नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त
काठमाडौं – नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छिन् । नेपाल सरकार, मन्त्रिपरिषद्को भदौ २० को निर्णय बमोजिम उनलार्ई कम्पनीको प्रबन्ध निर्देशक पदमा चार वर्षको पदावधि रहने गरी नियुक्त गरिएको हो ।
यसअघि उनी कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । नवनियुक्त प्रबन्ध निर्देशक अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बी.ई. र थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम.ई. गरेकी छिन् । उनले २०४९ चैत्र २३ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरी २०५१ फाल्गुण १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिएकी थिइन् ।
पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक अर्यालले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास र सद्भावका लागि धन्यवाद व्यक्त गर्दै, पदको गरिमा र सबैको आफूप्रतिको विश्वासलाई उच्च प्राथमिकतामा राखेर संस्थालाई थप उचाइमा लैजान आफ्नो पूर्ण ऊर्जा खर्चिने प्रतिवद्धता व्यक्त गरिन् ।