मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बुद्ध एयरमा ८ प्रतिशत छूट

Image

काठमाडौं – मुक्तिनाथ विकास बैंकका कर्मचारी र ग्राहकलाई बुद्ध एयरले छूट दिने भएको छ । बुद्ध एयरको हवाई टिकट खरीदमा छूट दिनेसम्बन्धी व्यावसायिक सम्झौता भएको हो । सम्झौतामा एक कार्यक्रमका बीच बैंकका मार्केटिङ विभाग प्रमुख विनयरत्न शाक्य र बुद्ध एयरका मार्केटिङ सेल्सका निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअनुसार बैंकका मोबाइल बैंकिङ तथा भिजा कार्ड प्रयोगकर्ता ग्राहकले बुद्ध एयरको टिकट काउन्टरबाट हवाई टिकट खरीद गर्दा ८ प्रतिशतसम्म छूट पाउने छन् । केही दिन भित्रमा बुद्ध एयरको मोबाइल एपबाट समेत सो सुविधा लिन सक्ने व्यवस्था मिलाउन लागेको बताइएको छ ।

साथै, बैंकले ‘नेपालमै टिक्न ,सजिलो छ’ नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजना ल्याएको जानकारी दिएको छ । डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिजा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट रकम झिक्न विशेष छूटको व्यवस्था गरेको बताइएको छ । त्यसै गरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा लगायत कार्य बैंकको शाखामा उपस्थित नभई घरबाट नै गर्न सकिने व्यवस्था बैंकले गरेको छ । 

 

Tags: