पढ्ने पैसा छैन ? मेयर साप'लाई फोन गर्नु !

Image

सुनसरी ( बराहक्षेत्र )– बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीले, नगरपालिकाको कुनै पनि  बालबालिका आर्थिक अभावमा, पढाईबाट बञ्चित नगराउने प्रतिबद्धता प्रकट गरेका छन्।

सबैलाई  अनिवार्य शिक्षा नीतिमा जनप्रतिनिधि गम्भीर रहेको भन्दै  पैसाकै कारणले कुनै पनि विद्यार्थीले शिक्षा लिन नपाएको भए सिधै आफूलाई फोन गरी जानकारी गराउन मेयर कार्कीले आग्रह गरे  ।

मंगलवार  महेन्द्रनगर चक्रघट्टीस्थित नगरपालिकाको कार्यालयमा भएको ‘ मेयरसँग बालबालिका’ कार्यक्रममा विद्यार्थीले गरेको जिज्ञासा को उत्तर दिँदै  नगरप्रमुख कार्कीले भने, ‘ पैसाको अभावमा पढ्न पाइन भनेर निरास नहुनु हामी व्यवस्था गर्छौं ।’

उनले पढ्न चाहने जेहेन्दार विद्यार्थीलाई लगाउने पोशाकदेखि  कपी,  किताबदेखि सम्पूर्ण  सहयोग गर्ने बताए । कोभिड महामारीको कारणले प्रभावित बनेको नगरको  शिक्षास्तरलाई सुधार गर्न नगरको सतप्रतिशत  अनुदानमा सम्भवत देशकै पहिलो उपचरात्मक कोचिङ्ग कक्षा शुरु गरिएको उनले बताए ।
नगरको ५३ विद्यालयमा आधारभूत तहका विद्यार्थीलाई  थप कक्षा सञ्चालन गर्न प्रत्येक विद्यालयलाई ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराइएको मेयर कार्कीले बताए  । नगरमा बढेको लागू औषध दुव्र्यसनबाट बालबालिकालाई बचाउन गैर सरकारी संस्था र प्रहरीसँगको सहयोगमा प्रत्येक विद्यालयमा लागू पदार्थ विरुद्ध सचेतना कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

यसैगरी विद्यालयमा चुरोट खाने गरिएको भन्ने गुनासो को उत्तर दिँदै मेयर कार्कीले विद्यालयको १०० मिटर नजिक क्षेत्रमा रहेको पसलमा कुनै पनि प्रकारको खैनी, चुरोट, मधु र गुटखा बेच्न कडाई गरिने बताए  ।

विद्यालयको एसईई परीक्षामा शिक्षकले नक्कल गराउने हुँदा मेहनत गर्ने विद्यार्थीलाई मार पर्ने गरेको विद्यार्थीको गुनासोमा बोल्दै मेयरले कार्कीले नगरले गरेको अनुगमनमा अहिलेसम्म त्यस्तो नभेटिएको तर यदि  कुनै विद्यालय अथवा शिक्षकले परीक्षामा चिट चोराउँदै गरेको भेटिएमा  कारवाही गरिने बताए ।

करीब २ घण्टा बढी समयसम्म भएको कार्यक्रममा नगरका विभिन्न विद्यालयबाट आएका विद्यार्थीले  मेयर कार्की र   नगरको शिक्षा शाखा प्रमुख देवेन्द्र बहादुर मल्लसँग दर्जन बढी प्रश्न गरेका थिए । नगरपालिकाको सभाहलमा पुकार पोखरेलले सञ्चालन गरेको कार्यक्रममा नगर उपप्रमुख नन्दकुमारी राई, प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल, शिक्षक र विद्यार्थीको उपस्थिति  थियो ।

 

Tags: