अख्तियारदेखि सतर्कतासम्म लम्सालका नाममा उजुरी, उनैलाई खाद्यको हाकिम बनाउने तयारी !

Image

 

काठमाडौं–सरकार माताहतको व्यापार कम्पनी ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड’को लागि सम्भवत सोमवार मन्त्रिपरिषद्ले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्दैछ ।

प्रमुख कार्यकारी अधिकृत (सीईओ) को दौडमा छनोटका लागि गठित सिफारिस समितिले २०८१ साउन २१ को निर्णय अनुसार मन्त्रिपरिषद्मा तीन जना प्रतिस्पर्धीको नाम सिफारिस गरेको छ । जसमा हाल कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत समेत रहेका तनहुँका डिल्लीराम लम्सालसहित भक्तपुरका गोपीकृष्ण न्यौपाने र धादिङका रमेश आचार्य छन् । मन्त्रालय स्रोतका अनुसार एमाले निकट र प्रधानमन्त्री केपी शर्मा ओली समेतको पहुँचका अधारमा तीन जना प्रतिस्पर्धी मध्ये लम्साल प्राथमिकतामा छन् ।

उक्त जिम्मेवारी ओगट्न लम्साल चलखेल गरिरहेका छन् । खाद्यलाई नजिकबाट बुझ्दै आएकाहरुको शंका छ, ‘लम्सालले जिम्मेवारी पाउलान् अस्वाभाविक भएन तर जिम्मेवारी पछि निभाउने भूमिका कतिसम्म लथालिंग हुन्छ, त्यो गम्भीर प्रश्न हो ।’ लम्साल खाद्यमा विवादित र अख्तियार तथा सर्तकता केन्द्रको छनविनमा परेका व्यक्ति हुन्।

विभिन्न जिम्मेवारीमा रहँदा घोटाला गरेको भन्दै अख्तियारमा उजुरी

गतवर्ष माघमा अकुत सम्पत्ति कमाएको र त्यसको स्रोत खोज्न भन्दै लम्सालका नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

२०४५ सालमा तत्कालिन नेपाल खाद्य संस्थानको खरिदार पदमा जागिर शुरू गरेका लम्साल विभिन्न जिल्ला, अञ्चल (प्रदेश) , खाद्य व्यवस्था तथा व्यापार कम्पनीको केन्द्रीय कार्यालयमा लामो समय खरीद विभाग, मानव संधान विभागको विभागीय प्रमुख हुँदै हाल रिक्त प्रमुख कार्यकारी अधिकृतमा निमित्तको जिम्मेवारीमा छन् ।

आर्थिक रूपमा कमजोर पारिवारिक पृष्ठभूमिका तनहुँका लम्सालको हाल अपत्यारिलो आर्थिक हैसियत बनेको र त्यसको स्रोत खाद्यभित्र उनको चलखेल अख्तियारको दूूरुपयोग रहेको अख्तियारमा परेको उजुरीमा उल्लेखछ  । उजुरीमा हालसम्म उनले खाद्यका विभिन्न ठाउँ र भूमिकामा रही अनियमितता गरेको आरोप छ ।अख्तियारमा परेको उजुरीमा पूर्वी नवलपरासीको कावासोतीमा विगौं जग्गा तथा  घर घडेरी, नारायणघाटको हाकिम चोकमा बंगला, काठमाडौंको ग्रान्डी आसपासमा घर, महंगो कार र ट्रिपर, डोजरसहित क्रसरमा लगानी समेतको स्रोत खाद्यभित्रका विभिन्न भूमिकाको दूरुपयोग भएको उजुरीमा उल्लेख छ ।

उजुरीमा २०४५ सालमा डोल्पा कार्यालयमा स्टोर किपर हुँदा नेपालगञ्जदेखि खच्चरवाट ढुवानी हुने चामललाई डोल्पा दुनैमा नपु–याई ठेकेदारलाई बाटोमा बेच्न लगाई विक्रीको नाफा र ढुवानीको रकम कुम्ल्याएको आरोप उनी माथि छ । उनलाई सुगम ठाउँमा बस्ने अवसर हुँदाहुँदै पनि लामो समयसम्म दुर्गममै रजाई गर्दै आएको अख्तियारमा परेको उजुरीमा उल्लेख छ ।
दुर्गम ठाउँमा खरीदको कोटा बढाउने तर कम परिमाणमा खाद्यान्न पुर्याएर कागजी रुपमा मात्र खरीद गरेर करोडौं घोटला गरेको गम्भीर आरोप उनी माथि छ ।
खाद्यको तत्कालिन अञ्चल कार्यालय धनगढीमा २०७१ सालमा अञ्चल प्रमुख भएर गएपछि त्यस कार्यालयमार्फत मोहनपुर, टिकापुर, भजनी, सति जस्ता टाउँमा धान खरीद गर्दा समर्थन मूल्यमा किसानको धान नकिनी व्यापारीको धान उठाएर करोडौंको घोटला गरेको आरोप उनी माथि छ । खाद्यका एक पूर्व कर्मचारीले भने, ‘एकातिर किसानको धान व्यापारीले कम मूल्यमा उठाउने, व्यापरीले खरीद भन्दा धेरैमा खाद्यलाई बेच्न पाएपछि व्यपारी र खाद्यका कर्मचारी दुबैले लाभ लिने भए ।’ लम्सालले व्यापारीबाट धान खरीद गर्ने तर किसानबाट खरीद गरेको कागजात बनाई प्रति क्विन्टल २०० रुपैयाँसम्म घोटाला गरेको आरोप छ ।

यसका अतिरिक्त धान कुटानी कम्पनीको मिलबाट नगराई निजी मिलबाट गराई कमिसन खाएको आरोप उनी माथि लगाइएको छ । केन्द्रीय कार्यालयमा खरीद विभागका प्रमुखको रूपमा लामो समय रहेका उनले खरीद प्रक्रियामार्फत पनि करोडौं घोटला गरेको आरोप उनीमाथि लागेको छ । त्यति मात्र होइन प्रशासन प्रमुख भई कर्मचारी नियुक्ति प्रक्रियामा समेत रकम असुलेको अरोप लम्साल माथि छ ।

सतर्कताको छानविनले खोज्यो चार बुँदे राय

लम्सालको नाममा राष्ट्रिय सतर्कता केन्द्रमा परेको उजुरीका आधारमा केन्द्रले २०८० चैत २८ मा छनविनको लागि विभिन्न आरोपमा आधारित कागजात माग गरेको थियो ।
 

यस्ता छन् उजुरी र माग कागजात

१. निज डोल्पा जिल्लामा कार्यरत रहँदा नेपालगञ्ज र तुलसीपुर दाङबाट खच्चडबाट ढुवानी हुने मालवस्तुहरु तराई मै बेच्न लगाई डोल्पा नपुर्याएको तर दाखिला कागज बनाई ढुवानी भुक्तानी भएको भन्ने उजुरीको सम्बन्धमा तत्कालिन समयमा ढुवानी भएको र भुक्तानी भएका कागजातहरु

२. कैलाली धनगढीमा अञ्चल प्रमुख हुँदा टिकापुर भजनी, सतीमा धान खरिद गर्दा नेपाल सरकारले तोकेको समर्थन मूल्यमा उत्पादक किसानसँग खरिद गर्नु पर्नेमा व्यापारीसँग मिली किसानको नक्कली अभिलेख बनाई प्रति क्वीन्टल ५०० रुपैयाँ कमिसन खाई ७० हजार क्वीन्टल धान खरिद गरी सरकारले तोकेको समर्थन मूल्यबाट वञ्चित गरेको सम्बन्धमा तत्कालीन अवस्थामा खरिद र भुक्तानी गरेको कागजातहरुको विवरण ।

३. तत्कालीन रुपमा निज धनगढीमा रहदा कती धान कुन मिलमा कुटानी पिसानी भयो साथै कतिमा किनी कतिमा बेचिएको अथवा सो समयमा भएका विल भरपाईहरु साथै आ.व. २०७३/०७४ र आ.व. २०७४/०७५ को लेखा परिक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपी ।

४. निज कर्मचारी प्रशासन प्रमुख भए पश्चात एकै पटक कुन मितिमा कसरी १०६ जना कर्मचारी छनौट भएका हुन कागजात सहित विवरण ।

 

Tags: