संघर्षबाट स्थापित ‘राजेन्द्र’

Image

शैक्षिक परामर्शको क्षेत्रमा १८ वर्षदेखि काम गर्दै आएको ‘केआईईसी प्रालि’ शैक्षिक परामर्श व्यवसायमा सुपरिचित संस्था हो । केआईईसीलाई जन्माएर हुर्कदाँसम्मका साक्षी राजेन्द्र रिजाल यसका संस्थापक हुन् । यसकै जगमा अहिले उनी यो व्यवसायमा स्थापित मात्र भएका छैनन्, अरु व्यवसायलाई पनि सफल रुपमा अगाडि बढाएका छन् ।

२०४० सालमा बेलबारी मोरङमा जन्मिएका राजेन्द्रका पछाडि संघर्ष, लगाव, प्रयास जोडिएका छन् । मोरङमा जन्मिए पनि उनको हुकाई, पढाइ सबै काठमाडौंमा बित्यो । सानै उमेरमा परिवारसहित काठमाडौंमा आएका उनको कक्षा २ देखिको अध्ययन र हुकाई काठमाडौंमा भयो । सन्तानको रूपमा उनी, दिदी र बहिनी रहेका उनको पारिवारिक अवस्था सामान्य थियो ।

शुरुमा उनी काठमाडौं आउँदा बुवा पालेको रूपमा गार्मेन्टमा काम गर्थे, उनीहरूको परिवार त्यो समय भिमसेनगोलामा बस्थ्यो । आमाले नाङ्लो पसल चलाउँथिन् । पछि आमाले तरकारी पसल र बुवाले पेन्टिङ गरे । राजेन्द्र बच्चामा धेरै खेल्न मन पराउँथे । क्रिकेट, टेवलटेनिस उनका रुचिका खेल थिए । ‘कक्षा ५ सम्म मेरो पढाइ राम्रो थिएन, म र मेरो दिदीले एउटै कक्षामा पढ्थ्यौं, कक्षा ६ मा सेक्सन चेन्ज भयो दिदी र म एकै ठाउँ भएनौं, त्यस पछि मेरो पढाइ एकदमै राम्रो भयो, ’उनले विगत संझिए, ‘म आफैलाई पढ्नुपर्छ भन्ने लाग्यो, त्यसपछि मलाई कहिल्यै पनि पढाईमा पछि फर्कनु परेन ।’


व्यवसायमा संलग्न नहुँदै राजेन्द्र अनलाइन विज्ञापनसम्बन्धी काम गर्थे । जहाँ साईवर क्याफेमा बसेर विदेशी प्रोजेक्टको लागि काम गर्नुपथ्र्यो, यसबाट सामान्य आम्दानी हुने गथ्र्यो । ‘आम्दानी राम्रो थिएन तर यसबाट सिक्नुपर्छ भन्ने मलाई थियो तर पछि त्यो कम्पनी बन्द भयो, पछि एउटा त्यस्तै कम्पनीमा टिचरको रुपमा काम गर्न गएँ, ’ उनले भने । घरबाटै अनलाइनमा काम गर्न मिल्ने प्रकृतिको त्यो कम्पनीमा उनले २ वर्ष पढाए, पछि कम्पनीले आफ्नो कार्यालय सारेर पुतलीसडक आयो तर पार्टनरबीचको असमझदारीका कारण कम्पनी विक्री गर्ने योजना बन्यो । ‘आफूसँग काम गरेको अनुभव पनि थियो, क्लाइन्ट पनि थिए, आफै व्यवसाय किन अगाडि नबढाउने भन्ने मनमा आयो, एकजना जीवन रिजाल नामका साथीसँग मिलेर कम्पनी जिम्मा लियौं, ’ उनले भने ।

कम्पनी अगाडि बढाउँदा उनको मनमा अर्को योजना आयो । कम्पनीको नाम ‘काठमाडौं इन्फोसिस’ थियो । विद्यार्थीलाई सिकाउने कम्पनी भएको कारण ‘काठमाडौं इन्फोसिस एजुकेसन कन्सल्टेन्सी’ नाम राखौं भन्ने उनलाई लाग्यो । ‘काठमाडौं नाम आकर्षक देखिने, इन्फोसिस लेख्दा विदेशी आकर्षित हुने र एजुकेसन कन्सल्टेन्सीले विद्यार्थी आकर्षण गर्न सकिने,’ उनले भने । खासमा उनलाई त्यो समय पुतलीसडक, बागबजार क्षेत्रमा कन्सल्टेन्सी छन् भन्ने पनि थाहा थिएन । यतिसम्म उनलाई विद्यार्थी विदेश जान्छन् र कन्सल्टेन्सीले यसको सहजीकरण गर्छ भन्ने पनि थाहा थिए । संयोगले जुरेको अवधारणा अहिले उनको बलियो व्यवसाय बन्यो ।
 
त्यो समयमा आफ्नो अनलाइन जागिरको लागि कान्तिपुरमा वर्गिकृत विज्ञापनमा विज्ञापन गरे । धेरै विद्यार्थीले त्यसमा आवेदन दिए । उनीहरूले विद्यार्थीहरूबाट १५०० रुपैयाँ लिएर अनलाइन बनाउन सिकाउँथे, पछि तिनै विद्यार्थीहरूले विदेश अध्ययनका लागि जाने योजना बनाएको बताउँथे, उनले विदेश कसरी विदेश अध्ययनमा पठाउन सकिन्छ भन्ने बुझ्न लागे र पहिलो पटक ‘स्टडी इन फिन्ल्याण्ड’ भन्ने सूचना निकाले । ‘हामीले फिन्ल्याण्ड रोज्नुको कारण थियो, त्यहाँ अध्ययन गर्नको लागि पैसा लाग्दैन थियो, अध्ययनको ग्यापले पनि केही गर्दैन थियो र आईएलटिएस, टोफल केही पनि आवश्यक पर्दैनथ्यो, ’ उनले फिन्ल्याण्ठ छान्नुको अनुभव सुनाए । त्यतिबेला उनीहरूले डेढ–दुई सय विद्यार्थी पठाए ।

फिन्ल्याण्डपछि सन् २००८–२००९ तिर अष्ट्रेलिया विद्यार्थी पठाउन थाले । सुरु मै दुई–तीन सय जना विद्यार्थी पठाए । त्यसबाट राम्रो आम्दानी समेत गरे । सन् २००९ तिर अष्ट्रेलियामा विद्यार्थी लैजान कम भएपछि, बेलायतमा विद्यार्थी पठाउन थाले । उनले भने, ‘बेलायतमा हाम्रो राम्रो काम भयो, यसबाट मेरो आर्थिक अवस्थामा पनि सुधार आयो ।’

५० हजारबाट शुरु गरेको व्यवसाय अहिले धेरै माथि पुगेको छ । यसबीचमा धेरै उतारचढाव पनि आए । व्यवसाय शुरु गर्दाका पार्टनर बाहिरिए, पार्टनरको त्यो शेयर नमिता श्रेष्ठले किनिन्, व्यावसायिक पार्टनर नमितापछि लाइफ पार्टनर बनिन् ।

उनले व्यवसाय शुरु गरेका १८ वर्ष पूरा भएको छ । व्यवसायलाई ब्राण्ड बनाएर अगाडि बढेका राजेन्द्र यसमा यही व्यवसायमा गरिएको व्यावसायिक इमान्दारिता नै मुख्य कारण भएको बताउँछन् । अहिले कन्सल्टेन्सी व्यवसायमा धेरै विकृति देखिन्छन्, उनी व्यवसायभन्दा बाहिर गएर गरिने अनैतिक कामलाई व्यवसाय नै भन्न रुचाउँदैनन् । व्यवसायी भित्रका यीनै विकृतिका कारण समर्ग व्यवसायी माथि नै दाग लाग्ने उनको बुझाइ छ ।

यस्ता विकृतिलाई हटाउनको लागि राज्यले पहल गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘राज्य नियामक निकाय हो, हामीले भन्दा पनि यस्ता गतिविधि नियन्त्रण गर्नको लागि सरकारले पहल गर्नुपर्छ । बरु यस क्षेत्रमा हाम्रो विज्ञता आवश्यक परेको अवस्थामा सहयोग गर्न तयार छौं ।’

नेपालको शिक्षा राम्रो भएपनि यसको व्यवस्थापकीय र नीतिगत सुधार आवश्यकता भएको उनी बताउँछन् । उनले भने, ‘हामीले नेपालको शिक्षा राम्रो छैन भनेर कहिले पनि भनेका छैनौं । नेपाली विद्यार्थी इमान्दार, लगनशिल र दक्ष भएकै कारण विदेशमा स्थापित हुन सकेका छन् ।’ विद्यार्थीलाई देशमा या विदेशमा शिक्षा लिने रोजाइको विकल्प हुने उनको बुझाइ छ । ‘विद्यार्थीले आफ्नो भविश्य र प्रगति जुनमा देख्छन्, त्यही नै अध्ययन गरिरहेका हुन्छन्, ’ उनले भने, ‘अर्को कुरा नेपाली विद्यार्थीले गरेको प्रगति जहाँ गएर गरेपनि एउटा नेपाली विद्यार्थीले गरेको प्रगति हो । उनीहरुले यहाँ सम्भावना नदेखेर विदेशमा गएका हुन् । यसलाई सामान्य रुपमा लिनुपर्छ ।’

अर्कोतिर विदेश अध्ययनका लागि जाने भन्ने कुरा ट्रेण्ड नै बन्न थालेको उनको भनाइ छ । उनले भने, ‘क्याटेगोरी वानका कन्ट्रीमा जाने जो कोहीको सपना हुन थाल्यो, त्यसको सहज बाटो भनेकै विद्यार्थीको रूपमा जाने विकल्प प्रमुख हो ।’

बाहिरका विद्यार्थीलाई नेपालमा अध्ययन गराउन ल्याउनका लागि धेरै सम्भावना उनी देख्छन्। ‘सम्भावना धेरै छन् । आकर्षित गर्नका लागि यहाँको प्राकृतिक सम्पदा देखि सबै कुरा राम्रो छ तर त्यसको लागि धेरै कुराको सुनिश्चितता आवश्यक छ, त्यो खालको वातावरण बन्नुपर्छ, बनाइनुपर्छ । प्राकृतिक, सांस्कृति सम्पदा, यहाँको भूगोललाई मात्र देखाएर पुग्दैन यहाँको नीति कस्तो छ र त्यसमा सुधार ल्याउन के गर्नुपर्छ भन्ने कुरामा सम्बन्धित पक्षले ध्यान पुर्याउनु आवश्यक छ,’ उनले भने।

केआईईसीमा परामर्श दिँदा शैक्षिक योग्यता राम्रो भएका, अग्रेजी राम्रो भएका र आर्थिक अवस्था बलियो भएका विद्यार्थीलाई वैदेशिक अध्ययनका लागि परामर्श दिँदै आएको उनी बताउँछन्। त्यस्ता विद्यार्थीलाई तयारी कक्षा, विश्वविद्यालयको छनोट, आवेदन प्रकृया, इन्टरभ्यू प्रकृया र हाम्रो अष्ट्रेलिया रहेकोले यहाँबाट माइग्रेण्ट भएर जान लागेका लागि त्यसको सहजीकरण केआईईसीले गर्दै आएको छ । केआईईसीले अष्ट्रेलिया, यूके, क्यानाडा, युएस, न्युजिल्याण्ड र आयरल्याण्डमा विद्यार्थी पठाउँदै आएको छ ।

‘हामीले विद्यार्थी जानुभन्दा अगाडि, गएपछि र अध्ययन पूरा गरिसकेपछि दिनुपर्ने सेवा हामी दिन्छौं । हाम्रो अलुुमुनाइ भन्ने पेज छ जहाँबाट विद्यार्थीले आफूलाई आवश्यक पर्दा सहयोग लिन सक्छन्,’ उनले भने ।

नेपाल भरि केआईईसीका १३ वटा अफिस छन् र जहाँबाट २०० जनाभन्दा बढीले रोजगारी पाएका छन् । आफूले अहिले गरेको उपलब्धी उनको सपना थिएन, आज आफूले जे उपलब्धी हासिल गरेका छन् अहिले सबै त्यो काम गदै जाँदा गरिएको प्रगति भएको उनको बुझाइ छ ।

हिजो भोगेका दुःख, अभाव, संघर्ष अब फेरि आउँछ भन्ने कुरामा उनले विश्वास गर्दैनन्। परिवारको साथ र आमाको आर्शिवादले जीवनमा अझै धेरै सफलता प्राप्त गर्ने संकल्प भएका उनलाई विगतका भोगाइले झनै बलियो बनाएको छ । व्यावसायिक सफलता जसरी अगाडि बढेका छ , उनको आर्थिक  स्थितिमा सुधार आएको छ । कुनै समय पिकनिक, भोज, पार्टीहरूमा म आफूसँग राम्रो लुगा नभएकै कारण नगएका घटना स्मृतिमा ताजै छन् । ‘दिन यस्तो पनि थियो’, उनले अनुभव साटे, ‘एक पटक मेरो साथीको दिदीको बिहेको सम्पूर्ण व्यवस्थापन मैले गरें तर विवाहमा गइन्, त्यसको कारण मसँग राम्रो लुगा थिएन ।’

 

 

Tags: