एनटीसीको प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रूपमा स्वतः
काठमाडौं – नेपाल टेलिकमले बुधवारदेखि सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रुपमा स्वतः उपलब्ध हुने भएको छ । यस अनुसार हाल प्रिपेड ग्राहकले अन्तर्राष्ट्रिय रोमिङ सेवा सक्रिय गराउनुपर्ने अवस्थामा सबै प्रिपेड ग्राहकको मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रुपमा स्वतः उपलब्ध हुने बताइएको छ ।
सेवाग्राहीले *1415*7# डायल गरेपश्चात उपलब्ध हुने मेनुबाट उपयुक्त विकल्प छनौट गरी आफ्नो मोबाइलमा रोमिङ सेवा उपलब्ध भए र नभएको यकिन गर्न सकिने टेलिकमले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु भएका ग्राहकहरुले नेपाल टेलिकमकै सिम प्रयोग गरी विदेशमा पनि भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सकिने बताइएको छ।
नेपाल टेलिकमले रोमिङ सेवा उपलब्ध गराएका भारत वाहेकका अन्य देशहरुमा यो सुविधा क्रमशः उपलब्ध हुनेछ । भारतमा भने यो सेवा उपयोग गर्नका लागि कम्पनीका ग्राहकहरुले नेपालमै रहँदा आफ्नो मोबाइलबाट युएसएसडी कोड *1415*7# डायल गरी वा नेपाल टेलिकम एपमार्फत अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्न सकिने बताइएको छ । नेपालमा भएको समयमा रोमिङ सेवा एक्टिभ नगरी विदेश गएमा त्यहीँबाट पनि यो सेवा एक्टिभ गर्नको लागि roaming.support@ntc.net.np मा इमेल मार्फत अनुरोध गर्न सकिने बताइएको छ ।
नेपाल टेलिकमको प्रिपेड मोबाइलमार्फत हाल ४० देशमा रोमिङ सुविधा प्रयोग गर्न सकिन्छ । सेवाग्राहीले विश्वका विभिन्न ४० देशमा नेपाल टेलिकमकै प्रिपेड मोबाइल मार्फत भ्वाइस, डाटा र एसएमएस सेवा चलाउन सक्छन् । यसका लागि ती देशहरुमा रहेका ५४ अपरेटरसँग सम्झौता सम्पन्न भई सेवा सञ्चालनमा रहेको छ ।
नेपाल टेलिकमले विदेशमा जाने वा बस्ने नेपालीहरुलाई लक्षित गरी उपलब्ध गराएका विभिन्न सुविधा मध्ये रोमिङ सेवा निकै नै उपयोगी रहेको टेलिकमको दाबी छ ।