आइक्यानमा पूर्व अध्यक्षमाथि यौन दुव्र्यवहारको आरोप, छानविन गर्न बन्यो समिति
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का एक पूर्व अध्यक्ष उनको अडिट फर्ममा काम गर्दै आएका ‘आर्टिकल ट्रेनी’ (क्याप थ्रीमा कार्य अभ्यास गर्ने) माथि यौन दुव्र्यवहारको आरोपमा मुछिएका छन्। चर्चित अडिट फर्मका सञ्चालक उनी कन्फेडेरेसन अफ एसियन एण्ड प्यासेफिक एकाउण्ट्स (कापा)का बोर्ड मेम्बर समेत हुन्। उनले एकजना ट्रेनीमाथि यौन दुव्र्यवहार गरेको भन्दै नेपाल चार्टर्ड एकाउण्टेन्ट्स विद्यार्थी संगठन (एनकासा)मा न्याय खोज्दै आएपछि उनको कर्तुत बाहिरिएको हो । एनकासाले अन्य ट्रेनीले समेत दुव्र्यवहार भोगेको जानकारीका आधारमा अन्य कोही पीडित भए सम्पर्कमा आउन अग्रह गर्दा ६ जना ट्रेनी र एकजना अडिटर्सले उनी विरुद्ध यौन दुव्र्यवहारको आरोपसहित अगाडि आएका हुन्।
अरु कोही नभएको मौका पारी ढोका लगाउने, गाला सुम्सुमाउने, संवेदनशील अंगमा हात लगाउन खोज्ने, अस्वाभाविक प्रस्ताव राख्ने जस्ता व्यवहार गर्दै आएको पीडितहरूको गुनासो छ । यस विषयमा उनको फर्ममा १० वर्ष अगाडि काम गरेका ट्रेनीले समेत आरोपितबाट हिंसा भएको जानकारी सहित आएको बताइएको छ । यस विषयमा आइक्यानमा ४ जनाको उजुरी परेको बताइएको छ, तथापि सामूहिक पनि आएकोले यसलाई संख्या एकिन गर्न नसकिने आइक्यानका कार्यकारी निर्देशक विनोद न्यौपानेले बताए। उनले आइक्यानमा जानकारी आएको भए पनि पीडित खुलेर नआएको तर यसलाई संवेदनशील भएका काम गर्ने बताए।
आइक्यानमा काउन्सिल सदस्यले आइक्यानले यस विषयलाई गम्भीरताको रूपमा लिएको बताए । उनले काउन्सिलमा उजुरी परेसँग आकस्मिक रूपमा काउन्सिलको बैठक बसी अगाडि कसरी बढ्ने भन्ने विषयमा छलफल भएको बताए । ‘सामान्यता काउन्सिल बैठक आह्वान गर्दा तीन दिन अग्रिम सूचना दिइन्छ तर यो केसमा उजुरी परेको अर्को दिननै अकास्मिक बैठक बस्यौं,’ उनले भने, ‘यस विषयलाई अनुशासन कमिटिमार्फत पनि हेर्ने कि भन्ने पनि भएको हो तर विषय संवेदनशीलतालाई हेरेर छुट्टै छानविन समिति बनाउने निर्णय भएको हो।’ आइक्यानको जानकारीमा यसअघि यस्ता घटना नआएकोले पनि अन्यौलता देखिएको उनले स्वीकारे । ‘यसले हामीलाई पनि अन्यौल बनाएको हो, तर हामीले यस विषयलाई गम्भीरताका साथ लिएका छौं, पीडितले छिट्टै न्याय पाउनुपर्छ र भविश्यमा यस्ता घटना नहोरिउन भन्ने कुरामा काउन्सिल सचेत छ,’ उनले भने ।
आइक्यानले बनायो छानविन समिति
आइक्यानले उजुरीको छानविनका लागि तीन सदस्यीय छानविन समिति गठन गरेको छ । आइक्यानले छनविन हुने र न्यायका लागि अन्य निकायमा जान आग्रह समेत गरेको छ । ‘नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्थाका सदस्यवाट इमेलमार्फत प्राप्त कार्यस्थलमा भएको यौन दुव्र्यवहारसँग सम्बन्धित गुनासो र विभिन्न सामाजिक संजालमा आएका घटनाको सन्दर्भमा संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ आइक्यानले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यस सम्बन्धमा संघमा निवेदन दिने सदस्यसँग संघ नियमित सम्पर्क तथा परामर्शमा रहेको र यस घटनासम्बन्धी कानूनी प्रक्रियामा अघि बढ्न र अन्य सम्पूर्ण सहयोग प्रदान गर्न यस संघ तत्पर रहेको जानकारी गराउँदछौं ।’
चार्टड एकाउण्टेण्टसँग सम्बन्धित भएर यस किसिमका घटना आउनु सम्पूर्ण सदस्यका लागि लज्जाबोधको विषय भएको आइक्यानको भनाइ छ । ‘यस किसिमका घटनाले चार्टर्ड एकाउण्टेण्ट जस्तो मर्यादित पेशाको छविलाई आँच पुर्याउने देखिन्छ । यस किसिमका घटनामा पीडित पक्षको गोपनीयताको ख्याल राखी निष्पक्ष छानविन गरी दोषीउपर हदैसम्मको कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्दछौं,’ आइक्यानले भनेको छ।
आइक्यानले संघका सदस्य कोही कसैमा यस किसिमका घटनाहरु भएको भए आइक्यानको आधिकारिक इमेलमा गुनासो दर्ता गर्न सकिने व्यवस्था गरिएको बताएको छ। यस किसिमका घटना हुन नदिन तथा कार्यस्थलमा महिला मैत्री वातावरण सिर्जना हुनेगरी ‘सेक्सुअल ह्यारेस्मेन्ट प्रिभेन्सन पोलिसी’ तयार गर्न लागू गर्न आइक्यानले आग्रह गरेको छ । साथै यस किसिमका घटनामा शून्य सहनशीलता अपनाउन आइक्यानले आग्रह गरेको छ ।
अडिट फर्ममा पेन डाउन
यौन दुव्र्यवहारको घटना बाहिरिएको पछि विभिन्न अडिट फर्मको कर्मचारीले निष्पक्ष छानविनको माग गर्दै काम रोकेका (पेन डाउन) छन् । आरोपितको फर्मका कर्मचारीले समेत पेन डाउन गरेको बताइएको छ । उनको फर्ममा काम गर्दै आएका कर्मचारीले ओरोपीतले वर्षौंदेखि दुव्र्यवहार गर्दै आएको आरोप लगाएका छन्।
घटना बाहिरिएपछि आरोपितको अडिट फर्ममा एनकासाको टिमले अनुगमन गरी छलफल गरेको बताइएको छ । छलफल पश्चात उक्त फर्मका कर्मचारीले दुव्र्यवहार भएको कुरालाई समर्थन गर्दै समूहगत रूपमा पेन डाउन गरेका थिए। एनकासाले उक्त घटना पछि सार्वजनिक विज्ञप्ति जारी गर्दै यस्ता घटना भएको भए सम्पर्कमा आउन आग्रह गरेको थियो। कात्तिक ११ को सूचना पनि १२ गते एनकासाको औपचारिक इमेलमार्फत ७ जनाले आफूहरूमाथि विभिन्न समयमा यौन दुव्र्यवहार भएको भन्दै जानकारी गराएको एनकासाका अध्यक्ष महेन्द्र खड्काले जानकारी दिए।
के हुन्छ कारबाही ?
एनकासाकै सक्रियतामा औपचारिक रुपमा आइक्यानमा सामुहिक उजुरी गरिएको उनले जानकारी दिए। यस विषयलाई थप न्यायायिक निकायसम्म पु¥याउन पीडित पक्षको सहमतिमा राष्ट्रिय महिला आयोगमा उजुरी समेत गरिएको उनको भनाइ छ । एनकासाले पीडित पक्षको प्रतिनिधित्व गर्दै एनकासाका प्रतिनिधि, पीडितकोसहकर्मी, आइक्यानका अध्यक्ष, कार्यकारी निर्देशक साथै अन्य व्यक्तिसँग अनौपचारिक छलफल गरिएको बताइएको छ । ‘त्यस छलफलबाट यस किसिमको यौन दुव्र्यवहारका लागि आइक्यानसँग कानून नभएको बताइयो,’ अध्यक्ष खड्काले भने।
एनकासाले यस विषयलाई अन्तरराष्ट्रिय फोरममा पनि पुर्याएको बताइएको छ । एनकासाले साउथ एसियन फेडेरेसन अफ एकाउण्ट्स (साफा) र कन्फेडेरेसन अफ एसियन एण्ड प्यासेफिक एकाउण्ट्स (कापा)लाई समेत छानविनको लागि आग्रह गरिएको र ती संस्थाबाट पनि यस विषयलाई गम्भीरताका साथ लिएको जानकारी आएको अध्यक्ष खड्काले जानकारी दिए।
आइक्यानका एक काउन्सिल सदस्यले छानवीन समितिलाई एक महिना समय दिएको बताए। समितिको सिफारिसको आधारमा कारबाही हुने उनको भनाइ छ। ‘यो केस प्रहरीमा पनि जाला र कानून अनुसार कारबाही पनि होला तर हामीले गर्न सक्ने कारबाही भनेको लाइसेन्स सस्पेन्स तथा सदस्यता खारेजी सम्म हो,’ उनले भने, ‘समितिले कि त आरोपितलाई क्लिन चिट दिन्छ कि त कारबाहीको सिफारिस गर्छ।’
पीडितलाई होस्टाइल बनाउने प्रयास !
घटना बाहिरिएपछि एनकासाले न्यायको लागि प्रहरीमा जाने प्रयास भएको भएपनि आरोपितले पीडितलाई ‘होस्टाइल’ बनाएको आरोप लगाए। ‘हामीले कात्तिक १३ गते साँझ प्रहरीमा पीडितसहित उजुरीका लागि प्रहरीमा गएका थियौं तर त्यसदिन ढिला भएको भन्दै अर्को दिन बोलाइयो,’ एनकासाका अध्यक्ष खड्काले भने, ‘राति पीडित र परिवारलाई आरोपितले के भनेर दवाव दिए अर्को दिन प्रहरीमा जान तयार भइनन् ।’ उनले सामाजिक कारण र ओरोपितको दवावका कारण पीडित खुल्न नचाहने गरेको बताए। उनले भने, ‘गोपनीयता नखोल्ने शर्तका अनुसन्धानमा सघाउन पीडितहरू तयार छन्, यसका लागि सबैको सहयोग आवश्यक छ।’ पीडित कुनै न कुनै रूपमा विभिन्न संस्थामा पुगेकोले यस्ता घटना नदोहोर्याउन एउटा निष्कर्शमा पुग्नुपर्ने उनको भनाइ छ ।
यस विषयमा ओरोपितसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।