एनपीएल लक्षित एनटिसीको डाटा
काठमाडौं – भोलि (शनिवार)देखि काठमाडौंमा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल)लाई मध्यनजर गर्दै नेपाल टेलिकमले ‘एनटी क्रिकेट धमाका प्याक’ सार्वजनिक गरेको छ। बिहीवार लाजिम्पाटस्थित होटल ¥याडिसनमा नेपाल टेलिकमले प्रायोजन गरेको सुदूरपश्चिम रोयल्स टिमसँगको ‘मिट एण्ड ग्रिट’ कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल तथा सुदूरपश्चिम रोयल्सका प्रमुख स्वतन्त्र प्रताप शाहले संयुक्त रुपमा उक्त एनटी क्रिकेट धमाका प्याकको शुभारम्भ गरेका हुन्।
यस योजनाअन्तर्गत प्रिपेड तथा पोष्टपेड मोबाइल प्रयोगकर्ताका लागि रू. ६९९ मा ३०० जीबी डाटा उपलब्ध हुनेछ, जसमा प्रतिदिन १० जीबी डाटा प्रयोग गर्न सकिने र १० जीबीको लिमिट पूरा भए बाँकी समय ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ। यसैगरी रु. ४९९ मा प्रतिदिन ५ जीबीका दरले १५० जीबी डाटा उपलब्ध हुनेछ, जसमा ५ जीबीको लिमिट पूरा भए बाँकी समय २ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ ।
पोष्टपेड प्रयोगकर्ताका लागि मासिक रेन्टल समेत समावेश गरिएका धमाका प्याकहरुको समयावधि ३० दिन रहेको छ भने प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन समयावधि रहेको छ । प्याक मंसिर १४ देखि आगामी पौष ६ गते सम्म लागू बताइएको छ ।