पहिलो महिला मुख्यसचिव लीलादेवी गड्तौला, भन्छिन्, ‘राम्रो कर्म गरे, राम्रै फल पाइन्छ’

Image

काठमाडौं – नेपाल सरकारले कायम मुकायम मुख्यसचिव लीलादेवी गड्तौलालाई आज मुख्य सचिवमा नियुक्त गरेको छ । मुलुकको प्रशासनिक इतिहासमा उनी नै प्रथम महिला मुख्यसचिव हुन सफल भएकी हुन्। वर्तमान सरकारले नै उनलाई असार ३१ गते निमित्त मुख्यसचिवबाट कामु मुख्यसचिवको जिम्मेवारी दिएको थियो । विसं २०२३ साल भदौ १५ मा ते¥हथुममा जन्मिएकी गड्तौला विसं २०५२ मा नेपालको निजामति सेवाको न्याय समूहको शाखा अधिकृतबाट राष्ट्र सेवामा प्रवेश गरेकी थिइन्।

उनी विसं २०६३ मा उपसचिव, विसं २०७० मा सहसचिव, २०७७ मा सचिवमा बढुवा भएकी थिइन् । उमेर हदका कारण उनी आउँदो भदौ १५ बाट सेवा निवृत्त हुनेछिन्। ‘जस्तो कर्म ग¥यो, त्यस्तै फल प्राप्त हुन्छ’ भन्ने विश्वास राख्ने नवनियुक्त मुख्यसचिव गड्तौलाले निजामति सेवामा राम्रै कर्म गरेको परिणामकारूपमा यो जिम्मेवारी प्राप्त भएको राससलाई प्रतिक्रिया दिइन् ।

उनले भनिन्, ‘प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्ले मलाई कामु मुख्यसचिवको जिम्मेवारी  दिएको थियो । दश दिनपछि मुख्यसचिवमा आज नियुक्त गरेको छ । यो सरकार महिलाप्रति उदार छ भन्ने देखियो, न्याय सेवाको कर्मचारीलाई मुख्यसचिवको जिम्मेवारी दिनुभएको छ, वर्तमान सरकारप्रति धन्यवाद छ ।’ 
इमान्दार भएर काम गरेमा कही न कही मूल्याङ्कन र अवसर प्राप्त गर्ने रहेछ भन्ने सन्देश समस्त निजामति कर्मचारीमा गएको बताउँदै मुख्यसचिव गड्तौलाले महिलालाई माथिल्लो तहको जिम्मेवारीमा दिन हिचकिचाउँछन् भन्ने भाष्य परिवर्तन हुँदैगएको धारणा व्यक्त गरिन् । निजामति कर्मचारीमा प्रवेश गरेका कर्मचारीमा मुख्यसचिव बन्ने लक्ष्य हुने बताउँदै उनले भनिन्, ‘त्यसमा केही पुगिन्छ, कोही पुगिन्न । केही सचिव र सहसचिवमा पुगिन्छ, कोही तलैबाट बाहिरिनुपर्छ । भाग्यछ भन्दैमा डोकोमा दूध अडिन्न, कर्म गर्नुपर्छ, राम्रो कर्म गरे राम्रो फल पाइन्छ ।’

राज्यबाट जनतालाई प्रदान गरिने सेवाप्रवाहमा सहज र सरल तुल्याउन सम्पूर्ण राष्ट्रसेवक निजामति कर्मचारी मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउदै मुख्यसचिव गड्तौलाले संसद्मा अड्किरहेको निजामति विधेयकलाई अघि बढाउन र राम्रो कर्म गर्ने कार्यलाई प्रोत्साहन र प्रेरणा प्रदान गर्न लागि पर्ने दृढता व्यक्त गरिन्।
 

Tags: