‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता–२०८१’ घोषणा, कथा उपलब्ध गराउन आह्वान

Image

काठमाडौं । बाह्रखरी मिडियाले छैटौं ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता–२०८१’ घोषणा गरेको छ । मिडियाले आज काठमाडौंमा पत्रकार सम्मेलनमार्फत कथा लेखनको सम्वर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले विगत पाँच वर्षदेखि जारी रहेको अभियानको अर्काे शृङ्खला घोषणा गर्दै कथा उपलब्ध गराउन कथाकारहरूलाई आह्वान गरेको हो ।

आख्यान साहित्यको सशक्त विधा कथा लेखनमा स्थापित र नयाँ कथाकारहरूको प्रतिभालाई प्रोत्साहन एवम् पुरस्कृत गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाइएको छ । नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको दावी गरिएको यस प्रतियोगितामा कात्तिक ५ गतेसम्म सम्पूर्ण प्रतियोगी कथाकारहरूले 12Kharibooks@gmail.com मा इमेल गरेर कथा पठाउन सक्ने मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानले जानकारी दिए । नेपाली भाषाका सर्जकहरूले संसारभरबाट कथा पठाउन सक्नेछन् ।

उक्त प्रतियोगिताको यसपालिको निर्णायक समूह संयोजकमा लेखक प्रा.डा. ज्ञानु पाण्डे रहेका छन् भने सदस्यमा लेखक तथा समालोचक डा. गीता त्रिपाठी र साहित्यकार धीरेन्द्र प्रेमर्षि छन्। बाह्रखरीमा प्राप्त भएका सबै कथाहरूलाई पहिलो चरणमा बाह्रखरीका विचार सम्पादक गोविन्द अधिकारीको संयोजकत्वको आन्तरिक समूहले छनोट गरी त्यसमध्येबाट ५० कथा निर्णायक समूहमा पठाउने जनाइएको छ । ती ५० कथामध्येबाट निर्णायक समूहले प्रथम, द्वितीय र तृतीय कथाका साथै ‘उत्कृष्ट कथा २०८०’ का लागि थप २२ कथा छानेर पठाउनेछ । 

प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षहरूमा जस्तै क्रमशः रू. एक लाख, रू. ६० हजार र रू. ४० हजार रुपैयाँ नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ । अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथा समेटेर पुस्तक प्रकाशन गरिनेछ । संग्रहमा प्रकाशित हुने अन्य २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ ।

गतवर्ष यस प्रतियोगितामा विश्वभरिबाट आठ सय ४३ कथा प्राप्त भएको थियो । यस वर्षको कथा प्रतियोगिताको नतिजा २०८१ मङ्सिर १४ गते शुक्रवार एक विशेष समारोहबीच सार्वजनिक गरिनेछ । सोही दिन कथासंग्रहको पुस्तक ‘उत्कृष्ट कथा–२०८१ को लोकार्पण पनि गरिनेछ ।यसअघि प्रथम संस्करणमा मकवानपुरकी बिना थिङ तामाङको ‘ब्याड भाले’ प्रथम भएको थियो । त्यस्तै, लक्ष्मण वियोगीको ‘टाउको’ द्वितीय र सुमित्रा न्यौपानेको ‘बार्दली’ तृतीय भएको थियो ।

प्रतियोगिताको दोस्रो संस्करणमा लहानकी मुना चौधरीको ‘लार’ प्रथम, श्रेयज सुवेदीको ‘बेजोडा’ द्वितीय र दीपेन्द्र दोङ तामाङको ‘बुलेट बाइक’ तृतीय भएको थियो । तेस्रो संस्करणमा मोरङका मनोजादित्य न्यौपानेको ‘अन्तिम अतिथि’ प्रथम, स्वप्निल नीरवको ‘बूढो घर’ द्वितीय र रेणुका जिसीको ‘मुडुली’ तृतीय भएको थियो । चौथो संस्करणमा दाङका नवीन अभिलाषीको कथा ‘दमाहा’ प्रथम, रमेशजङ्ग थापाको ‘डढेको आकाश’ द्वितीय तथा रुमु न्यौपानेको ‘घूँघट’ तृतीय भएको थियो ।

पाँचौँ संस्करणमा लमजुङका मनोजबाबु पन्तको कथा ‘बूढो लाँकुरीको रुख’ प्रथम, काठमाडौँका प्रमोद प्याकुरेलको ‘काँचुली’ द्वितीय र गुल्मीका विजय हितानको ‘चेपाङ, चमेरा र चिउरी’ तृतीय भएको थियो । कथा कम्तीमा १,५०० शब्द र बढीमा ४,००० शब्दसम्मको हुनुपर्नेछ ।
घोषणा कार्यक्रममा आख्यानकार नयनराज पाण्डेले कथालेखन शैलीबारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा निर्णयक संयोजक प्राडा ज्ञानु पाण्डे, निर्णयक समूहका सदस्य धिरेन्द्र प्रेमर्षि, फाइन प्रिन्टका प्रमुख निरज भारीलगायतले धारणा राखेका थिए ।
 

Tags: