सहकारीले समाज बदलेको कुरा सुन्न पाइयो : सूर्य थापा

Image


काठमाडौं–प्रतिनिधि सभा संघीय संसदबाट गठित सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्य थापाले सहकारीमा साना किसानहरुले गरेको योगदान र हासिल गरेको सफलताले आफूलाई उत्साहित बनाएको बताएका छन् ।

साना किसान कृषि सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीसँग सोमवार भएको छलफलमा उनले यस्तो बताएका हुन् । साना किसानको तर्फबाट प्रस्तुती सुनिसकेपछि प्रतिक्रिया दिँदै सभापति थापाले आफुले अहिलेसम्म सहकारीका समस्या मात्र सुनेको स्मरण गर्दै साना किसानहरुले गरेको योगदान र हासिल गरेको सफलताले आफूलाई उत्साहित बनाएको प्रतिक्रिया दिए । 

उनले सहकारीले उदाहरणीय कार्य गर्न सक्छन् भन्ने प्रमाण साना किसानले प्रस्तुत गरेको जानकारी पाउँदा खुसी लागेको बताए । 
छानविन समितिमा बसेर सहकारी क्षेत्रका विभिन्न कुरालाई हेर्नेक्रममा साना किसान कृषि सहकारीले समाजिक, आर्थिक र चेतनास्तर विकासमा गरेको योगदान प्रशंसनीय रहेको बताए ।  यसैगरी उनले अहिले सहकारीमा देखिएको समस्याका विभिन्न कारणमध्ये राष्ट्रबैंकले अनुगमन गरेर दिएको प्रतिवेदन कार्यन्वयन नहुनु एक रहेको औँल्याए । 

सभापति थापाले देश भरको सहकारी दर्ता सुचना र सञ्चालनको विवरण दिने ठाउँ तत्काल आवश्यक रहेको समेत बताए । सहकारीको सिद्धान्त, नीति, विधि, पद्धती र प्रक्रियामा सञ्चालन भएका सहकारीमा कुनै समस्या नरहेको बताउनुहुँदै सहकारीको मर्म र भावना विपरित सञ्चालन भएका सहकारीमा समस्या देखिएको बताए ।

यसैगरी कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का अध्यक्ष खेम बहादुर पाठकले सहकारीले समाजिक रुपान्तरणमा उल्लेखनीय भूमिका खेलेको जानकारी गराएका थिए । उनले सबै सहकारीमा समस्या नरहेको बताउनुहुँदै राम्रा सहकारीको पहिचान गरेर राम्रालाई प्रोत्साहन गर्नुपर्ने माग गरे । 

देशभरका साना किसान कृषि सहकारी संस्थाहरुमा समस्या नरहेको भन्दै अध्यक्ष पाठकले संस्थालाई नीति, विधि र पद्धतीमा सञ्चालन गर्न सके कुनैपनि संस्थामा समस्या नआउने तर्क गरे । आफूहरूले नेपाल कृषि सहकारी केन्द्रीय संघ र यसको सञ्जालमा रहेका संस्थाहरुमा अनुगमन तथा निरिक्षणलाई प्रभावकारी बनाउँदै समस्या आउनै नदिन अधिकतम पहल गरेको जानकारी गराएका थिए ।

अध्यक्ष पाठकले साना किसान कृषि सहकारीहरुले सञ्चालन गरेको १ खर्व १२ अर्व रुपैयाँ अहिलेपनि सुरक्षित रहेको बताए । छलफलका क्रममा अध्यक्ष पाठकले सरकारले किसानलाई प्रविधि, सिप, भण्डारण, औजार, सिँचाई, बीउ, मल आदिमा सहयोग गर्नुपर्ने माग गरे । यसैगरी उनले किसानले उत्पादन गरेको मासु, दुध तथा अन्य कृषिजन्य वस्तुको बजारिकरण गर्न सके उत्पादन केन्द्रीत काम गरिरहेका सहकारीको समस्या समाधान हुने बताए ।

जुन सहकारीको सञ्चालक र कर्मचारीलाई सदस्य तथा बचतकर्ताले चिन्दैन तिनै संस्थामा समस्या रहेको भन्दै उनले साना किसानमा आफै सदस्य आफै सञ्चालक र आफै कर्मचारी रहेकाले कुनै समस्या नरहेको बताए । सहकारी क्षेत्रको वर्तमान समस्या समाधानका लागि प्रत्येक संस्थामा लेखा सुपरीवेक्षण समितिलाई जिम्मेवार बनाउनु पर्नेमा जोड दिए ।

छलफल कार्यक्रममा २५ सहकारी संस्थाहरुका २८ जना सञ्चालक तथा प्रवन्धक, केन्द्रीय संघका अध्यक्ष सहित पदाधिकारीहरु, नि.महाप्रवन्धक सहित कर्मचारहिरुको उपस्थिती रहेको थियो । 
 

Tags: