गरिमा विकास बैंक ‘द बेस्ट बैंक इन एसेट्स क्वालिटी’ बाट सम्मानित

Image

काठमाडौं – भारतीय चेम्बर अफ कमर्सद्वारा भारतको नयाँ दिल्लीमा आयोजित ‘सेकेन्ड इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अर्वाड’ कार्यक्रममा  गरिमा विकास बैंक लिमिटेड ‘द बेस्ट बैंक इन एसेट्स क्वालिटी’ अवार्डबाट सम्मानित भएको छ । 

उक्त प्रतिस्पर्धामा बिम्स्टेक देश नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान र म्यानमारका बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता थियो । कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहेका बैंक तथा वित्तीय संस्थाले प्राप्त गर्ने उक्त अवार्डको प्राप्तिसंगै गरिमा विकास बैंकले प्रवाह गर्ने कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहनुका साथै सुरक्षित समेत रहेको संकेत विकास बैंकले महशुस गरेको छ । 

कार्यक्रममा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र ट्रान्जेक्सन बैंकिङ्ग इकाई प्रमुख नकुल पौडेलको उपस्थिति रहेको थियो ।  सो अवसरमा आयोजित ‘ड्राइभिङ इफिसेन्सिज अक्रस द भेलु चेन’ विषयक प्यानल डिस्कसन कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्याय डेभलप्मेन्ट बैंकर्स एसोसियसन, नेपालको समेत प्रतिनिधित्व गरी वक्ताको रुपमा सहभागी थिए। 

सो कार्यक्रममा उनले नेपालको बैंकिङ्ग परिदृश्य, बैंकिङ्गमा प्रविधिको प्रयोग र आगामी चूनौतीको सम्बन्धमा आफ्नो धारणा समेत प्रस्तुत गरेका थिए । उक्त प्यानल डिस्कसन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत उपाध्यायसँगै बैंक अफ भुटानका प्रमुख कार्यकारी अधिकृत दोर्जी कादिन, स्टेट बैंक अफ इन्डियाका चिफ जनरल म्यानेजर राजिव रञ्जन प्रसाद र न्यूजेन सफ्टवेयर टेक्नोलोजी प्रा.लि.का उपाध्यक्ष तथा दक्षिण एशिया व्यवसाय प्रमुख सुनिल पण्डिता मुख्य वक्ताको रुपमा रहनु भई वक्ताहरुले आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

सो कन्क्लेभमा श्रीलंकाको केन्द्रीय बैंकका डेपुटी गभर्नर र बंगलादेशको केन्द्रीय बैंकका कार्यकारी निर्देशक समेत वक्ताको रुपमा सहभागी थिए । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५० वटा एटीएममार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आएको छ ।

Tags: