अध्यक्ष थापाद्वारा क्यान्सर पीडित घिसिङलाई ५० हजार सहयोग 

Image

काठमाडौं – अन्तर्राष्ट्रिय नेप्लिज सेफ्स सोसाइटी यूकेका अध्यक्ष एवम् नेपाल सेफ एशोसियसनका संस्थापक महासचिव अर्जुनबहादुर थापाले क्यान्सर रोगबाट पीडित युवा सेफ प्रेमलाल घिसिङलाई ५० हजार रुपैया सहयोग गरेका छन् । घिसिङको निवास कोटेश्वरमा सोमबार पुगेर अध्यक्ष थापाले सो रकम प्रदान गरेका हुन् ।

घिसिङले यस वर्षको रैथाने खानाको खोजी, अध्ययन र नेपाली खानाको प्रवद्र्धन गर्न  सोसाइटीले स्थापना गरेको ५० हजार राशिको “आइएनसीएस ग्लोबल रैथाने फुड अवार्ड २०२३” प्राप्त गरेका थिए । रैथाने खाना, लोक परिकार अनुसन्धान संकलकसहित १०१ दिनको खोजी यात्राका अभियान र खोजीकर्ता ३२ वर्षीय घिसिङ उक्त रोगको उपचार गर्दै छन्। 

विक्रम सम्वत् २०४० मा सोल्टी होटल काठमाडौबाट काम शुरु गरेका बेलायत निवासी थापा गतवर्षदेखि ‘द चेडी होटल अन्डरमाट  स्वीटजरल्याण्ड’मा सेफका रुपमा कार्यरत छन् । अध्यक्ष थापाले सेफ घिसिङको उपचारको लागि विभिन्न सेफहरुबाट संकलित २ लाख ६० हजार रुपैया यस अघि प्रदान गरिएको जानकारी दिँदै थप उपचारको लागि सक्दो सहयोग गर्न सबैलाई आग्रह गरे ।  

विशुद्ध पेशागत संस्थाका रुपमा बेलायतको कम्पनी हाउसमा सन् २०२० मा अन्तर्राष्ट्रिय नेपलीज सेफ सोसाइटी युके गठन भएको थियो । यसले स्थापनादेखिनै नेपालभित्र र बाहिरका नेपाली सेफहरूको व्यावसायिक क्षमता विकास र रैथाने नेपाली खानाको प्रवद्र्धनमा योगदान दिँदै आएको सोसाइटीका मेण्टर सूर्यकिरण श्रेष्ठले बताए । थापाले महावीर पुनको आविष्कार केन्द्रलाई पनि गतवर्ष एक लाख रुपैया सहयोग गरेका थिए।
 

Tags: