सरिता लामिछाने अमेरिकाको पहिलो नेपाली वित्तीय संस्था ‘ईएफसीयू’को ब्राण्ड एम्बेसडरमा नियुक्त

Image

अमेरिका— चर्चित नेपाली अभिनेत्री सरिता लामिछाने अमेरिकामा स्थापित पहिलो नेपाली वित्तीय संस्था एभरेष्ट फेडेरल क्रेडिट यूनियन (ईएफसीयू)को ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छिन्। लामिछानेले नेपाली फिल्म र टेलिभिजन क्षेत्रमा लामो समयदेखि लोकप्रियता कायम राख्दै आएकी छिन्।  

ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त भएपछि अभिनेत्री लामिछानेले खुसी व्यक्त गर्दै भनिन्, ‘मलाई यस्तो गरिमामय भूमिकामा नियुक्त गरिएकोमा अत्यन्तै गर्व लागिरहेको छ। ‘ईएफसीयू’ जस्तो प्रतिष्ठित संस्थासँग जोडिन पाउँदा खुसी छु, र नेपाली समुदायको हितमा यो संस्था अझ अगाडि बढोस् भन्ने मेरो चाहना छ।’ साथै, उनले संस्थालाई अगाडि बढाउनको लागि ब्रान्ड एम्बेसडरको रूपमा आफ्नो जिम्मेवारी र कर्तव्यलाई सही तरिकाले निभाउने प्रतिबद्धता व्यक्त गर्न गरिन्।

‘ईएफसीयू’को यो निर्णयले कलाकारिता र वित्तीय क्षेत्रबीचको सहकार्यलाई नयाँ ढंगले सुरुआत गराएको बताइएको छ। यो सहकार्यले भविष्यमा अझ महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने आशा गरिएको छ। 

ब्रान्ड एम्बेसडरको रूपमा  लामिछानेले ‘ईएफसीयू’का सेवालाई प्रवर्धन गर्दै, संस्थाको पहिचानलाई अझ उचाइमा पु¥याउन मद्त गर्ने अपेक्षा गरिएको छ। लामिछानेले अभिनय क्षेत्रमा आफ्नो दीर्घकालीन योगदान र प्रेरणादायी व्यक्तित्वका कारण नेपाली फिल्म उद्योगमा गहिरो छाप छोडेकी छिन्। उनको यो नयाँ भूमिकाले ‘ईएफसीयू’लाई अन्तर्राष्ट्रिय स्तरमा थप सशक्त बनाउन सहयोग पु¥याउने विश्वास गरिएको छ ।

‘ईएफसीयू’ अमेरिकामा स्थापित पहिलो नेपाली वित्तीय संस्था हो, जसले विशेष गरी नेपाली आप्रवासीहरूलाई लक्षित गर्दै विभिन्न प्रकारका वित्तीय सेवाहरू प्रदान गर्दै आएको छ। यो संस्थाले नेपालीहरूलाई आर्थिक रूपमा सशक्त बनाउन र उनीहरूको वित्तीय जीवनलाई सहज बनाउन महत्त्वपूर्ण योगदान गरिरहेको छ।

हाल, ‘ईएफसीयू’को प्रधान कार्यालय न्यूयोर्क मा रहेको छ भने टेक्सस मा पनि यसको शाखा सञ्चालनमा छ। संस्थाले चाँडै नै ओहायो राज्यमा शाखा खोल्नका लागि तयारी गरिरहेको छ। एजीएम कोअर्डिनेटर विज्ञान भट्टराईका अनुसार संस्थाले ओहायो मा शाखा खोल्ने तयारी गरिसकेको छ ।
‘ईएफसीयू’को तेस्रो साधारण सभा नोभेम्बर १६, २०२४मा हुने तयारी भइरहेको छ। कोअर्डिनेटर भट्टराईले सम्पूर्ण साधारण सदस्यहरूलाई साधारण सभामा सहभागी हुन अनुरोध गरेका छन्।
 

Tags: