आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धुँवाको मुस्लो देखिने

Image

सांकेतिक तस्वीर

काठमाडौं – आज (सोमवार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धुँवाको मुस्लो देखिने भएको छ तर यसमा डराउनुपर्ने छैन किनकी यहाँ संकटकालीन योजना अभ्यास सञ्चालन हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सोमवार अपरान्ह १ बजे हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बद्ध विभिन्न निकायको सहभागितामा विमानस्थल संकटकालीन योजना अभ्यास गरिने जानकारी दिएको छ ।

यो अभ्यासको मुख्य उद्देश्य संकटको अवस्थामा सहभागी हुने विभिन्न निकायबीच सहयोगको अभिवृद्धि गराउने तथा सहभागी निकायले निर्वाह गर्ने भूमिका तथा जिम्मेवारीको मूल्याङ्कन गरी सम्बद्ध पक्षको क्षमतामा अभिवृद्धि गराइ यस्तो दुर्घटनाको अवस्थामा जनधनको क्षति न्यून गराउने र विमानस्थलको संचालन छिटो भन्दा छिटो सुचारु गराउने रहेको बताइएको छ ।

यो अभ्यासको सिलसिलामा विमानस्थल वरिपरिको आकाशमा कालो धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तिव्रता आएको पनि देख्न सकिने बताइएको छ । साथै अभ्यासको क्रममा दिउँसो १ बजेदेखि १ः३० बजेसम्म यस विमानस्थलको अपरेशन वन्द हुने भएकोले नियमित उडान अवतरण प्रभावित हुन सक्ने कार्यालयले जनाएको छ ।

यो विमानस्थल संकटकालिन योजनाको अभ्यास गर्नु पर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड तथा यस विमानस्थलको एयरपोर्ट इमर्जेन्सी एबिल अनुसार गरिने योजनाबद्ध अभ्यास भएको कार्यालयको भनाइ छ ।

 

Tags: