मिस्टर एण्ड मिस नेशनल २०२४ ‘सौन्दर्य प्रतियोगिताका लागि यो विश्व विख्यात प्लेटफर्म हो’

Image

डा. सन्तोष उपाध्याय
सञ्चालक
सनुर्वी इन्टरनेशनल

काठमाडौं– ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ का अन्तिम ३० जना प्रतियोगी छनोटको घोषणा भएको छ । बुधवार कमलादीस्थित रोयल सिङ्गी होटलमा आयोजित स्यास सेरेमोनीमा सेमी–फाइनलिस्ट सार्वजनिक गरिएको हो ।
देशका विभिन्न स्थानमा सञ्चालन गरिएको अडिसनमार्फत यी प्रतिस्पर्धी छानिएको आयोजक संस्था सनुर्वी इन्टरनेशनलका सञ्चालक तथा मिस्टर एण्ड मिस नेशनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्ययले बताए । ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ कसरी अगाडि बढिरहेको छ ? यो प्रतियोगिता कस्तो प्रतियोगिता हो ? लगायतका सन्दर्भ भित्र रहेर हामीले आयोजक संस्थाका सञ्चालक डा. उपाध्यायसँग कुराकानी गरेका छौं ।

मिस्टर एण्ड मिस नेशनल कस्तो प्रतियोगिता हो ?

हामी मिस्टर मिस नेसनलको चौंथो संस्करणमा छौं । नामलाई हेर्दा धेरैको बुझाई यो प्रतियोगिता जेन्स र लेडिजको प्रतियोगिता हो भन्ने छ । तर यो फरक खालको प्रतियोगिता हो । विश्वमा प्रख्यात ब्युटी प्याजेन्टमा यसका प्रतियोगीलाई पठाउँछौं । अहिले हुन लागेको प्रतियोगिता नेशनल भए पनि यसका विजेतालाई हामी अन्तरराष्ट्रिय फ्रेन्चाइजमा पठाउँछौ । जसमा महिलातर्फका ३ र पुरुष तर्फका २ अन्तरराष्ट्रिय प्रतियोगितामा नेसनल प्रतियोगिताका प्रतियोगी मध्येबाट छानिन्छ ।

अन्तरराष्ट्रिय प्रतियोगिता कहाँ हुन्छ ?

महिलातर्फ पोल्याण्डमा आयोजना हुने मिस सुपर नेसनल, मिस इन्टर कन्टिनेन्टल इजिप्टमा आयोजना हुन्छ र मिस ग्लोब अल्वानिया आयोजना हुन्छ । पुरुषतर्फ मिस्टर सुप्रा नेसनल पोल्याण्डमा हुन्छ र मिस्टर इन्टरनेशनल थाइल्याण्डमा आयोजना हुन्छ । यी आयोजनामा पठाउनको लागि हामीले नेपालमा मिस्टर र मिस नेसनलको आयोजना गर्छौं । यी ५ प्रतियोगितामा जानको लागि नेसनल प्रतियोगिताबाट छानिन्छ । जुन नेपालको झण्डा बोकेर जान्छन् ।

अन्तरराष्ट्रिय प्रतियोगितामा तपाईहरूको भूमिका के रहन्छ, यी प्रतियोगितामा हाम्रो पोजिसन कस्तो छ  ?

प्रतियोगिताको लागि आवश्यक पर्ने सम्पूर्ण तयारी, अभ्यासदेखि खर्चसम्म सबै हाम्रो कम्पनीले खर्च गर्दै आइरहेको छ । सन् २०१९ मा म आफै पनि प्रतियोगी भएर मिस्टर नेपाल जितेको हुँ ।
सन् २०१९ मा मिस्टर नेपाल जितेपछि सन् २०२१ मा मैले नै पहिलो पटक नेपाललाई सुप्रानेशनलमा सहभागिता जनाएको थिएँ । प्रतियोगितामा म थर्ड रनरअपको स्थान सहित ‘मिस्टर इन्फ्ल्युएन्सर’ तथा ‘मिस्टर ट्यालेन्ट’ सहित टप ग्राण्ड स्लाम प्याजेन्टमा टप फाइभमा पुग्ने पहिलो नेपाली बन्ने शौभाग्य पनि मैले पाएको थिएँ ।
त्यस्तै, सन् २०२२ मा सनिस श्रेष्ठले मिस्टर ल्यालेन्ट र सन् २०२३ मा शिशिर वाग्ले टप फोरमा र रोशनी चन्द मिस ग्लोबमा ‘ट्यालेन्ट एण्ड फिटनेस’ राउण्डमा पुग्न सफल भएकी थिइन् । मिस्टर इन्टरनेशनलमा प्रज्ज्वल ताम्राकारले ‘मिस्टर कन्जिनियालिटी’ को सबटाइटल जितेका थिए ।
यसबाट मैले के बुझें भने त्यो अवस्थामा यो फिल्ड भन्दा बाहिर पेशाले चिकित्सक मैले त त्यो उपलब्धी हाँसिल गर्न सकें भने अरुलाई अवसर दिने हो भने प्रतियोगीले देशलाई चिनाउन सक्छन् भन्ने मलाई लाग्यो । यसका प्रतियोगीले विश्वमा नेपाललाई चिनाउनको लागि काम त गर्छ नै युवाहरुलाई नेतृत्व विकासमा सहयोग गर्छ । यस अगाडिका अन्तरराष्ट्रिय प्रतियोगितामा हामीले भाग लिएको मात्र होइन विभिन्न टाइटल पनि जित्दै आएका छौं । यसले विश्वमा नेपाललाई चिनाउने काम पनि भएको छ ।

अन्तरराष्ट्रिय सम्बन्धनसहितको यति ठूलो प्रतियोगिता आयोजना गर्नुभएको छ, यो क्षेत्रमा हाम्रो अन्तरराष्ट्रिय सम्बन्ध कस्तो छ ?

हामीले शुरु गरेको प्रतियोगितामा २ सुप्रानेशनलका अन्तरराष्ट्रिय उपाधि विजेता थाइल्याण्डकी एन्टोनिया पोर्सिल्ड, पेरुका भारो भार्गास र क्रियटिभ डिरेक्टर आन्द्रे स्लेघ नोर नेपाल आएका थिए । सन् २०२३ मा भारतका प्रथमेश मौलिैगिकार आएका थिए । सुरुआतमै उत्कृष्ट आयोजना गरेको कारण सुप्रानेशनलको वेस्ट अर्गनाइजर भन्दै हामीले राइजिङ स्टारको अवार्ड पाएका थियौं । नेपालमा प्याजेन्ट आयोजकले नै अन्तरराष्ट्रिय उपाधि पाएको पहिलो अवसर थियो ।

तपाईले यसको बारेमा यति धेरै कुरा बताइरहँदा यसको  प्रचार प्रसार र चर्चा कम सुनिन्छ किन ?

हाम्रो यो सुरुवात पनि हो । सुरुवातमै हामीले सोचे जस्तो सबै हुन्छ भन्ने पनि हुँदैन । सनुर्वी इन्टरनेशनल प्राइभेट कम्पनी हो । हामीले नेपाललाई चिनाउने नै हो तर पनि हामी प्राइभेट कम्पनी भएका कारण हामीसँग आवश्यक स्रोत र साधनको पर्याप्तता छैन । तर पनि हामीले यसको ब्राण्डिङ गर्न प्रयासरत छौं, यसकै लागि हामीले प्रतियोगितालाई टेलिभिजन सोमार्फत लिएर गएका छौं, जुन नेपालमा यसरी प्रतियोगिता गर्ने हामी मात्रै हो । नेसनल मात्रै होइन इन्टरनेशनल प्रतियोगिता समेत हामीले नेपाली टेलिभिजनबाट फाइनल देखाएका थियौं । अब यसलाई अझै प्रचारमा ल्याउन र प्रभावकारी बनाउनको लागि यसका विजेता तथा प्रतियोगीले विभिन्न माध्यम तथा प्लेटफर्मबाट चिनाउँदै जानु भएको छ । यसलाई थप प्रभावकारीता ल्याउनको लागि मिडियाहरुले प्रचारप्रचारमा सहयोग गर्नुभयो भने पक्कै पनि थप विस्तार हुन सहयोग पुग्छ । हामी यसको लागि दीर्घकालीन योजना पनि बनाएका छौं ।

सहभागी छनोट कसरी हुँदै आएको छ ?

प्रतियोगिताको लागि धेरै आवेदन परेका थिए । यसको आधारमा हामीले धेरै ठाउँमा फिजिकल अडिसन पनि गर्यौं । इटहरी, चितवन, पोखरा र काठमाडौंमा गरिएको फिजिकल अडिसनबाट प्रतियोगी छानेका हौं । स्यास सेरोमोनी भएको छ , अब विभिन्न विधाका प्रतियोगिताहरु हुन्छन् । ति विधालाई पनि हामीले क्लोज डोर कार्यक्रम नबनाएर विभिन्न सार्वजनिक ठाउँमा पब्लिकको पहुँचमा राखेर गर्छौ. ।

आउट डोरको कुरा गर्नुभयो, कहाँ कहाँ लैजानुहुन्छ ?

अहिले पनि विभिन्न राउण्ड र विधालाई विभिन्न ठाउँमा लैजाँदै छौं । दुई विधालाई यस पटक हामीले कुस्मा लैजाने योजना छ । पाटन दरवार स्क्वायर, थिएटर लगायतमा कार्यक्रम गरेर डिसेम्बरसम्म विभिन्न ठाउँमा कार्यक्रम गर्छन् । हाम्रा प्रतियोगी विभिन्न क्षेत्रमा संलग्न रहेका हुनाले यस पटक साथ र सहयोग पनि पर्याप्त छ । हामीले प्रतियोगी छनोट गर्दा शारिरिक सुन्दरता मात्र होइन नेतृत्वको क्षमतालाई प्राथमिकता दिएको छ । सबै खालका प्रतियोगी यसमा जोडिनुभएको छ ।

 

 

 

Tags: