के हामी गोपनीयताको मूल्य बिर्संदै छौं ?
आजको युगमा डिजिटल प्लेटफर्महरू—विशेष गरी युट्युब, टिकटक, फेसबुक, र इन्स्टाग्राम—सामाजिक संवादका प्रमुख माध्यम बनेका छन्। कुनै पनि विषय केही सेकेन्डमै भाइरल हुन्छ, र मानिसहरूले समाचारमात्रै होइन, मनोरञ्जनका लागि पनि यिनै प्लेटफर्ममा भर पर्न थालेका छन्। तर, यी मञ्चहरूमा सकारात्मक सन्देश र राम्रा सामग्रीभन्दा नकारात्मक गसिप र व्यक्तिगत जीवनका विवादले बढी स्थान पाइरहेको देखिन्छ।
‘गोपनीयता’ र ‘व्यक्तिगत जीवनको सम्मान’ जस्ता शब्दहरू हाम्रो समाज र मिडिया संस्कृतिमा ओझेलमा पर्न थालेका छन्। पछिल्लो समय नेपाली समाजमा सेलिब्रिटी, राजनीतिज्ञ, र सर्वसाधारणका व्यक्तिगत सम्बन्धमाथि नकारात्मक टिकाटिप्पणी र अप्रमाणित समाचार बनाउने प्रवृत्ति व्यापक रूपमा देखा परिरहेको छ। यसले सामाजिक संरचनामा गहिरो प्रश्न उठाएको छ ‘के हामी गोपनीयताको मूल्य बिर्संदै छौं ?’
व्यक्तिगत सम्बन्धमाथि अनावश्यक हस्तक्षेपको उदाहरण
गायिका एलिना चौहानको व्यक्तिगत जीवन यसैको पछिल्लो उदाहरण हो। अष्ट्रेलियामा बसोबास गर्ने व्यवसायी विष्णु सापकोटासँग प्रेम विवाह गरेकी एलिनाको वैवाहिक सम्बन्धमा आएको खटपटको खबरले युट्युब र टिकटकमा ठूलै हलचल मच्चाएको छ। नेपाल आएपछि एलिनालाई ओशो तपोवनमा देखिएको भिडिओ भाइरल बन्यो। ध्यान र आन्तरिक शान्तिका लागि गरिएको साधनालाई सामाजिक सञ्जाल प्रयोगकर्ताले अंश मात्र झिकेर नकारात्मक टिप्पणीका रूपमा प्रस्तुत गरे।
यस्तै चर्चाले उनीमाथि कस्तो मानसिक दबाब पार्ला भन्ने सोच्ने समय धेरैले लिएका छैनन्। व्यक्तिगत जीवनलाई सार्वजनिक चिया गफ बनाउने परिपाटीले राम्रो सम्बन्धलाई समेत धराशयी बनाइरहेको छ।
प्रकाश सुवेदीको रिपोर्टिङ र यसको प्रभाव
सामाजिक सञ्जालमा चर्चित रजतपट कार्यक्रमका सञ्चालक प्रकाश सुवेदीले यस विषयमा तयार पारेको रिपोर्टिङले झन् बढी विवादलाई मलजल ग¥यो। यो रिपोर्टले ध्यानाकर्षण त गरायो, तर रिपोर्टिङमा व्यक्तिगत जीवनका संवेदनशील पक्षलाई प्राथमिकतामा राख्नु कतिसम्म उचित हो? मिडियाले यस्ता रिपोर्टिङ गर्दा कानुनी र नैतिक दायित्व बिर्सन हुँदैन।
सकारात्मक सामग्रीले किन थोरै चासो पाउँछ?
समाजको अर्को गम्भीर समस्या भनेको सकारात्मक सामग्रीलाई बेवास्ता गर्नु हो। सामाजिक सञ्जालमा सुन्दर सृजनात्मक सामग्रीहरूलाई उपेक्षा गर्ने तर नकारात्मक र सनसनीखेज सामग्रीलाई व्यापक समर्थन गर्ने प्रवृत्ति सामाजिक संरचनाको दोष हो। टिकटक, युट्युब, र इन्स्टाग्राममा गलत सूचनाको आधारमा बनेका भिडियोले लाखौँ भ्युज बटुल्छन्, तर सकारात्मक विषयवस्तुले जति प्रयास गरे पनि अपेक्षित ध्यान पाउँदैन। यो टिआरपी र विज्ञापनको मोहले निर्देशित मिडियाको ठूलो समस्या हो।
मिडियाको सही प्रयोग र हाम्रो जिम्मेवारी
हामीले मिडिया प्रयोगको जिम्मेवारीबारे गम्भीर समीक्षा गर्न आवश्यक छ। पत्रकारिताको मर्यादा र सामाजिक उत्तरदायित्व बिर्सेर मात्र टिआरपी र लाभको नाममा नकारात्मक समाचार उत्पादन गर्दा दीर्घकालीन रूपमा समाजको बौद्धिक स्तर कमजोर बन्न सक्छ।
मिडियाले नागरिकलाई सकारात्मक र शैक्षिक सामग्रीतर्फ आकर्षित गर्ने रणनीति बनाउनु पर्छ। साथै, निजी कुरामा आधारित समाचार प्रस्तुत गर्नु अघि स्पष्ट सन्दर्भ, स्रोतको अनुमति, र कानुनी पक्षलाई ध्यान दिनुपर्छ।
कानुनी प्रक्रियाको महत्व
नेपालको साइबर अपराध ऐन २०६३ र व्यक्तिगत गोपनीयताको हक सुरक्षित गर्ने कानुनले मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्तालाई स्पष्ट निर्देशन दिएको छ। गोपनीयता उल्लङ्घन गर्दा कारवाहीको प्रावधान भए पनि यसको सही कार्यान्वयनमा चासो कम देखिन्छ। यसलाई सुधारेर सामाजिक सञ्जालको जिम्मेवार प्रयोगलाई प्रोत्साहन गर्न आवश्यक छ।
व्यक्तिगत जीवनका विषयमा अनावश्यक हस्तक्षेपले मानसिक आघात पु¥याउन सक्छ। मिडियाको सही उपयोग र जिम्मेवार पत्रकारिताको विकास नै दीर्घकालीन समाधान हो। टिआरपी र सनसनीभन्दा परेका सकारात्मक सामग्रीहरूलाई प्राथमिकता दिने संस्कारको सुरुवात आजैबाट गरिनुपर्छ। टिकटक, युट्युब, र फेसबुकले आज हरेक व्यक्तिलाई प्लेटफर्म प्रदान गरेका छन्। तर, जिम्मेवार प्रयोग मात्रले यी माध्यमलाई सकारात्मक शक्ति बनाउँछ। सेलिब्रिटी मात्र नभई कुनै पनि व्यक्तिको जीवनसँग खेलबाड गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै, राम्रो र शिक्षाप्रद सामग्रीलाई प्रोत्साहन दिनुपर्छ। यो नै स्वस्थ समाज निर्माणको मार्ग हो ।