सात मुक्तक
(१ )
देउता खोज्दै धाउँछौं मन्दिर, मस्जिद घरिघरि
हेर दूर हैन छैन, ऊ त सधै सधै तिम्रै वरिपरि ।
जे देऊ नाम, शिव, बुद्ध, अल्लाहा अकबर या त येशू
आखिर, ईश्वर त एकै न हो किन देख्छौं थरीथरी ।।
(२)
चन्द्र सूर्य अंकित झण्डा फरफराई राख्छु
सिरानीमा अपी सैपाल सजाई राख्छु ।
पूर्व मेची , पश्चिम महाकाली
जोगाएरै मुटु भरि मेरो नेपाल सजाई राख्छु ।।
(३)
तिमी नहुने त्यो वसन्त बहार आएर के गर्नु
तिमी नहुने त्यो चोक अब धाएर के गर्नु ।
यहाँ म एक्लै–एक्लै छु, नितान्त एक्लै छु
तिमी नहुने त्यो स्वर्ग मरणपछि पाएर के गर्नु ।।
(४)
बुद्धको भूमिमा शान्तिको मुहान सुकेको छ आज
रातो र चन्द्रसूर्य अंकित झण्डा झुकेको छ आज ।
घरिघरि पराइको जालमा परी सिमाना रोईरहँदा
विश्व डगमगाएको वीर नेपाली लुकेको छ आज ।।
(५)
गर्नेहरूले ईष्र्या गर्दै जाउन् के हुन्छ र
काट्नेहरूले कुरा काट्दै जाउन् के हुन्छ र ।
तिमी गर तिम्रै मनको, तिमी हिँड तिम्रै बाटो
तान्नेहरूले खुट्टा तान्दै जाउन के हुन्छ र ।।
(६)
हराई सके तिम्लाई भेट्ने ती आशाहरू
दिनप्रतिदिन बाँधिदै छन् ती बाटाहरू ।
तेल सकिँदै गएको बत्ति जस्तै जस्तै गरी
तिर्मिराउँदै छन् अनगिन्ती ती बाचाहरू ।।
(७)
हेर्दाहेर्दै थाहै नदिई,यो सकिने जिन्दगी
रुँदारुँदै आँसुले, यो मकिने जिन्दगी ।
बढ्दै जाँदा दुनियाँमा रमिता हेर्नेहरू
छेक्दाछेक्दै कस्तो यो, नछेकिने जिन्दगी ।।