले गुनासो गरेका थिए । मेलामा यी र यास्ता धेरै कमी कमजोरी देखिएको थियो । थोरै समय र सानो प्रयासमा पनि व्यवस्थापन गर्न सकिने भएपनि आयोजकबाट त्यसो गरिएको पाइएन, समेत समस्या ज्युँँका त्यँु छन् ।

विश्वको पाँचौं र चतराधामस्थित नेपालको एक मात्र कुम्भमेला बाहिर देखिएको जस्तो नभई मेला सञ्चालनको कुसल व्यवस्थापनमा चुकेको छ ।
यसको प्रमुख कारक  सरकारी उदासिनता र उपेक्षा रहेको छ । आयोजकलाई भनिए जस्तो न केन्द्र न त कोशी प्रदेश सरकारले कुम्भको लागि बजेट विनियोजन गरे ।

आर्थिक श्रोत निश्चित नहुँदा स्थानीय नगरपालिका र जगद्गुरु पिठले आन्तरिक प्रयासमा मेला लागाएको आयोजकको प्रेस रिलिजमा बताइएको छ । मेलाको सफल व्यवस्थापनमा एकातिर सरकार छ भने अर्कोतिर आयोजक स्वयं छ । आयोजक ले दाबी गरिए अनुसार मेलाको लागि दुवै तहका सरकारबाट आर्थिक सहयोग नगर्नु  नेपाल सरकार  जति जिम्मेवार छ, त्यतिनै  आयोजक आफ्नो कमजोरीबाट पनि पछाडि हट्न पाउँदैन ।

मेलाको व्यवस्थापन चुस्त हुनुपथ्र्यो, निरन्तरको अनुगमन हुनुपथ्र्यो । चार वटा कुम्भ आयोजना गरिसकेका पुराना अनुभवी आयोजकका सदस्यहरूले जिम्मेवार लिने कि नलिने ? तर त्यसो भएको  देखिएन । यस अगाडिको अर्धकुम्भ मेलाको ६५ लाख घाटा भएको बताइएको छ, किन र कसरी घाटा भयो, यसको जिम्मेवार को को हुन, आयोजक पब्लिक्ली बताउन चाहदैनन् , घाटा मात्र भयो भन्छ ।

अहिले लागेको मेलामा, केही लाई छोडेर आयोजक सदस्यहरू  अधिकांश पुरानै व्यक्ति  छन । तर मेलाको  व्यवस्थापन किन फितलो भयो प्रश्न उठछ । अघिल्लो अर्ध  कुम्भको आयव्यय समेत सार्वजनिक गरिएको छैन । यता आयोजकले हिसाब देखाएको दावी गर्छ ।

उपसंहार

कुम्भमेला को २२औं दिनसम्म देश विदेश वाट लाखौं दर्शनार्थी आए । एक महिनासम्म लाग्ने मेलामा साधु सन्त, महन्त, पिठाधिश धर्मगुरुले गर्ने महास्नानको ३ वटा स्नान सम्पन्न भएका छन् । आम जनताले गर्ने स्नान भने महिना दिनभरी चलिरहन्छ । चर्को घाममा समेत मेलामा दर्शनार्थी अहिले पनि आइरहेकै छन् ।

सनातनी हिन्दुहरूको लागि कुम्भ गौरवशाली र महान  धार्मिक महोत्सव हो । मेलामा विशेष गरि विभिन्न  सम्प्रदाय र मतका साधु सन्त,महन्त, पिठाधिस, अनुयायी  र धर्मानुरागी को महासंगम हुने गर्छ  । मेलाको कार्यक्रममा सरकारी ओहोदाबाट आउने अतिथीहरूको तय यात्रा कार्यक्रम अनुसार अर्को कार्यक्रममा जान पाइदैन । तर कुम्भ मेला र हनुमद यज्ञमा आएका दुवै संस्था का  विदेशी धार्मिक पाहुनाहरू त एक अर्काको कार्यक्रममा आतिथ्यता गराइनुपथ्र्यो तर त्यसो भएन ।

हिँडेर गए मिनेटमा पुगिने दुइवटै छिमेकी संस्थाको कुनै पनि अतिथी साधु सन्त आयोजक संस्था सम्म मात्र सिमित बने । जसले गर्दा विश्वमा नेपालको दुई जगद्गुरुको आपसी वैमनस्यता को गलत सन्देश जान्छ । यसैगरी  चतराधाम लाई  धार्मिक पर्यटकिय तिर्थस्थलको औपचारिक रूपमा स्थापित गराउन गरिएको बराहक्षेत्र वासीको प्रयासमा नकारात्मक असर पर्ने देखिन्छ ।

संकट मोचन हनुमद महायज्ञमा बाजागाजासहित गएर निमन्त्रणा गरिएको भए पनि जगदुरु बालसन्त महाराज नआएको रामानन्दाचार्य सेवापिठ्ले गुनासो गरेका थिए भने औपचारिकता पूरा गर्न मात्र ढिलो गरी निमन्त्रणा गरिएको कुम्भ मेला सचिवालयले बताएको थियो ।

उता कुम्भमा एक्लो ब्यक्ति हावी भएकोले  सामान्य मेला  सफल नहुने भन्दै रामानन्दाचार्य सेवापिठ प्रमुख कृष्णदास महाराजको मिडियामा सार्वजनिक अभिव्यक्ति आएको थियो । त्यसको भोलिपल्ट काउन्टर दिँदै कुम्भ मेला आयोजकले  महाकुम्भ असफल गराउन कुत्सित मनासायले लागिपरेको नाम नलिई कृष्णदासलाई इङ्गीत गर्दै प्रेस विज्ञप्ति जारी गरेको थियो ।

दुवै महाराजको केही समय अघिदेखि चलिरहेको आपसी मनमुटाव अहिले खुलेर उदाङ्गो भएको छ । जुनसुकै कारण र मनसाय भएपनी दुवै महाराजको धार्मिक वर्चस्वको लडाईको रूपमा आम जनताले बुझ्नेछन् । चतराधाम आएका भारतका युवा धर्मगुरु वागेश्वर धाम प्रमुख धिरेन्द्रकृष्ण शास्त्री बराह भगवानको दर्शन बराहक्षेत्र मन्दिर गए । गएका उनले त्याहा स्थित कोशी नदिमा नुहाएर हवन यज्ञ गरेर यस क्षेत्रको अनुपम धार्मिक, सांस्कृतिक र  प्राकृतिक पर्यटन महिमा गुणगान गरे  ।

‘कुछ दिन तो गुजारो नेपाल में’ भन्दै बराहक्षेत्रको  देश विदेशमा निःशुल्क  विज्ञापन पनि गरे  । दुवै संस्थाको कार्यक्रम आएका भारत लगायत अमेरिका र युरोपेली देश वाट आएका सन्त महन्तले चतराधामको मुक्तकण्ठले प्रशंसा गरेका छन् । चतराधाम मा निरन्तर हुने नेपाल सरकार तथा विदेश पाहुनाको आगमनले बराहक्षेत्रको महत्त्व र यसले धार्मिक पर्यटनमा पु¥याउने योगदानलाई कम आक्नु हुँदैन ।

नेपालको आर्थिक विकासको रूपमा रहेको अन्य पर्यटन क्षेत्र जस्तै  धार्मिक पर्यटन पनि महŒवपूर्ण हो । संघ र प्रदेश सरकारले दीर्घकालीन योजना र संभवत स्पष्ट नीति नै बनाएर बराहक्षेत्रलाई विकास गर्न सके नेपालको प्रमुख धार्मिक पर्यटनको गन्तव्य बनिने निश्चित छ ।

यसको लागि केन्द्रीय र प्रदेश सरकार तथा विशेष गरेर बराहक्षेत्र वासी, नगरपालिका, दुवै जगद्गुरु पिठको प्रवल इच्छाशक्ति र इमान्दार प्रयास आवश्यक हुन्छ । बराहक्षेत्रको धार्मिक विकासलाई महज इभेन्ट रूपमा मात्र नहेरी नेपालको प्रमुख धार्मिक हब बनाउन प्रचुर सम्भावना भएको यस ठाउँको विकास र व्यापकताको  लागि राजनीति र आफ्नाका  बीचमा न्यानो अनुभव गर्नेभन्दा पनि  गुणदोसको आधारमा आत्ममुघता छोडेर सबैले इमान्दार सकारात्मक सहयोग गर्नुपर्छ।

 

Tags: