डेंगी संक्रमण घट्दै
काठमाडौं । नेपालमा डेंगी संक्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जाडो बढ्नुका साथै सरकारले डेंगी सार्ने लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरेपछि कात्तिकयता संक्रमण घट्दै गएको बताएका छन् ।
सरकारले डेंगीको संक्रमण बढ्न थालेपछि हरेक शुक्रवार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको छ । उनका अनुसार अहिले नेपालमा ४२औं हप्ताबाट डेंगी संक्रमण घट्न थालेको हो । नेपालमा अहिले डेंगी संक्रमणको ४५औं हप्ता चलिरहेको छ ।
दाहालले ४२औं हप्तामा मात्रै दुई हजार पाँच सय ८२, ४३औं हप्तामा दुई हजार दुई सय चार, ४४औं हप्तामा एक हजार ७१ र ४५औं हप्ता चलिरहँदा ५५ जनामा मात्र संक्रमण देखिएको जानकारी दिए । ‘जाडो बढेसँगै डेंगी संक्रमण घटिरहेको छ,’ उनले भने, ‘४५ हप्तामा आइपुग्दा फाट्टफुट्ट मात्र देखिन थालेका छन् । संक्रमण घटे पनि सावधानी अपनाउनुपर्छ ।’
अहिलेसम्म २९ हजार एक सय ५८ मा संक्रमण भएको भन्दै १२ जनाको निधन भएको किटजन्य रोग शाखाका प्रमुख दाहालले जानकारी दिए । उनका अनुसार डेंगी संक्रमण हुम्ला बाहेक सबै जिल्लामा देखिएको छ ।
सबैभन्दा बढी कास्कीमा सात हजार दुई हजार २४ जनामा डेंगी संक्रमण देखिएको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगी रोग लाग्दछ ।
उपत्यकामा ६ हजार ६ सय १२ जनामा डेंगी संक्रमण देखिएको छ । काठमाडौंमा चार हजार पाँच सय ९५, भक्तपुरमा आठ सय ३१ र ललितपुरमा एक हजार एक सय ८६ जनामा डेंगी संक्रमण देखिएको हो । रासस