नेपाली महिला उद्यमीद्वारा थाई चेम्बरका प्रतिनिधिसँग भेटवार्ता, द्विपक्षीय लगानी अभिवृद्धिका बारेमा छलफल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको महिला उद्यमी विकास समितिको प्रतिनिधि मण्डलले थाइल्याण्डस्थित थाई चेम्बर अफ कमर्शका प्रतिनिधहरूसँग बैंककमा व्यवसायिक भेटवार्ता गरेको छ । प्रतिनिधि मण्डलले थाई चेम्बर अफ कमर्शका उच्च पदाधिकारी तथा त्यहाँका उद्योगी व्यवसायीसँग द्विपक्षीय लगानी अभिवृद्धिका बारेमा छलफल गरेको बताइएको छ।
सो टोलीमा महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, केन्द्रीय सदस्य नरेशलाल श्रेष्ठ, किशोर आचार्य, केन्द्रीय सदस्य तथा महिला उद्यमी विकास समितिका सभापति कमला श्रेष्ठ र व्यापार तथा निकासी प्रवद्र्धन विकास समितिका सदस्य निराजन चलाउने लगायत सहभागी छन्।
थाई चेम्बर अफ कर्मशको निमन्त्रणामा बैकक पुगेको प्रतिनिधमण्डलले द्विपक्षीय भेटका अवसरमा नेपालमा लगानीको पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै थाई उद्योगी व्यवसायीलाई नेपालमा लगानीका लागि आग्रह गरेको थियो । यस्तै नेपाली प्रतिनिधिमण्डलले नेपालमा आयोजना हुने अन्तरराष्ट्रिय मेला महोत्सवमा भाग लिन तथा अन्य सहकार्यका क्षेत्रहरू पहिचान गरी नेपालकमा लगानी गर्न पनि थाई व्यवसायीलाई आग्रह गरेको थियो ।
नेपाली व्यवसायीलाई स्वागत गर्दै थाई चेम्बरका बोर्ड अफ ट्रेड बन्जरड चोल्भीजानले नेपाली महिला उद्यमीहरूको क्षमता अभिवृद्धि तथा अन्य सहकार्यका लागि थाई चेम्बर सकारात्मक रहेको बताए। सो अवसरमा थाइल्याण्डस्थित नेपाली दुतावासका डेपुटी चिफ अफ मिशन प्रकाश भण्डारीको पनि सहभागिता थियो ।