एसइईको परिणाम र सुधारमा चाल्नुपर्ने कदम

Image

एसइईका परिणामले सबैको ध्यान तान्ने गरेको छ। यसपालीको एसइईको परिणाम अगाडिका केही वर्षका परिणामको तुलनामा केही फरक देखियो । खासमा यसभन्दा अगाडिका केही वर्षका एइईका परिणामप्रतिको बुझाईमा नै फरक थियो । किनकी कोभिड महामारी र त्यस यताका परिणामलाई हेरेर जे गरे पनि पास भइहालिन्छ भन्ने भ्रम विद्यार्थीमा पनि थियो । अहिले थ्यौरीमा ३५ प्रतिशत र प्राक्टिकलमा ४० प्रतिशत ल्याउनुपर्ने प्रावधान आयो, त्यसभन्दा अगाडि एग्रिगेटमा ४० प्रतिशत आए हुने भन्ने थियो ।

अर्को कुरा परिणामलाई असर पार्ने कक्षा कोठा व्यवस्थापनको कुरा पनि महत्वपूर्ण हो । परिणाममा शिक्षकले पूरा जिम्मेवारी लिनुपर्छ, एक वर्षसम्म विद्यार्थी पढाएर पास गराउन नसक्दा आफ्नो कमजोरी कहाँ नेर भयो भनेर खोज्न सक्नुपर्छ, आफ्नो, विद्यार्थीको, अभिभावकको कमजोरी कहाँ कहाँ छ भनेर त्यसको पहिचान गर्नुपर्छ र सँगै बसेर त्यसको समाधान गर्नतर्फ लाग्नुपर्छ।

त्यसो त परिणाममा असर गर्ने नीतिगत कारण पनि छन् । वि.स २०२८ को शिक्षा नीतिले अहिले पनि काम गरिरहेको छ । त्यसलाई समयानुसार परिमार्जन गर्नुपथ्र्यो । शिक्षा नीतिले मात्र दिशा निर्देष गर्न सक्छ । नीतिमा शिक्षकको जिम्मेवारी, सजाय तथा प्रोत्साहनको स्पष्ट व्यवस्था आउनुपर्छ। जबसम्म यस्तो नीति आउन सक्दैन तबसम्म गुणस्तरीय शिक्षा बन्न सक्दैन। अहिले छलफलमा रहेको विद्यालय शिक्षा विधेयक पनि खासै प्रभावकारी देखिन्न । यसले कसरी गुणस्तरीय शिक्षा बनाउने भन्ने कुरामा बोलेकै छैन। नीतिमै भएका अष्पष्टताले कसरी शिक्षामा गुणस्तर ल्याउने भन्ने कुरामा अन्यौलता छ। कक्षा कोठाको व्यवस्थापन तथा सुधार, शिक्षकलाई प्रोत्साहन तथा सजायको व्यवस्था नहुँदा सम्म शिक्षामा गुणस्तर आउन सक्दैन ।

तत्कालको लागि राज्यले तीन खालका नीति बनाउनुपर्छ। जुन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति हो। राज्यले यी नीति बनाउने र सरोकारवाला निकायसँगको समन्वयमा कार्यान्वयनको लागि अपनत्व लिँदै कार्यान्वयनमा लैजानुपर्छ । सामुदायिक विद्यालयको तुलनामा नीजि क्षेत्रले सञ्चालनमा ल्याएका विद्यालयमा परिणाममा अहिले पनि सुधारात्मक छ। यो क्षेत्रका समय, श्रम र पैसाको लगानी हुने भएको कारण शैक्षिक गुणस्तरमा केही चनाखो हुने कुरालाई स्वीकार्नु पर्छ । यसका व्यवस्थापन कसरी परिणाम राम्रो ल्याउने भन्ने कुरामा ध्यान केन्द्रीत भएका हुन्छ । शिक्षण सिकाई कस्तो हुनुपर्छ, कक्षा कोठा व्यवस्थापन कस्तो हुनुपर्छ, शिक्षक, कर्मचारीको जिम्मेवारी कस्तो हुनुपर्छ भन्ने कुरामा केही सचेत रहनुपछ। सोही अनुसारका योजना बनाउनुपर्छ, त्यसको कार्यान्वयनको समीक्षा गरेर अगाडि बढ्नुपर्छ। सबैतिर परिवर्तन ल्याउने शिक्षाले हो, जबसम्म शिक्षामा फड्को मारिन्न, देश पछाडि पर्छ ।

अहिलेका विद्यार्थी ‘स्मार्ट’ विद्यार्थीमा पर्छन् । उनीहरूलाई विश्वका विभिन्न क्षेत्रको राम्रो ज्ञान छ । अब विद्यार्थीभन्दा टिचर स्मार्ट हुनुपर्छ। टिचर फेजआउट नभएर अपडेट र अपग्रेड हुनुपर्छ। अहिले शिक्षकले डेलिभरी गरिरहेका हुन्छन् तर विद्यार्थीले बुझे नबुझेकोमा समस्या छ। कक्षा कति अन्तरक्रियात्मक छ भन्ने कुरामा ध्यान दिनुपर्छ। अर्कोतिर हामीले विद्यार्थी स्मार्ट बन्दै गएका छन् भन्दा उनीहरूले प्रविधिको प्रयोगभन्दा बढी दुरुपयोग गरेका छन् कि भन्ने कुराको सुनिश्चितता र नियन्त्रणको लागि शिक्षक, विद्यार्थी, अभिभावक सबै जिम्मेवार बन्नुपर्छ। प्रविधिलाई अस्वीकार गरेर अगाडि बढ्ने होइन सँगसँगै व्यवस्थित रुपमा अगाडि लैजाने योजना बन्नुपर्छ, तर त्यस्तो भएको देखिन्न । यसलाई सार्थक बनाउने प्रयास विद्यालयको पहलमात्र अपर्याप्त हुन्छ। विद्यार्थीले २० प्रतिशत विद्यालय र ८० प्रतिशत समय घरमा बिताउने हुँदा अभिभावकले आफ्नो बच्चाका लागि समय दिन सक्नुपर्छ। अहिले शिक्षा क्षेत्रमा देखिएको समस्या समाधानको लागि राज्य र योसँग जोडिएका सरोकारवाला निकाय, विज्ञले राम्रोसँग छलफल गरेर सबैले अपनत्व लिँदै अगाडि बढेमात्र समस्या समाधान निकाल्न सकिन्छ।

साउथ वेस्टर्न स्टेट कलेज आइएसओ सर्टिफाइड कलेज हो । हामी यूजिसीबाट क्यूएएको प्रक्रियामा पनि छौं । यो साउथ वेस्टर्न ग्रुप अन्तर्गत सञ्चालित छ। ग्रुपमार्फत ७ ओटा संस्था सञ्चालनमा छन्। कलेज हामीले १४ वर्ष अगाडि १२९ जना विद्यार्थीबाट शुरु गरेका हौं। अहिले हामीले पिजीदेखि पिएचडीसम्मका कार्यक्रम सञ्चालनमा छन्। जहाँ ५ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। कक्षा ११ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानून संकायका कक्षा सञ्चालनमा छन्।
(साउथ वेस्टर्न स्टेट कलेजका सहायक क्याम्पस प्रमुख केसीसँगको कुराकानीमा आधारित)

 

Tags: